दाबी भुक्तानीमा अल्झाउने बीमा कम्पनीलाई कस्दै बीमा समिति

0
Shares

बीमा कम्पनीहरुले दाबी भुक्तानी प्रक्रियालाई अनावश्यक लम्ब्याउने प्रवृत्ति बढ्न थालेपछि नियामक निकाय बीमा समितिले दाबी भुक्तानी प्रक्रियालाई ब्यवस्थित बनाउन दाबी भुक्तानी सम्बन्धी मार्गदर्शन, २०७६ जारी गर्ने तयारी गरेको छ।

उक्त मार्गदर्शनले लागू भएसँगै बिमितले बीमा कम्पनीहरु (बीमक) बाट दाबी भुक्तानी सरल र सहज हुनुको साथै हाल बीमा दाबी भुक्तानीमा देखा पर्ने गरेको र भविष्यमा आउनसक्ने समस्यालाई समेत सम्बोधन गर्ने बताइएको छ।

निर्देशन पश्चात बीमा दाबी भुक्तानी प्रक्रियालाई छिटो, छरितो र पारदर्शी बन्ने बोर्डको विश्वास रहेको छ। 

यस निर्देशन लागू भएसँगै प्रत्येक बीमा कम्पनीले दाबी भुक्तानीका लागि विभाग गठन गर्नुपर्ने र सो विभागको प्रमुखले आफ्नो कम्पनीमा परेको दाबीलाई आवश्यक कागजातहरु संकलन गरी दाबी भुक्तानीका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुपर्ने भएको छ। दाबीको प्रकृति हेरि त्यस्तो दाबीको भुक्तानी गर्नुपर्ने समितिले जनाएको छ।

यस्तै ५० हजार रुपैयाँ भन्दा बढीको दाबी भुक्तानी गर्दा अनिवार्य रुपमा भुक्तानी पाउने व्यक्तिको खातामा भुक्तानी गर्नुुपर्ने व्यवस्था गरिएको छ। यसैगरि आवश्यक कागजपत्र पुगेको खण्डमा जीवन बीमा कम्पनीहरुले ७ दिन भित्र दाबी भुक्तानी गर्नुपर्ने, बीमा अवधी समाप्त हुनु अगावै बीमितको मृत्यू भएमा निजले ईच्छाईको व्यक्तिलाई १५ दिन भित्रमा दाबी भुक्तानी दिनुपर्ने व्यवस्थालाई समावेश गरिएको छ।

मार्गदर्शनमा निर्जीवन बीमा कम्पनीको दाबी भुक्तानीको केशमा पनि जाँचबुझ गर्न आवश्यक ठाउँमा बीमकले बीमितको निवेदन दिएपछि तत्काल नै सर्भेयर खटाउनसक्ने व्यवस्था गरिएको छ ।

सर्भेयरले १५ दिनभित्र आवश्यक जाँचबुझ गरी बीमकको दायित्वको निर्धारण बीमक समक्ष प्रतिवेदन पेश गर्नुपर्ने तथा बीमितलाई पनि बीमालेखको शर्त तथा सुविधाको अधिनमा रही पाउनसक्ने क्षतिपूर्ति रकम उल्लेख गरि जानकारी दिनुपर्ने प्रावधान राखिएको छ ।

यसरी सर्भोयरले प्रतिवेदन पेश गरेको ३५ दिनभित्र बीमकले बीमितिलाई दाबी भुक्तानी गरिसक्नुपर्ने मार्गदर्शनमा उल्लेख गरिएको छ।