भारतबाट खल्ती मै भित्रिन्छ ३८ अर्ब रेमिट्यान्स

0
Shares

रेमिट्यान्समा आधारित नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारीमा जाने नेपाली दाजुभाई दिदी बहिनीले औपचारिक र अनौपचारिक माध्यम मार्फत पैसा स्वदेश पठाउने गर्छन्। रोजगारीका लागि विदेशिएका नेपाललीले बैंकिङ्ग च्यानल तथा रेमिट कम्पनी मार्फत, हुण्डी मार्फत नेपाल पैसा पठाउने गरेको पाइन्छ।

त्यति मात्र नभई कामदार स्वदेश फर्कँदा आफ्नो साथमा नगद नै ल्याउने पनि गर्छन्। बैंकिङ्ग च्यानल मार्फत आएको रेमिट्यान्सको स्पष्ट तथ्याङ्क हुने भएपनि आफ्नो साथमा ल्याउने गरेको र हुण्डी गरेको तथ्याङ्क भने हुँदैन।

औपचारिक अर्थतन्त्रको करिब ४० प्रतिशत अनौपचारिक अर्थतन्त्र भएको नेपालको कूल ग्राहस्थ उत्पादन करिब ३५ खर्ब रुपैयाँ बराबरको रहेको छ। औपचारिक अर्थतन्त्रमा पनि विदेशमा रोजगारका लागि गएका नेपालीको योगदान उत्तिकै हुने गरेको अर्थशास्त्रीहरु बताउँछन्। अनौपचारिक अर्थतन्त्रको प्रमुख स्रोतको रुपमा रहेको हुण्डीलाई नियन्त्रण गर्नका लागि अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले कानूनी पहल गरेको भएपनि नियन्त्रणमा आउन भने सकेको छैन।

त्यसका साथै छिमेकी राष्ट्र भारतमा कामका लागि गएका नेपालीले आफ्नो साथमा पैसा ल्याउने गरेको विषयलाई भने केही वर्ष अघि नेपाल राष्ट्र बैंकले सर्वेक्षण गरेको थियो सो सर्वेक्षणका आधारमा भारतबाट आउने कूल रेमिट्यान्सको करिब ३० प्रतिशत रकम कामदार आफैँले साथमा लिएर आउने गरेको अनुमानका आधारमा भारतबाट आउने अनौपचारिक रेमिट्यान्सको रुपमा समावेश गर्न थालेको छ ।

नेपाल राष्ट्र बैंकले नेपालमा साटिने भारतीय रुपैयाँ तथा उक्त सर्वेक्षेणलाई आधार बनाएर गत आर्थिक वर्षको नेपाल भित्रिएको कूल ८ खर्ब ९७ अर्ब रुपैयाँमध्ये भारतको औपचारिक माध्यमबाट ९० अर्ब ५० करोड र अनौपचारिक माध्यमबाट आएको रेमिट्यान्स (कामदार आफैँले साथमा लिएर आएको रकम) ३८ अर्ब ५० करोड गरि कूल १ खर्ब २८ अर्ब ५० करोड रुपैयाँ भित्रिएको तथ्याङ्क छ।

नेपाल–भारत सीमाका प्रमुख नाकाहरुमा नेपाल राष्ट्र बैंकका प्रतिनिधिहरु नै खटिएर भारतबाट नेपाल आउने नेपालीले साथमा ल्याएको रकमको सन्दर्भमा सर्वेक्षण गरेको आधारमा अनौपचारिक रेमिट्यान्सलाई गणना गर्न थालिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणकर भट्टले बताए।

“हरेक वर्ष भारतबाट आउने रेमिट्यान्समा अनौपचारिक विप्रेषण आप्रवाह भनेर ३८ अर्ब ५० करोड रुपैयाँ नै जोडिने होइन,” उनले भने, “भारतबाट नेपाल आउने नेपालीले साथमा ल्याउने पैसा भारतको कूल रेमिट्यान्सको ३० प्रतिशत रकम बराबरको हुने भनेर अनुमान गरेर राख्ने गरेका छौं, सधै त्यही रकम हुँदैन ।”

भारतबाट आउने कामदारले साथमा ल्याउने रकमलाई अनुमान गरिने भएपनि अन्य मुलकबाट आउने नेपाली कामदारको साथमा आउने रकमको विषयमा भने अध्ययनमा नआएको अर्थात राष्ट्र बैंकको जानकारीमा नभएको उनले बताए।

नेपाल राष्ट्र बैंकको अध्ययन अनुसार कतारपछि भारतबाट धेरै रेमिट्यान्स भित्रिने गरेको पाइएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको कात्तिकसम्ममा सबैभन्दा धेरै कतारबाट ५३ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स आएको छ। यो रकम सो अवधिमा नेपाल आएको कूल रकमको १७.७ प्रतिशत हो । त्यसैगरी नेपाल रेमिट्यान्स धेरै पठाउने देशमा रहेको भारतबाट सो अवधिमा ४३ अर्ब १६ करोड रुपैयाँ रहेको छ। यो रकम चालू आर्थिक वर्षको चार महिनामा आएको कूल रेमिट्यान्सको १४.२ प्रतिशत हो। चालू आर्थिक वर्षको पहिलो चार महिनामा कूल ३ खर्ब ४ अर्ब ९७ करोड रेमिट्यान्स भित्रिएको छ।

नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागले प्रकाशित गरेको नेपालमा विप्रेषण आप्रवाहको स्थितिको अध्ययन अनुसार हाल संस्थागत रुपमा नेपालले वैदेशिक रोजगारीका लागि ११० देशहरु खुल्ला गरेको छ भने ८ देशहरुसँग द्विपक्षीय श्रम सम्झौता गरेको छ। व्यक्तिगत श्रम स्वीकृतिमा १७२ मुलुकमा नेपालीहरु कामका लागि वैदेशिक रोजगारीमा गएको अध्ययनले देखाएको छ।

रेमिट्यान्सको शिक्षा, स्वास्थ्य, गरिबी निवारण, वित्तीय साधन परिचालन र राष्ट्रिय पूँजी निर्माणमा समेत विप्रेषण आप्रवाहको महत्वपूर्ण भूमिका रहेको अध्ययनले देखाएको छ। विगत केही वर्षयता वैदेशिक रोजगारीमा जाने कामदारहरूको संख्या घट्दै आएको छ। राष्ट्रिय र प्रादेशिक महत्वका योजनामा विप्रेषण आप्रवाहको परिचालन गर्ने संयन्त्र विकास गर्ने, औपचारिक माध्यमबाट विप्रेषण आप्रवाह आकर्षित गर्न विप्रेषण पठाउँदा लाग्ने लागतमा कमी ल्याउने र वित्तीय पहुँच विस्तार गर्ने लगायतका कार्यले विप्रेषण रकमको उत्पादनशिल उपयोग बढाउन सकिने सुझाव सहितको निष्कर्ष अध्ययनको रहेको छ।