छ महिनामा २० अर्बको सार्वजनिक निष्काशन, ऋणपत्रको हिस्सा ८३ प्रतिशत

0
Shares

चालु आर्थिक बर्षको पहिलो ६ महिनामा धितोपत्र बोर्डबाट १६ संगठित संस्थाले २० अर्ब रुपैयाँ बराबरको सार्वजनिक निष्काशन अनुमति प्राप्त गरेका छन । जुन अघिल्लो आ.व.को सोही अवधिको तुलनामा २१.२ प्रतिशतको बृद्धि हो ।

समीक्षा अवधिमा सार्वजनिक निष्काशन अनुमतिप्राप्त रकम मध्ये १६.५ अर्व रुपैयाँ (कुल रकमको करिव ८३ प्रतिशत) ऋणपत्र निष्काशनले ओगटेको छ । नेपाल राष्ट्र बैंकले क वर्गका वैंकलाई चुक्ता पूँजीको २५ प्रतिशत ऋणपत्र निष्काशन गर्नुपर्ने व्यवस्था गरेसँगै प्राथमिक बजारमार्फत ऋणपत्र निष्काशनमा बृद्धि देखिएको हो । 

धितोपत्र बोर्डका अनुसार यस अवधिमा प्रारम्भिक सार्वजनिक निष्काशनतर्फ भने गिरावट आएको छ । समीक्षा अवधिमा एक जलविद्युत कम्पनीले करिव ३३ करोड ५१ लाख रुपैयाँ बराबरको निष्काशन अनुमति प्राप्त गरेकोमा सर्वसाधारणमा केवल सात करोड रुपैयाँ (२१ प्रतिशत) मात्र विक्री भएको थियो ।

अघिल्लो आ.व.को सोही अवधिमा प्रारम्भिक सार्वजनिक निष्काशनतर्फ नौ जलविद्युत कम्पनी र दुई लघुवित्त गरी कुल ११ संगठित संस्थाले ३ अर्व ६० करोड रुपैयाँ बराबरको निष्काशन अनुमति प्राप्त गरेकोमा ती सबै धितोपत्र सर्वसाधारणले खरिद गरेका थिए।

बीमा तथा लघुवित्त कम्पनीहरुले हकप्रद शेयर निष्काशन मार्फत् पूँजी बृद्धि गरेसँगै समीक्षा अवधिमा हकप्रद निष्काशनमा बढोत्तरी आएको छ। यस अवधिमा सात सूचीकृत कम्पनीले २ अर्ब २ करोड बराबरको हकप्रद निष्काशनका लागि अनुमति पाएका छन् । जुन गत वर्षको सोही समयावधिको तुलनामा करिब ७० प्रतिशतको धेरै हो ।

६ महिनाको अवधिमा धितोपत्र बजारमा ३७ संगठित संस्थाले ११ अर्व ६० करोड रुपैयाँ बराबरको बोनस शेयर दर्ता गरेका छन् । जुन अघिल्लो आ.व.को सोही अवधिको ८ अर्व ६० करोडको तुलनामा ३४.९ प्रतिशतको बृद्धि हो । बोनस शेयर सूचिकृत संगठित संस्थातर्फ बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीको बाहुल्यता रहेको छ ।