साढे ६ महिनामा २८ प्रतिशत बजेट खर्च, पूँजीगत खर्च १७ प्रतिशत मात्रै

0
Shares

चालु आर्थिक वर्षको आधा भन्दा बढी समय गुज्रँदा कूल बजेट खर्च २८ दशमलब १२ प्रतिशत मात्र रहेको छ । यसमा पनि पूँजीगत खर्चको आँकडा झनै निराशाजनक छ । साढे ६ महिनामा पूँजीगत खर्च मात्र १६ दशमलब ९९ प्रतिशत मात्र छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार २०७६ माघ १५ गते बुधबारसम्ममा ४ खर्ब ३१ अर्ब ८ करोड १८ लाख रुपैंयाँ बजेट खर्च भएको छ । यसअन्तर्गत चालु खर्च ३ खर्ब २४ अर्ब ६३ करोड ३९ लाख रुपैयाँ भएको छ । यो लक्ष्यको ३३ दशमलब ९२ प्रतिशत हो ।

त्यसैगरी ६ महिनाको पूँजीगत खर्च मात्र ६९ अर्ब ३१ करोड छ । यो कूल लक्ष्यको १६ दशमलब ९९ प्रतिशत हो । त्यस्तै वित्तीय व्यवस्थातर्फ ३७ अर्ब १३ करोड ७९ लाख रुपैंयाँ खर्च भएको छ । यो लक्ष्यको २२ दशमलब १२ प्रतिशत हो ।

यता सरकारको राजश्व आम्दानी भने साढे ६ महिनामा वार्षिक लक्ष्यको ४० दशमलब ८५ प्रतिशत प्रगति हासिल भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

वार्षिक राजश्व लक्ष्य ११ खर्ब १२ अर्ब ३ करोड ३२ लाख रहेकोमा माघ १५ गते बुधबारसम्ममा ४ खर्ब ५४ अर्ब ३१ करोड ९७ लाख रुपैंयाँ संकलन भएको छ । यसअन्तर्गत कर राजश्व ४ खर्ब १२ अर्ब १८ करोड ६३ लाख तथा गैरकर राजश्व ४२ अर्ब १३ करोड ३५ करोड रुपैंयाँ संकलन भएको छ ।

अन्य आम्दानीमा २८ अर्ब ५ करोड ९ लाख रुपैंयाँ रहेको छ भने साढे ६ महनिामा सरकारले १० अर्ब ४९ करोड २४ अनुदान प्राप्त गरेको छ । यो वर्ष ५७ अर्ब ९९ करोड ५५ लाख रुपैंयाँ अनुदान लिने लक्ष्य सरकारको छ ।

चालु आर्थिक वर्षका लागि सरकारले १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैंयाँको बजेट ल्याएको छ । बजेट कार्यान्वयनका लागि सरकारले चालु आर्थिक वर्षको बाँकी साढे ५ महिनामा करीब ६० प्रतिशत राजश्व संकलन तथा करीब ७२ प्रतिशत बजेट खर्च गर्नुपर्नेछ ।