शेयर बजारले बुलिस ट्रेण्ड समातेकै हो त ? यसो भन्छन् विश्लेषक

0
Shares

निरन्तर घट्दो क्रममा रहेको शेयर बजारमा गत सातादेखि उच्च अंकको सुधार आएको छ। यो साता मात्र ९७ अंकले बढेर १३ सय भन्दा माथि पुगेको शेयर बजार सूचक त्यो बिन्दुमा कति टिक्छ भन्ने कुरा सूचीकृत कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणमा भरपर्ने देखिन्छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन सुरु पनि भैसकेको छ। सूचीकृत बैंकहरुको गत आर्थिक वर्षको लाभांश घोषणा गर्ने समय पनि करिब सकिएको छ। अधिकाशं लगानीकर्ताले कम्पनीले दिने नगद लाभांश समेत लिइसकेको अवस्था छ। लगानीकर्ताले लाभांशको रुपमा लिएको पैसा समेत धितोपत्र बजारमा नै आएको देखिन्छ।

तत्कालका लागि शेयर बजारमा आएको सुधार कायम रहनका लागि सरकारले मुद्रा तथा पूँजी बजारको क्षेत्रमा आएका नीतिहरुलाई तत्काल परिवर्तन गर्न नहुने शेयर विश्लेषक प्रकाश तिवारी बताउँछन्। नेपाल राष्ट्र बैंकले आगामी केही दिनमा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दैछ। त्यो अर्धवार्षिक समीक्षामा शेयर बजारलाइ प्रभाव पार्ने नीतिगत परिवर्तन नभएको खण्डमा बढ्ने क्रम अझै केही दिन कायम रहन सक्ने तिवारीको भनाई छ।

शेयर बजारको साइकल अनुसार ३ वर्षको घट्ने क्रमको चक्र सकिएको हुनाले बजारले बुलिस ट्रेण्डतर्फ उन्मूख रहेको उनी बताउँछन्। “तर, नेपालको शेयर बजारमा बनेका नयाँ उचाइहरु राजनीतिक बबललाई आधार मानेर बनेका छन्,”उनले भने,“आधारभूत रुपमा बजार ग्रा¥याजुअल्ली बढ्नुपर्ने हो, अहिलेको वृद्धिले बजारले बुलिस ट्रेण्ड नै लिएको भन्न मिल्दैन”।

नेपाल स्टक एक्सचेञ्ज (नप्से) परिसूचकमा गत साता देखिएको वृद्धि अझै केही कायम रहेको खण्डमा १ हजार ३५० अंकभन्दा माथि गएपछि बजारमा करेक्सन आउने उनको विश्लेषण छ। “अहिलेको वृद्धिमा आउने करेक्सनले १ हजार २ सय भन्दा तल नआएको खण्डमा बजारले बुलिस ट्रेण्ड लिएको पक्का हुनेछ,” तिवारीले भने, “उच्च अंकको वृद्धि तथा बजारमा नयाँ लगानीकर्ता प्रवेश नगरेको र नयाँ पैसा समेत नआउँदा दिर्घकालीन नहुने हो कि भन्ने छ।”

तर, शेयर बजारले वियरिस चक्र पूरा गरेर बुलिस ट्रेण्डतर्फ लागेको एक लगानीकर्ताले बताए। बैंक वित्तीय संस्थामा देखिएको अधिक तरलता तथा कर्जा लगानीयोग्य रकमको उपलब्धताले पनि बजारमा सुधार आउनुको विकल्प नभएको लगानीकर्ताको तर्क छ। शेयर बजार मुद्रा बजारको उल्टो सम्बन्ध हुन्छ । मुद्रा बजारको ब्याजदर बढेको खण्डमा शेयर बजार बढ्छ ।

त्यसैगरी मुद्रा बजारमा कर्जा लगानी योग्य रकमको उपलब्धता बढेको अवस्थामा शेयर बजार सुधारको गतिमा जाने गरेको विगतको अनुभव सुनाउँदै ती लगानीकर्ताले भने,“अहिले बैंकहरुले बोलाएर ब्याजदर घटाएर सहज कर्जा दिन थालेको हुनाले पनि बजार बढेको हो ।” तर, शेयर बजारको सिद्धान्त अनुसार बचतलाई परिचालन गर्ने हो। कर्जामा लगानी गरेको खण्डमा बजार दिर्घकालीन र स्थिर नहुने विश्लेषण गरिन्छ।

पछिल्लो समयमा बैंकिङ्ग प्रणालीमा तरलता नै धेरै भएपनि केन्द्रीय बैंकले रिभर्स रिपो समेत जारी गरेको छ। पुस महिनामा मात्र केन्द्रीय बैंकले २८ अर्ब रुपैयाँ खिचेको थियो। त्यसका साथै कर्जा प्रवाहमा नीतिगत कडाईका कारण ऋणीको न्यून इच्छा र अधिक तरलताले गर्दा बैंकहरुको ब्याजदर समेत घट्दो क्रममा रहेको छ। यसले पनि शेयर बजार सकारात्मक हुनमा थप मद्दत गरेको हो । तर, धितोपत्र बजारमा सूचीकृत कमर्सियल बैंकहरुको पहिलो त्रैमासको हालसम्म कै न्यून नाफा वृद्धिले लगानीकर्ताको मनोबलमा भने नकारात्मक प्रभाव पारेको छ।

