कर्जामा घटेको ब्याजदर निक्षेपमा थपियो, अर्थतन्त्र स्थिरतातर्फ उन्मुख

0
Shares

चालु आर्थिक वर्षको पाँच महिनामा कर्जाको ब्याजदर घटेको छ भने निक्षेपको बढेको छ ।

गत आर्थिक वर्षको तुलनामा बैंकिङ क्षेत्रको कर्जाको ब्याजदर १२.१३ प्रतिशत बाट ०.२० ले घटेर ११.९३ प्रतिशतमा झरेको छ भने निक्षेपको ६.६० प्रतिशतबाट ०.२० ले बढेर ६.८० प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ।

निक्षेपको ब्याजदर बढ्नु कर्जाको ब्याजदर घट्नु तथा वित्तीय प्रणालीका निक्षेपकर्ताले मुद्रास्फीती भन्दा धेरै ब्याजदर पाउँदा अर्थतन्त्र सन्तुलित गतिमा रहेको देखिन्छ ।

नेपाल राष्ट्र बैंकका अनुसार मंसिरसम्मको औसत उपभोक्ता मूल्य वृद्धि ६.३३ प्रतिशत रहेको छ । सोही अवधिमा बैंकहरुले निक्षेपकर्तालाई दिएको औसत ब्याजदर ६.८० प्रतिशत रहेको छ । निर्यात बढ्नु, शोधनान्तर स्थिती सकारात्मक, निक्षेपको ब्याजददर मुल्य वृद्धि भन्दा माथि र कर्जाको ब्याजदर घट्नुले अर्थतन्त्र स्थिरता उन्मुख रहेको राष्ट्र बैंकमा प्रवक्ता डा. गुणाकार भट्ट बताउँछन् ।

तर, नेपाल राष्ट्र बैंकले कर्जा नीतिमा कडाई गरेपछि कर्जाको माग समेत न्यून हुन थालेको बैंकरहरुले बताउँदै आएका छन् । यसले गर्दा बैंकिङ प्रणालीमा कर्जा लगानी योग्य रकमको समस्या समेत सहज भएको छ ।

बैंकहरुलाई अनुत्पादक क्षत्रेमा लगानी निरुत्साहित गर्ने नेपाल राष्ट्र बैंकको नीतिका कारण बैंक वित्तीय संस्थाको नाफामा भने असर गर्ने देखिन्छ । बैंक/वित्तीय संस्थाको उच्च प्रतिस्पर्धाका कारण स्प्रेडमा समेत कमी हुँदै आएको बैंकर्स संघका अध्यक्ष एवम सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहाल बताउँछन्।

गत असारमा बैंकहरुले निक्षेपकर्तालाई दिएको औसत ब्याजदर ६.६० प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षको पाँच महिनामा निक्षेपको ब्याजदर ०.२० ले बढेर ६.८० प्रतिशत पुगेको हो । 

तर, बैंक वित्तीय संस्थाले गत असारसम्ममा प्रवाह गरेको कर्जाको औसत ब्याजदर १२.१३ प्रतिशत थियो । चालु आर्थिक वर्षको पाँच महिनामा कर्जाको ब्याजदर पनि समान्य घटेर अर्थात ०.२० ले घटेर ११.९३ प्रतिशतमा झरेको छ ।

गत आर्थिक वर्षको तुलनामा बैंकिङ प्रणालीको औसत आधार ब्याजदर पनि घटेको छ । गत असारमा बैंकिङ प्रणालीको औसत आधार ब्याजदर ९.५७ प्रतिशत रहेकोमा मंसिरसम्ममा घटेर ९.४६ प्रतिशतमा झरेको छ ।

बैंकिङ प्रणालीको औसत आधार ब्याजदर र कर्जाको ब्याजदर घटेको छ । तर, निक्षेपको ब्याजदर वढेको छ । यसले बैंक वित्तीय संस्थाले निक्षेपमा दिनुपर्ने ब्याज बढेको छ भने आम्दानी गर्ने कर्जाको ब्याजदर घटेको छ । यसले बैंक वित्तीय संस्थाको प्रोफिटाब्लिटी (लाभांश क्षमता) मा असर गर्ने देखिन्छ।