एलआइसीद्धारा भ्रामक समाचारको खण्डन, सचेत रहन सबैमा अपिल

0
Shares

लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइस) ले केही सञ्चार माध्यममा कम्पनीको बोनसदरको बारेमा आएको भ्रामक समाचारप्रति कम्पनीको ध्यानाकर्षण भएको भन्दै विश्वास नगर्न सबै सरोकारवालाहरुमा आग्रह गरेको छ।

एलआइसी नेपालले प्रदान गर्दै आएको वर्तमान बोनसदरको स्म्बन्धमा केही सञ्चार माध्यममा कपोकल्पित एवं भ्रामक समाचार प्रचार भएको भन्दै कम्पनीले बीमित, शेयरधनी, ग्राहक अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुलाई सचेत रहन आग्रह गरिएको छ।

कम्पनीका विरुद्धमा कपोकल्पित र भ्रामक समाचार बनाउनेलाई कानुनी प्रक्रियामा लगिने भन्दै कम्पनीले जनाएको छ। कम्पनीले नियामक निकायहरु बीमा समिति, राष्ट्र बैंक, कम्पनी रजिष्ट्रार कम्पनी, धितोपत्र बोर्ड, नेप्से, सिडिएससी सबैको निर्देशनको पूर्ण पालना गर्दै व्यवसाय वृद्धि गर्दै आइरहेको उल्लेख गरिएको छ।

एलआइसी नेपालका कम्पनी सचिव विनोदकुमार भुजेलले भारतका केही व्यक्तिहरूले सरकार विरुद्ध प्रचारबाजीमा अफवाह फैलाएको दाबी गर्दै यसबाट एलआईसी नेपालमा ठूलो असर नपर्ने बताए।

लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपालमा भारत सरकारको स्वामित्व रहेको ‘लाइफ इन्स्योरेन्स कर्पोरेशनको ५५ प्रतिशत, नेपाली व्यवसायीक घराना विशाल ग्रुपको २५ प्रतिशत, र सर्वसाधारणको २० प्रतिशत शेयर स्वामित्व रहेको छ।

भारतमा एलआइसीले लगानी गरेका दिवान हाउजिङ, रिलायन्स क्यापिटल, इण्डिया बुल्स हाउजिङ फाइनान्स, पिरामल क्यापिटल र एस बैंक लगायत कम्पनीहरू कम्पनीहरू डुब्ने अवस्थामा पुगेपछि एलआइसी नेपालमाथि पनि संकट आउनेभन्दै प्रचार गरिएपछि कम्पनीले त्यसको खण्डन गरेको हो।

बीमा कम्पनीहरुले बीमा समिति मार्फत सरकारलाई र स्वदेश तथा विदेशका पुर्नबीमा कम्पनीहरुसँग पनि बीमा गरेको हुनेले कम्पनी मार्फत बीमा गरेका बीमितहरुको बिमाङ्क रकम भने सुरक्षित रहने जानकारहरु बताउँछन्।

चालु आवको पुस मसान्तसम्ममा एलआइसी नेपालले ७ अर्ब ६९ करोड कूल बीमाशुल्क आर्जन गरेको छ भने जीबन बीमा कोषमा ६१ अर्ब ८४ करोड ५६ लाख रुपैयाँ दाखिला गरेको जनाएको छ।

कम्पनीले न्यूनतम बोनसदर प्रतिहजार ६६ रुपैयाँ रहेको जनाउँदै बीमा पोलिसीको प्रकृति अनुसार जीबन आस्था नामको योजनामा प्रतिहजार ८५।– रुपैयाँसम्म बोनसदर रहेको जनाएको छ।

नेपालमा १८ वर्षदेखि सेवा गर्दै आएको यस कम्पनीले ७४ शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले आव २०७४।७५ बाट जीबन बीमा कम्पनीहरुमध्येकै धेरै ७० प्रतिशत लाभांश वितरण गरेको थियो।