त्यसैले पनि दोस्रो त्रैमासको विवरणलाई आधार मानेर निर्णय गर्ने पर्खाइमा धेरै लगानीकर्ता देखिन्छन्। त्यसका साथै विश्व अर्थतन्त्रमा चीन-अमेरिका बीचको व्यापार सम्झौताले अन्तर्राष्ट्रिय बजारमा सकारात्मक प्रभाव पर्दा नेपालको बजार सूचक नेप्से पनि प्रभावित भएको छ। एकैपटक उच्च अंकको वृद्धि आउँदा घट्दा पनि सोही गतिमा घट्नसक्ने भएकाले यस्तो समयमा जोखिम पनि उच्च हुनेगर्छ। त्यसैले पनि लगानीकर्ताले होसियार भएर मात्रै निर्णय गर्नु उपयुक्त हुन्छ।

बजार परिसूचकमा आएको उच्च अंकको वृद्धि मात्र नभईकन कारोबार रकम पनि बुलिस बजारको अनुपातमा पुगेको हुँदा सकारात्मक हुने आधार भने छ। बिहीबार पनि नेप्सेको कारोबार रकम पौने २ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्से तथा कारोबार रकम दुबैमा सुधार आएको छ। यता सातामा नेप्से परिसूचक ९७ ले बढेर १ हजार ३१० अंकमा पुगेको छ। बजार परिसूचकसँगै बजारको आकार पनि एक सातामा १ खर्ब ३२ अर्ब ६६ करोड रुपैयाँले विस्तार भएको छ। यो सातामा आएको सुधार आगामी ५ सातासम्म कायम रहेको खण्डमा नेप्सेले यसभन्दा अघि कायम भएको उच्च बिन्दु १ हजार ८८१ अंकलाइ पार गर्ने देखिन्छ।

समान्यतया विगतका वियर र बुल ट्रेण्डलाई हेर्दा पनि १ हजार १७५ को उच्च बिन्दुबाट घट्दो क्रममा रहेको रहेको बजार २९२ को न्यून बिन्दुसम्म झरेको थियो। करिब ४ वर्षको अवधि लगाएर २९२ मा नेप्से झर्दा ७५ प्रतिशतले घटेको थियो । तर, सो समयमा २९२ बिन्दुबाट बजार फर्केर १ हजार १७५ को बिन्दु पुन नाघेर १ हजार ८८१ सम्म पुग्दा नेप्से ६० प्रतिशतले बढेको थियो।

शेयर बजार सूचक १ हजार ८८१ बाट घट्दो क्रममा आएको करिब ३ वर्ष बितिसकेको भएपनि अहिलको न्यून बिन्दु भने १ हजार १०२ अंक मात्र बनाएको छ । यो भनेको ४१ प्रतिशतको गिरावट हो। विगतका वियर र बुल ट्रेण्डलाइ हेर्दा पनि अहिलेको वियरले बनाएको न्यूनबिन्दु ४१ प्रतिशतको गिरावटमा नै बनेको हुँदा अन्तिम न्यूनबिन्दु हो वा होइन भन्नेमा पनि लगानीकर्तामा अन्यौलता कायम नै छ।

उता बैंकहरुले सरकारलाई दोस्रो त्रैमासको कर भुक्तानी गरिसकेकाले पनि लगानीयोग्य कर्जा रकमको अभाव देखिएको छैन। यसले पनि शेयर बजार थप सकारात्मक बनेको छ। पछिल्लो समयमा नेपाल राष्ट्र बैंक तथा कर कार्यालयले ऋणीलाई कर चुक्ताको प्रमाणपत्र अनिवार्य गरेपछि वित्तीय क्षेत्रमा कर्जा लिन आउने ग्राहकको संख्यामा नै कमी आएको छ। जसले गर्दा बैंकिङ्ग प्रणालीमा कर्जा लगानीयोग्य रकम भएर पनि लगानी गर्ने क्षेत्र नभएपछि त्यो पैसा शेयर बजारमा आउन थालेको जानकारहरु बताउँछन्।

वित्तीय प्रणालीको ब्याजदर घट्दो क्रममा हुनु, कर्जा लगानीयोग्य रकम उपलब्धता हुनु तथा समग्र अर्थतन्त्र पनि विगतका केही वर्ष देखि निरन्तर सुधारको गतिमा हुनाले पनि शेयर बजार सकारात्मक भएको हो। बजारमा लगानीकर्ताको मनोबल बढाउने खालको अनावश्यक वृद्धिले भने बजारको स्थायीत्व दिँदैन। दिर्घकालीन लगानीका लागि शेयर बजारमा उपयुक्त अवसर हो। अहिलेको वृद्धिमा केही दिनमा नै समान्य करेक्सन आउँछ।