लघुवित्त मार्फत बैंकहरुको एक खर्ब ३६ अर्ब कर्जा परिचालन

0
Shares

चालु आर्थिक वर्षको असोजसम्ममा माइक्रोफाइनान्स कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाहरुबाट एक खर्ब ३६ अर्ब ४६ करोड रुपैयाँ सापटी लिई कर्जा लगानी गरेका छन्। माइक्रोफाइनान्स कम्पनीहरुले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुबाट उक्त रकम सापटी लिएका हुन्।

सो अवधिमा ८९ माइक्रोफाइनान्सले आफ्ना सदस्यहरुबाट कूल ९१ अर्ब ४५ करोड रुपैयाँ बचत संकलन गरेका छन्। चालु आवको असोजसम्ममा माइक्रोफाइनान्स मार्फत २ खर्ब ४४ अर्ब ३७ करोड रुपैयाँ कर्जा परिचालन भएको छ।

माइक्रोफाइनान्सहरुले विपन्न वर्ग र कृषि कर्जा शिर्षकमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका संस्थाबाट आधार दर र प्रिमियम सहितको व्याजदरमा कर्जा लिएर लगानी गर्दै आएका छन्। राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थालाई न्यूनतम कर्जा सीमा तोकी विपन्न वर्ग कर्जा, कृषि कर्जामा लगानी गर्न भनेको थियो। त्यो सीमा तोकिएको कर्जालाई माइक्रोफाइनान्स मार्फत लगानी गर्दा पनि हुने व्यवस्था केन्द्रीय बैंकले गरेपछि बैंकहरुले माइक्रो फाइनान्सलाई कर्जा दिन थालेका हुन्।

माइक्रोफाइनान्सले बैंक वित्तीय संस्थालाई १० देखि १४ प्रतिशतसम्म ब्याजदर तिर्ने गरेको नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष बसन्तराज लम्सालले बताए। यसरी लिएको पैसालाई कोषको लागतमा प्रशासनिक लागत वापत बढीमा ३ प्रतिशत बिन्दुसम्म थप गरी कोष तथा प्रशासनिक लागत कायम गर्न सक्नेछन्।

यसरी कायम हुन आउने दरमा बढीमा ६ प्रतिशत बिन्दुसम्म थप गरी कर्जाको ब्याजदर निर्धारण गर्न सक्नेछन्। तर, थोक कर्जाको मात्र कारोबार गर्ने संस्थाहरुले भने २ प्रतिशत बिन्दुसम्म मात्र थप गरी कोष तथा प्रशासनिक लागत कायम गर्न सक्नेछन्। तर, थोक कर्जाको मात्र कारोबार गर्ने संस्थाहरुले भने ३ प्रतिशत बिन्दुसम्म मात्र थप गरी कर्जाको ब्याजदर निर्धारण गर्न सक्नेछन्।

लम्सालका अनुसार लघुवित्तहरुले औसतमा १८ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्दै आएका छन्। “मंहङ्गो लागतमा स्रोत जुटाउने लघुवित्तहरुले भने २१ प्रतिशतसम्म पनि लिने गरेका छन,” उनले भने,“लघुवित्तको कर्जा महंङ्गो भएको गुनासो आउने गरेको छ, यसका लागि बैंक वित्तीय संस्थाले लिने गरेको प्रिमियम अझै कम गरी सापटी दिने रकमको आकार बढाउन आवश्यक छ।” बैंकहरुले लिने प्रिमियमको सन्दर्भमा नेपाल राष्ट्र बैंकले नै निर्धारण गरिदिँदा राम्रो हुने उनको तर्क छ ।

नेपाल राष्ट्र बैंकका अनुसार असोजसम्ममा देशका ७७ वटै जिल्लामा लघुवित्तको सेवा पुगेको छ। चालु आर्थिक वर्षको असोजसम्ममा ४४ लाख ६१ हजार ९ सय १४ जना सदस्या रहेको केन्द्रीय बैंकले जनाएको छ । सो अवधिसम्ममा ८९ माइक्रो फाइनान्सले १८ हजार ३ सय ७९ जनालाइ रोजगार दिएको केन्द्रीय बैंकले जनाएको छ।