‘सर्ट टर्म’ इन्भेष्टरले चलाउँदै शेयर बजार

0
Shares

शेयर बजारमा पछिल्लो समय छोटो समयका लागि लगानी गर्ने लगानीकर्ता हाबी भएका छन्। तुलनात्मक रुपमा चनाखो लगानीकर्ताको रुपमा मानिने अल्पकालीन (‘सर्ट टर्म’) लगानीकर्ता सक्रिय हुँदा बजारमा उच्च अंकको उतार चढाब आएको हो।

अल्पकालीन लगानीकर्ताले बजारमा सानो सूचनालाई लिएर हल्ला फैलाएर शेयरमूल्य बढाउने र नाफा बुक गरीहाल्ने प्रवृत्तिका कारणले बजार सूचक एकै पटक ठूलो अंकले घट्ने वा बढ्ने गर्छ। साथै यस्ता लगानीकर्ताहरु धितोपत्र बजारमा सूचीकृत कम्पनीहरुमध्ये थोरै शेयर संख्या भएका कम्पनीहरुको शेयरमा बढी सक्रिय हुने गरेको विश्लेषकहरु बताउँछन् ।

पछिल्लो समयमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आएको उतार चढाव लघुवित्त तथा बीमा कम्पनीहरुको शेयरमूल्य बढेकाले आएको जानकारहरु बताउँछन्।

पछिल्लो समयमा सर्ट टर्म इन्भेष्टर्सहरुले बजारमा प्रोपगाण्डा फैलाएर दुई तीन पटक सर्किट लगाउने गरी बढाउने अनि नाफा बुक गर्न बिक्री गर्ने गरेको एक लगानीकर्ताले बताए। “अहिले शेयर बजार सूचक कुनै समुहका कम्पनीको शेयरमूल्य बढेको हुनाले मात्र सुधार आएको छ,” ती लगानीकर्ताले भने, “बैंकिङ्ग क्षेत्रको बाहुल्यता रहेको शेयर बजारमा सोही समुहका कम्पनीको अधिकाशं शेयरमूल्य अण्डर भ्यालुड अवस्थामा छन्।” पछिल्लो समयमा शेयर बजार सुधारतर्फ देखिएको भएपनि सन्तुलन नभएको उनको भनाई छ ।

बजारमा देखिएको असन्तुलनलाइ ध्यान दिएर नीति निर्माण तहले सम्बोधन गर्नुपर्ने लगानीकर्ताको सुझाव रहेको छ। यो शेयर बजारको समस्या समाधान गर्नका लागि सूचीकृत कम्पनीको प्रतिशेयर आम्दानीको आधारमा बैंक वित्तीय संस्थाले मार्जिन कर्जा दिनुपर्ने लगानीकर्ताहरुले सुझाएका छन्।

पछिल्ला समयमा लगानीकर्ताहरु एक समूहका कम्पनीको शेयरबाट अर्को समुहमा सिफ्ट गर्ने प्रवृत्तिले शेयर कारोबार रकम उच्च भएको शेयर विश्लेषक प्रकाश तिवारीले बताए । शेयर बजारमा दीर्घकालनि बुलका लागि बैंकिङ्ग क्षेत्रको शेयरमूल्यमा सुधार आउनुपर्ने बताउँदै तिवारीले भने,“अल्पकालीन लगानीकर्ता धेरै नभएपनि लगानीकर्ता शेयर छनोट धेरै गरेको हुनाले साना लगानीकर्ताले विचार गरेर लगानी गर्नुपर्ने अवस्था छ।”

एकैपटक उच्च अंकको सुधार वा गिरावट आएको हुनाले बजारले बुल ट्रेण्ड नै लिएको भन्न नसकिने उनको विश्लेषण छ । शेयर बजारमा बैंकिङ्ग क्षेत्रका कम्पनीको शेयरमूल्य नबढ्दासम्म दीर्घकालीन बुल आएको भन्न नसकिने उनको तर्क छ ।

सूचीकृत कम्पनीको दोस्रो त्रैमासको वित्तीय विवरण आएको र कम्पनीबाट पाएको नगद लाभांश पनि शेयर बजारमा नै आएको हुनाले नेप्से सुधारको बाटोमा देखिएको तिवारीले बताए । बजारमा अहिले देखिएको सुधार दीर्घकालीन हुने नहुने विषयमा नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा कस्तो आउँछ भन्ने कुराले निर्धारण गर्ने उनको तर्क छ।

मंगलबार कारोबार सुरु हुने वित्तिकै करिब १५ अंकभन्दा धेरैले बढेको नेप्से त्यसपछि क्रमिक रुपमा बढ्ने क्रममा सुस्तता आएको थियो । सोमबारको तुलनामा नेप्से नघटेपनि उच्च अंकको घटबढ भने आइनै रह्यो। निकै उतार चढाव आएको शेयर बजारमा मंगलबार एक अर्ब ४० करोड रुपैयाँ बरावरको कारोबार भएको छ ।

मंगलबार नेप्से परिसूचक ५.५२ अंकले बढेर १ हजार ३०६.१५ अंकमा पुगेको छ । नेप्सेमा बीमा, वित्त, विकास बैंक, लघुवित्त कम्पनीहरुको शेयरमूल्य बढेपछि धितोपत्र बजार सूचक नेप्से बढेको छ। तर, नेप्से बढेको भएपनि सेन्सेटिभ इण्डेक्स भने ०.४८ अंकले घटेको छ।