जीबन बीमाको ६ महिनाको कूल बीमा शुल्क आधा खर्ब नजिक, युनियन लाईफको उपस्थिति आक्रमक

0
Shares

नेपालमा सञ्चालित जीबन बीमा कम्पनीहरुको चालु आवको ६ महिना अवधिमा झण्डै आधा खर्ब बीमा शुल्क संकलन गरेका छन् । नेपालमा सञ्चालित कूल १९ कम्पनीहरुले सो रकम बराबरको रकम संकलन गरेका हुन्।

चालु आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमाससम्ममा १९ बीमा कम्पनीहरुले कूल ४६ अर्ब ८८ करोड रुपैयाँ बीमा शुल्क संकलन भएको हो। यस अवधिसम्ममा बीमा कम्पनीहरुले निवीकरण शुल्क वापत ३० अर्ब ९९ करोड, प्रथम बीमा शुल्क वापत १५ अर्ब २९ करोड र वैदेशिक रोजगार बीम शुल्क वापत १ अर्ब २२ करोड रुपैयाँ संकलन गरेका हुन्।

सबै बीमा कम्पनीको एकीकृत तथ्याङ्क अनुसार पुस मसान्तसम्ममा ६० लाख २१ हजार ५६२ जीबन बीमा लेख र ८ लाख २२ हजार १४७ वटा वैदेशिक बीमालेख गरि कूल ६८ लाख ४३ हजार ७०९ वटा बीमालेख जारी भएका छन्।  सूचीकृत जीबन बीमा कम्पनीको कूल चुक्ता पूँजी ३२ अर्ब ५५ करोड रहेको छ भने १ हजार ८०७ वटा शाखा कार्यालय मार्फत ५ हजार ४३१ कर्मचारीले जीबन बीमा सेवा उपलब्ध गराउँदै आएका छन्।

यस अवधिमा नेपाल लाइफले सबैभन्दा धेरै बीमा १३ अर्ब ९६ करोड रुपैयाँ शुल्क संकलन गर्दा युनियन लाईफले आफु्नो आक्रमक दाबेदारी प्रस्तुत गरेको छ । नयाँ कम्पनी भएपनि यस कम्पनीले १४ कम्पनीलाई पछाडि पार्दै पाँचौं स्थानमा आफ्नो स्थान सुरक्षित गरेको हो। पूराना कम्पनीहरु मेट लाईफ, एशियन लाईफ, सूर्या लाईफ र गुराँस लाईफ नयाँ कम्पनी युनियन लाईफभन्दा कमजोर देखिएका छन्।

सबैभन्दा कान्छो बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कूल बीमा शुल्क संकलनमा पनि पुछारमा रहेको छ । कम्पनीले पुस मसान्तसम्ममा २८ करोड रुपैयाँ मात्र बीमा शुल्क आर्जन गरेको हो ।

जीबन बीमा कम्पनीहरुबाट संकलन भएको कूल बीमा शुल्कमा नेपाल लाईफको हिस्सा मात्रै २९.७८ प्रतिशत रहेको बीमा समितिको तथ्याङ्कमा उल्लेख छ । कूल बीमा शुल्क गणनामा प्रतिशतका आधारमा हेर्दा १ प्रतिशतभन्दा धेरै हिस्सा हुने जीबन बीमा कम्पनीको संख्या १५ रहेको छ । १ प्रतिशतभन्दा कम हिस्सा हुने कम्पनी ४ वटा रहेका छन्।

दश कम्पनीको बीमा संकलन एक अर्ब माथि

२०७६ पुस मसान्तसम्ममा १९ मध्ये १० जीबन बीमा कम्पनीले १ अर्ब माथि बीमा शुल्क संकलन गरेका छन् भने ९ कम्पनीको बीमा शुल्क १ अर्ब भन्दा कम रहेको छ।

बीमा समितिको तथ्याङ्क अनुसार यस अवधिमा नेपाल लाईफले १३ अर्ब ९६ करोड, लाइफ इन्स्योरेन्स कर्पोरेशन ७ अर्ब ६९ करोड, राष्ट्रिय बीमा संस्थान ५ अर्ब ८३ करोड, नेशनल लाईफ इन्स्योरेन्स ३ अर्ब ९५ करोड, युनियन लाईफ २ अर्ब ४१ करोड, एशियन लाईफ २ अर्ब २६ करोड, मेट लाईपm १ अर्ब ७७ करोड ४२ लाख, सूर्या लाईफ १ अर्ब ५८ करोड, प्राइम लाईफ १ अर्ब ४१ करोड, र रिलायबल लाईफ इन्स्योरेन्सले एक अर्ब ८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

यसैगरि गुराँस लाईफ इन्स्योरेन्सले ९४ करोड बीमा शुल्क संकलन गर्दा ज्योति लाईफले ७४ करोड, सिटिजन्स लाईफ ७१ करोड, आईएमई लाईफ ५८ करोड, सन नेपाल लाईफ ५६ करोड, सानिमा लाईफ ४० करोड, प्रभु लाईफ ३० करोड र महालक्ष्मी लाईफ इन्स्योरेन्सले २८ करोड बीमा शुल्क संकलन गरेको हो।