RBCL मा गैरकानुनी सञ्चालक नियुक्ती बिरुद्ध बीमा समितिमा सञ्चालककै उजुरी


राष्ट्रिय बीमा कम्पनीमा गैर कानु्नी रुपमा संचालक नियुक्त गरिएको भन्दै कम्पनीका एक सञ्चालकले बीमा समितिमा उजुरी दिएका छन् ।

कम्पनी ऐन २०६३ ले गरेको व्यवस्था विपरित सञ्चालक समितिले सञ्चालक नियुक्त गरेको भन्दै कम्पनीका सञ्चालक अशोककुमार उप्रेतीले समितिमा उजुरी दर्ता गराएका हुन् ।

महिला सञ्चालक नियुक्त गर्नु पर्ने कानुनी व्यवस्थालाई टेकेर सञ्चालक समितिले गलत निर्णय गरेको भन्दै उक्त नियुक्ति सच्याउन आफुले उजुरी दर्ता गरेको उप्रेतीले नोट बजारलाई बताए ।

उप्रेतीले बीमा समिति र कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरेको उजुरी :

राष्ट्रिय बीमा कम्पनीको गत पुस १३ गते बसेको सञ्चालक समितिको बैठकले डा. यादव मणी उपाध्यायलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

सञ्चालक समितिको उक्त निर्णय कम्पनी ऐन २०६३ को दफा ८६ को उपदफा २ र बीमा समितिले जारी गरेको बीमा कम्पनीको संस्थागत सुशासन निर्देशिका २०७५ को दफा ६ मा गरिएको व्यवस्था विपरित भएको भन्दै उप्रेतीले उजुरी गरेका हुन् ।

कम्पनी ऐन २०६३ को दफा ८६ को उपदफामा महिला सञ्चालकका सम्बन्धमा गरिएको व्यवस्था :


पुस १३ गतेको सञ्चालक समितिको निर्णय गैर कानुनी रहेको भन्दै उप्रेतिले  पुस २४ गते सञ्चालक समिति समक्ष आफ्नो नोट अफ डिसेन्ट पेस गरेका थिए ।

पुस १३ गतेको सञ्चालक समितिको निर्णयमा असहमति जनाउँदै उप्रेतीले लेखेको नोट अफ डिसेन्ट :

आफुले सञ्चालक समितिमा राखेको असहमतिको विषयमा कुनै सुनुवाई नभएका कारण बीमा समितिमा उजुरी दर्ता गर्नु परेको उनले बताए ।

सञ्चालक समितिको गैरकानुनी निर्णय उपर आवश्यक कारबाही गरी पाउँ भन्दै समितिमा दिइएको उजुरी कम्पनी रजिष्ट्रारको कार्यालयमा समेत दर्ता गराएका छन् । कम्पनी रजिष्ट्रारको कार्यालयमा उप्रेतीको निवेदन ३०३१ नम्बरमा दर्ता भएको छ ।

बीमा समिति र कम्पनी रजिष्ट्रारको कार्यालयबाट कम्पनी सञ्चालक समितिको गैर कानुनी निर्णय उपर सुनुवाई नभएको खण्डमा आफु अख्तियार दुरुपयोग अनुसन्धान आयोग जाने उनले बताए ।

यस अघि उप्रेतीले नेपाल बैंकको साधारण सभामा बैंकका अध्यक्ष डा. बासुदेव अधिकारीसँग बीमा कम्पनीका सञ्चालक उप्रेतीले पटक पटक सञ्चालक फेर्नु र महिला सञ्चालक नियुक्त गर्ने विषयमा चासो नदिएकोमा प्रश्न उठाएका थिए । उनले नेपाल बैंकले सञ्चालकहरुलाई छोटो समयमा परिवर्तन गराउँदै कम्पनी सञ्चालक समितिका गलत निर्णयहरुमा सहमति दिने गरेको आरोप समेत लगाएका छन् ।

नेपाल बैंकका तर्फबाट साढे २ वर्षमा ५ जना सञ्चालकहरु परिवर्तन भैसकेका छन् । यसले कुनै पनि सञ्चालकलाई बीमा कम्पनीको गहिराई बुझ्ने अवसरबाट बञ्चित गराउने गरिएको छ’, उनले भने ।