एभरेष्ट इन्स्योरेन्सको पूँजीसँगै व्यापारमा फराकिलो सुधार, नाफा शतप्रतिशतभन्दा धेरै बढ्यो


एभरेष्ट इन्स्योरेन्स (EIC) ले आर्थिक वर्ष २०७६/०७७ को दोस्रो त्रैमासमा व्यवसायको आकार फराकिलो अन्तरले बढाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा पनि भारी मात्रामा व्यापारको आकार बढाएको इन्स्योरेन्सले यस पटक पनि सबै शिर्षकहरुमा राम्रो सुधार गरेको हो ।

पछिल्ला दुई आर्थिक वर्षमा एभरेष्ट इन्स्योरेन्सले संकलन गरेको बीमा शुल्क तथा दाबी भुक्तानीको आकारमा आएको फराकिलो सुधारले कमाई वृद्धिमा पनि उस्तै असर छोडेको छ ।

इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा २३ करोड ८७ हजार रुपैंया खुद बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले १८ करोड ८० लाख ८६ हजार रुपैंया खुद बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा इन्स्योरेन्सले २२.३३ प्रतिशतले खुद बीमा शुल्क आर्जन बढाएको हो ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले जम्मा ६ करोड ३९ लाख रुपैंया मात्र खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा इन्स्योरेन्सले यो आकारलाई झण्डै २०० प्रतिशतले बढाएको थियो ।

बीमा शुल्क आर्जनको आकारसँगै इन्स्योरेन्सको बीमा दाबी भुक्तानीको आँकडा पनि फराकिलो अन्तरले बढेको देखिएको छ । गत आर्थिक वर्षको यसै अवधिमा १ करोड ७० लाख रुपैंयाको बीमा दाबी भुक्तानी गरेको इन्स्योरेन्सले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ४ करोड २३ लाख रुपैंयाको बीमा दाबी भुक्तानी गरेको छ ।

यसका साथै पुनर्बीमा कमिशनबाट हुने आय, लगानी, कर्जा तथा अन्य आम्दानी लगायत शिर्षकमा आएको सुधारले ३९ करोड ३१ लाख ४१ हजार रुपैंया रहेको गत आर्थिक वर्षको दोस्रो त्रैमासको कुल आम्दानी अहिले ६० करोड १५ लाख ६३ हजार रुपैंया पुगेको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा ३६ करोड ४७ लाख ३४ हजार रुपैंया रहेको खर्चको आकार पनि अहिले बढेर ५५ करोड ८९ लाख ४ हजार रुपैंयामा उक्लिएको छ ।

खुद बीमा शुल्क आर्जनसँगै दाबी भुक्तानीको आकार बढेका नोफा नोक्सान हिसावमा सारिने रकमको आकार वृद्धिको गतिमा केही अवरोध उत्पन्न भएको छ । सेवा शुल्क, व्यवस्थापन खर्च तथा यस अघिको असमाप्त जोखिम वापतको व्यवस्था शिर्षक बढ्दा इन्स्योरेन्सको नोक्सान हिसावमा सारिने रकमको वृद्धि आम्दानी अनुरुप नदेखिएको हो ।

गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले २ करोड ८४ लाख ७ हजार रुपैंया नोफा नोक्सान हिसावमा सारेकोमा अहिले ४ करोड २६ लाख ५९ हजार रुपैंया सारेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले यस्तो शिर्षकमा २ करोड २६ लाख ८६ हजार रुपैंया रकम नाफा नोक्सान हिसाबमा सारेको थियो ।

उल्लेखित सबै शिर्षकलाई नोफा नोक्सान हिसावका शिर्षकहरुमा सामायोजन गरी इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५ करोड ६९ लाख ३९ हजार रुपैंया खुद नाफा कमाएको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले २ करोड ५१ लाख ६६ हजार रुपैंया खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा इन्स्योरेन्सको खुद नाफा १२६.२५ प्रतिशतले बढाएको हो ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले २ करोड ३७ लाख ७० हजार रुपैंया खुद नाफा कमाएको थियो ।

गत आर्थिक वर्षको यसै अवधिमा १३ करोड ३६ लाख ५० हजार रुपैंया मात्र चुक्ता पूँजी रहेको इन्स्योरेन्सले बीमा समितिको निर्देशन अनुसार संस्थापक तथा साधारण हकप्रद शेयर बिक्री गरेर अहिले चुक्ता पूँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैंया पुर्याएको छ ।

समीक्षा अवधिमा इन्स्योरेन्सले ७२० प्रतिशतले चुक्ता पूँजी बढाएको हो । निर्जीवन बीमा कम्पनीले कायम गर्नु पर्ने न्युनतम चुक्ता पूँजी कायम गर्दै गर्दा इन्स्योरेन्सले खुद नाफामा पनि १२६.२५ प्रतिशतको बढोत्तरी गरेको हो । यसले इन्स्योरेन्सले प्रतिशेयर आम्दानीलाई सन्तुलन गर्न भरपुर प्रयास गरेको देखिन्छ । यद्यपी चुक्ता पूँजी धेरै बढेका कारण प्रतिशेयर आम्दानीमा अपेक्षित सन्तु्लन भने हुन सकेको छैन ।

गत आर्थिक वर्षको यसै अवधिमा १८ रुपैंया ८३ पैसा रहेको इन्स्योरेन्सको प्रतिशेयर आम्दानी अहिले १० रुपैंया ३९ पैसा कायम भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा ४५.४१ गूणाले बढी रहेको मूल्य आम्दानी अनुपात अहिले ३०.८९ गूणाले बढी कायम भएको छ ।

इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १३८ रुपैंया ८२ पैसा छ ।

गत आर्थिक वर्षको यसै अवधिमा १ हजार ३७३ वटा बीमा दाबी वापत १६ करोड ७५ लाख ४९ हजार रुपैंया भुक्तानी गरेको इन्स्योरेन्सले अहिले २ हजार ३१४ वटा दाबी भुक्तानी वापत ९ करोड २५ लाख ८६ हजार रुपैंया भुक्तानी गरेको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा १ हजार ३०६ वटा दाबी भुक्तानी वापत ३९ करोड ७३ लाख ६६ हजार रुपैंया दाबी भुक्तानी गर्न बाँकी रहेको इन्स्योरेन्सले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २ हजार ७८४ वटा बीमा दाबी वापत १ अर्ब १४ करोड ६६ लाख ५६ हजार रुपैंया भुक्तानी गर्न बाँकी छ ।