नौ सय मेगावाटको अरुण तेस्रोमा एक खर्ब लगानी निश्चित , नेपाली बैंकको १५ अर्ब लगानी

0
Shares

नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनामा १ खर्ब लगानी निश्चित भएको छ।

भारतीय कम्पनी सतलज विद्युत निगमले बनाईरहेको उक्त आयोजनामा नेपालका दुई र भारतका पाँच बैंकले ऋण लगानी गर्ने भएका हुन्।संखुवाभाको मकालु गाउँपालिकामा निर्माण भइरहेको आयोजनाका लागि बिहीबार एसजेबीएनले वित्तीय व्यवस्थापन सम्झौता गरेको छ। 

नेपाल राष्ट्र बैंक र लगानी बोर्डले स्वीकृति दिएपछि औपचारिक रुपमा ऋण लगानी सम्झौता भएकोे हो।

१ खर्ब १६ अर्ब लागत अनुमान गरिएको आयोजनामा पाँच भारतीय बैंक र २ नेपाली बैंकले लगानी गर्न सहमत भएका छन्। एसजेबीएनका अनुसार पाँच भारतीय बैंकले ८५ अर्ब नेपाली रुपैयाँ लगानी गर्नेछन्। त्यस्तै नेपाली बैंकले १५ अर्ब लगानी गर्ने छन्।

उक्त आयोजनामा नेपालका नविल बैंक र एभरेष्ट बैंक त्यस्तै भारतका स्टेट बैंक (एसबीआई), पञ्जाब नेसनल बैंक, युनियन बैंक अफ इन्डिया, क्यानरा बैंक र भारतीय एक्सपोर्ट इम्पोर्ट (एक्जिम) बैंकले ऋण लगानी गर्ने भएका हुन् ।

सतलजले अरुण तेस्रो निर्माणका लागि एसजेबीएन अरुण-३ पावर कम्पनी नेपालमा दर्ता गरेको छ। लगानी वित्तीय व्यवस्थापन सम्झौता आज भएपनि आयोजनाको काम भने सुरु भइसकेको छ। भारतीय सरकारी कम्पनी सतलजले स्व:पूँजीबाट लगानी गरिरहेको जानकारी दिएको छ।

नेपाल र भारतका प्रधानमन्त्रीले २०७५ बैशाखमा सयुक्त रुपमा शिलान्यास गरेको उक्त आयोजनामा ३० प्रतिशत काम सम्पन्न भइसकेको छ।