सोमबार एकैदिन ७ सूचीकृत कम्पनीले साधारण सभा सम्पन्न गर्दै, कुनको कति लाभांश हुँदैछ अनुमोदन ?

0
Shares

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत ७ कम्पनीले पुस २८ गते सोमबार साधारण सभा सम्पन्न गदैछन्। यसरी साधारण सभा सम्पन्न गर्ने कम्पनीहरुमा नेपाल इन्भेष्टमेन्ट बैंक, जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडिसीएल), मिर्मिरे लघुवित्त, नेरुडे लघुवित्त, प्रोगेशिभ फाइनान्स, हिमालयन पावर पार्टनर र आँखुखोला जलविद्युत्त कम्पनी रहेका छन्।

यसमध्ये प्रोगेशिभ फाइनान्स, हिमालयन पावर पार्टनर र आँखुखोला जलविद्युत्त कम्पनीले गत आवको मुनाफाबाट शेउयरधनीलाई कुनैपनि लाभांश वितरण गर्ने प्रस्ताव गरेका छैनन् भने अन्य चार कम्पनहरुले भने लाभांश सहित अन्य प्रस्तावहरु साधारण सभाबाट अनुमोदन गर्दैछन्।

नेपाल इन्भेष्टमेन्ट बैंक

नेपाल इन्भेष्टमेन्ट बैंकले लाभांश पारित गर्ने विशेष प्रस्ताव सहित आज ३३ औँ वार्षिक साधारण सभा राष्ट्रिय सभागृह, प्रदर्शनी मार्गमा बिहान १० बजे आह्वान गरेको छ।

सभाले गत आवको मुनाफाबाट सञ्चालक समितिबाट प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजीको १०.५ प्रतिशत बोनस शेयर र कर सहित ८.५ प्रतिशत नगद गरि कूल १९ प्रतिशत प्रतिशत (दुई अर्ब ४४ करोड ५२ लाख ५३ हजार ३३० रुपैयाँ) लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। उक्त लाभांश पुस १३ गतेसम्म नेप्सेमा कारोबार भई शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटलमा कायम शेयरधनीहरुले मात्र पाउनेछन्।

यस्तै मर्जर तथा प्राप्तीका लागि सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि साधारण सभामा रहेका छन्।

एक करोड ३५ लाख १३ हजार २३६ दशमलव ५६ कित्ता बोनस वितरण पश्चात बैंकको अहिले रहेको १२ अर्ब ८६ करोड ९७ लाख ४९ हजार १०० रुपैयाँ चुक्ता पूँजी बढेर १४ अर्ब २२ करोड १० लाख ७२ हजार ७५५ रुपैयाँ पुग्नेछ।

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसरएिल) ले आजै आठौँ वार्षिक साधारण सभा सम्पन्न गर्दैछ।

आर्मी अफिसर्स क्लब, भदकालीमा बिहान ११ बजेबाट शुरु हुने उक्त सभाले गत आवको मुनाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेको कर सहित १२ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ। उक्त लाभांश पुस १६ गतेसम्म कायम शेयरधनीहरुले मात्र पाउनेछन्।

मिर्मिरे लघुवित्त वित्तीय संस्था 

मिर्मिरे लघुवित्तले सोमबार नै मिराबल रिसोर्ट एण्ड होटल, धुलिखेलमा बिहान ११ बजे नवौँ वार्षिक साधारण सभा बोलाएको छ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने घोषणा गरेको ४५ प्रतिशत (५ करोड ७९ लाख ५३ हजार ८८० रुपैयाँ) बोनस शेयर र करको लागि २.३६ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ। बैशाख ३० गते सोमबारसम्म नेप्सेमा कारोबार भई पुस १७ गतेसम्म कायम शेयरधनीहरुले उक्त लाभांश पाउनेछन्।

सभामा मर्जर तथा प्राप्तिका लागि सञ्चालक समितिलाई अख्तियारी, सञ्चालक समितिमा ४ जना संस्थापक र २ जना सर्वसाधारण समूहका सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव राखिएको छ।

किसान, मिर्मिरे र नागबेली लघुवित्तले २०७६ बैशाख ३० गते सोमबार मर्जर सम्झौता गरेपछि तीनवटै लघुवित्तको बैशाख ३१ गतेदेखि नेप्सेमा शेयर कारोबार रोक्का छ।

अहिले १२ करोड ८७ लाख ८६ हजार ४०० रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनस पश्चात १८ करोड ६७ लाख ४० हजार २८० रुपैयाँ पुग्नेछ।

नेरुडे लघुवित्त वित्तीय संस्था

नेरुडे लघुवित्तले उद्योग संगठन विराटनगर, मोरङमा बिहान ११ बजे १३ औँ वार्षिक साधारण सभा बोलाएको छ ।  सभाले १५ प्रतिशत बोनस शेयर र ५.७९ नगद गरि २०.७९ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। उक्त लाभांश पुस १२ गतेसम्म कायम शेयरधनीले मात्र पाउनेछन्।

यस्तै मर्जर तथा एक्वीजिसनका लागि अख्तियारी सञ्चालक समितिलाई दिने, २ जना संस्थापक सञ्चालकको निर्वाचन, लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेण्डा पनि सभामा छ ।

हाल ३९ करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनस वितरण पश्चात ४५ करोड ७२ लाख रुपैयाँ पुग्नेछ।

प्रोगेशिभ फाइनान्स

प्रोगेशिभ फाइनान्सले २३ वार्षिक साधारण सभा ज्यापू प्रज्ञा भवन ललितपुरमा दिउँसो १ बजे आह्वान गरेको छ। पुस १७ गते बिहीबारसम्म कायम शेयरधनी साधारण सभामा सहभागि हुन पाउनेछन्।

सभाले मर्जर तथा एक्विजिशनमा जान सञ्चालक समितिलाई अख्तियारी दिने, नाफा(नोक्सान विवरण, नगद प्रवहा विवरण, इक्वीटीमा भएको परिवर्तन, लेखा परिक्षकको प्रतिवेदन सहितको २०७६ असार मसान्त सम्मको वित्तीय अवस्थाको विवरणमाथि छलफल गरि पारित गर्नेछ।

हिमालयन पावर पार्टनर लिमिटेड

हिमालयन पावरले अमपाली बैंक्वेट भाटभटेनीमा बिहान १० बजे सातौं वार्षिक साधारण सभा बोलाएको छ। सभामा बुकक्लोजको अघिल्लो कारोबार दिन पुस १३ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र भाग लिन पाउनेछन्।

आँखुखोला जलविद्युत कम्पनी लिमिटेड

आँखुखोलाले दुई आर्थिक वर्षको एकैदिन आज (पुस २८ गते) नक्साल बैङक्वेट, नक्सालमा ११ औँ र १२ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। स पुस १६ गते बुधबारसम्म कायम शेयरधनीहरुले भाग लिन पाउनेछन्।

बिहान ११ बजे शुरु हुने सभाले १ जना महिला सहित २ जना सञ्चालकको निर्वाचन गर्ने तथा कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने लगायतका प्रस्तावहरु अनुमोदन गर्नेछ।