एनसीसी बैंक प्रभुमा गाभिन तयार, प्रभु भने अन्य विकल्पमा पनि छलफल गर्दै

0
Shares

एनसीसी बैंकले सकभर प्रभू बैंकमा गाभिने गरी जोडबल गरीरहेको छ । एनसीसी र प्रभु बैंकले एक आपसमा गाभ्ने/गाभिने सन्दर्भमा विभिन्न चरणका छलफल समेत गरिसकेका छन्। अनौपचारिक रुपमा दुबै संस्थाको सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन (डिडिए) समेत सुरु भएको एनसीसी बैंक मर्जर कमिटीका एक सदस्यले नोटबजार डट कमलाई जानकारी दिए। 

उता प्रभु बैंक भने हालसम्म एनसीसी बैंकलाई नै खरीद गर्ने वा नगर्ने भन्ने टुङगोमा पुग्न सकेको छैन। एनसीसी बैंक प्रभु बैंकसँगै नै समाहित हुने भनेर लागेको भएपनि प्रभु बैंक भने अन्य विकल्पहरुमा पनि छलफल गरीरहेको स्रोतले जानकारी दिएको छ।

प्रभु बैंकले एनसीसी बैंकलाई खरीद गर्ने विषयमा नकारात्मक नभएपनि निर्णय भने तत्काल नै गरिहाल्ने भने देखिँदैन। दुबैले मर्जरको लागि विभिन्न चरणमा छलफल गरेर अनौपचारिक रुपमा आन्तरिक रुपमा सम्पत्ति तथा दायित्व मूल्याङ्कको काम अघि बढाईसकेको छन्। मर्जर कमिटीका एक सदस्यले जानकारी दिए।

एनसीसी बैंकका मर्जर कमिटीका सदस्य निर्मल प्रधानले मर्जरको लागि प्रभु बैंकसँग दुई चार चरणमा कुरा अघि बढीसकेको नोटबजार डट कमलाई जानकारी दिए।

प्रधानले दुबै बैंकको दोस्रो त्रैमासको वित्तीय विवरणको आधारमा आन्तरिक डिडिए गरेर स्वाप रेसियो तय गरिने जानकारी दिए।

दुबै बैंकका प्रमुख कार्यकारीहरुलाई आन्तरिक डिडिए गर्नका लागि दुबै बैंकका मर्जर समितिले अनौपचारिक निर्देशन समेत दिईसकेको उनको भनाई छ।

प्रधानले एनसीसी बैंकले प्रभु बैंकसँग एक बराबर एक नै स्वाप मागेको समेत बताए। “एनसीसी बैंक जो सँग मर्जरमा गएपनि एक बराबर एकमा नै जाने भन्ने हो,” उनले भने,“एनसीसी बैंक फेस भ्यालु भन्दा कम मूल्यमा मर्जमा जाँदैनौ भन्ने छ।” तर, प्रभुसँगको प्रक्रियामा ५ रुपैयाँ तलमाथि हुनसक्ने प्रधानले जानकारी दिए।

तर, प्रभु बैंकले भने एनसीसी बैंकलाई प्रति शेयर ९० रुपैयाँसम्म दिन तयार रहेको बुझिएको छ। एनसीसी बैंकले एक बराबर एक र कम्तिमा पनि ९५ रुपैयाँ पाउनुपर्ने माग गरेको छ। दुई बैंक मर्जर भएपछि बन्ने बैंकको नाम र सीईओ प्रभु बैंकबाटै रहने पनि अनौपचारिक छलफलमा सहमति भैसकेको छ। सो को लागि एनसीसी बैंकले आफ्नो नाम र नेतृत्वको दाबी छाडेको छ।

एनसीसी बैंक तत्कालका लागि मर्जर हुने वा गाभिने भनेको प्रभु बैंकसँग मात्र रहेको बताउँदै प्रधान भने, “एनसीसी बैंकले विगत दुई वर्षदेखि लगात्तार राम्रो लाभांश दिइरहेको छ, बैंकको अचल सम्पत्ति समेत धेरै छ। विग मर्जरको लागि वातावरण बनेन भने मर्जर गर्नु नै पर्छ भन्ने पनि केही छैन।” प्रभुसँग मर्जर भए भैहाल्यो नभएको खण्डमा मात्र अर्को संस्थासँग कुरा अगाडि बढाउने प्रधानको भनाई छ। “एनसीसीले विवाह गर्यो भने प्रभुसँग गर्ने हो,” प्रधानले भने,“हामी केटी पक्षका पर्यां त्यसैले पनि प्रभूसँग टुङगो नहुँदासम्म अन्य कोही केटा हेरेको छैनौं।” प्रभु बैंक पनि एनसीसीलाई खरीद गर्ने सन्दर्भमा आजका दिनसम्म सकारात्मक रहेको जानकारी प्रधानले दिए।

तर, एनसीसी बैंकसँग मर्जरका लागि चरणबद्ध छलफल थालेको प्रभु बैंकले भने अन्य केही वाणिज्य बैंकहरुसँग पनि समानान्तर रुपमा छलफल चलाईरहेको स्रोतले नोटबजारलाइ जानकारी दियो। स्रोतका अनुसार प्रभुले सिभिल बैंकसँग मर्जरमा जान बढी रुचि देखाएको छ। एनसीसीसँग मर्जरमा जाने सहमति बन्न नसकेका प्रभु र सिभिल मर्जरमा जाने पक्कापक्की रहेको स्रोत बताउँछ। प्रभु र सिभिललाई मर्जर लग्न दुई बैंकका उच्च अधिकारी बाहेक मन्त्रिस्तरीय दबाव समेत आएको स्रोतको दाबी छ।