पाँच कम्पनीले नगद लाभांश लगानीकर्ताको बैंक खातामा पठाउँदै


नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत ५ कम्पनीले लगानीकर्ताको बैंक खातामा नगद लाभांस जम्मा गर्न थालेका छन् ।

एनएमबि बैंक, नेपाल बैंक, लुम्बिनी विकास बैंक, महुली लघुवित्त, र आरएमडिसी लघुवित्तले गत आर्थिक वर्षको कमाईबाट बितरण गर्ने नगद लाभांस सिधै लगानीकर्ताको बैंक खातामा पठाउन थालेका हुन् ।

उल्लेखित सबै कम्पनीहरुले कागजी शेयर धारण गरेका शेयरधनीलाई बैंकले शेयर डिम्याट गराए पछि मात्र नगद लाभांस बैंक खातामा पठाउने भन्दै शेयर डिम्याट गराउन आग्रह गरेका छन् । साथै सबै कम्पनीले डिम्याट खातामा बैंक खाता अद्यावधिक नभएका शेयरधनीलाई बैंक खाता अद्यावधिक गराउन पनि आग्रह गरेका छन् ।

एनएमबि बैंकले पुस २४ गत बोलाएको २४औं वार्षिक साधरण सभाबाट पारित १४ प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा माघ २ गतेदेखि जम्मा गर्न सुरु गरेको हो । कागजी शेयर भएका शेयरधनीले नगद लाभांसका लागि एनएमबी बैंक तथा बैंकको शेयर रजिष्ट्रार एनएमबि क्यापिटलमा सम्पर्क गर्नु पर्ने हुन्छ ।

नेपाल बैंकले पनि पुस २५ गतेको साधारण सभाबाट पारित भएको १० प्रतिशत नगद लाभांस शेयरधनीको बैंक खातामा पठाउन थालिसकेको छ । बैंकको शेयर रजिष्ट्रार सिभिल क्यापिटल हो ।

त्यसै गरी लुम्बिनी विकास बैंकले पनि पुस २९ गतेको साधारण सभाबाट पारित भएको १५ प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गर्न सुरु गरेको छ । बैंकले बोनस शेयरमा लाग्ने कर वापतको रकम भुक्तान गर्न पनि शेयरधनीलाई आग्रह गरेको छ । बैंकको शेयर रजिष्ट्रार मुक्तिनाथ क्यापिटल हो ।

महुली लघुवित्तले पनि पुस २६ गतेको साधारण सभाबाट अनुमोदन गराएको ११.५७९ प्रतिशत नगद लाभांस शेयरधनीको बैंक खातामा पठाउन थालेको छ । लघुवित्तको शेयर रजिष्ट्रार सनराइज क्यापिटल हो ।

थोक लघुवित्त सेवा प्रदायक आरएमडिसीले पनि पुस २३ गतेको साधारण सभाबाट पारित भएको १२.५० प्रतिशत नगद लाभांस शेयरधनीको बैंक खातामा पठाउन थालेको छ । लघुवित्तको शेयर रजिष्ट्रार सनराइज क्यापिटल हो ।

उल्लेखित सबै लाभांस रकम बोनस तथा नगद लाभांसमा लाग्ने कर समेतको हो । तसर्थ शेयरधनीको बैंक खातामा कर कट्टी भए पछिको रकम मात्र जम्मा हुनेछ ।