एनएमबी बैंक मार्फत विच्याटले नेपालमा डिजिटल पेमेन्टको कारोबार गर्ने

0
Shares

एनएमबी बैंक (NMB) ले अन्तराष्ट्रिय डिजिटल पेमेन्ट कम्पनी विच्याटको नेपालमा हुने कारोबारलाई एक्वायर (प्राप्ति) गरेको छ । यो सँगै अब विच्याटले नेपालमा एनएमबी बैंक मार्फत डिजिटल पेमेन्टको कारोबार संचालन गर्नेछ ।

विच्याटले नेपालमा कारोबारको अनुमति पाएपछि राष्ट्र बैंकले एनएमबीलाई नेपालमा हुने विच्याटको कारोबार एक्वायर गर्न अनुमति प्रदान गरेको हो। विच्याट चीनमा सबभन्दा बढी प्रयोग हुने डिजिटल पेमेन्ट सिस्टम हो।

राष्ट्र बैंकले अनुमति दिए पनि आन्तरिक रूपमा धेरै प्रक्रिया मिलाउनुपर्ने भएकाले औपचारिक कारोबार सुरु गर्न केही समय लाग्ने बैंक स्रोतले बताएको छ । बैंकले विशेषगरी चीनबाट नेपाल भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर होटल तथा सपिङ मलमा भुक्तानी गर्दा विच्याटको सुविधा दिने जनाएको छ।

विच्याट नेपालमा डिजिटल पेमेन्टको अनुमति पाउने पहिलो कम्पनी पनि बनेको छ। राष्ट्र बैंकले अलिपेलाई पनि कारोबार अनुमति दिने तयारी गरेको छ । अलिपेको कारोबारलाई हिमालय बैंकले एक्वायर गर्न राष्ट्र बैंकमा आवेदन दिएको छ ।

नेपालमा विच्याट र अलिपेमार्फत भुक्तानी बढेपछि राष्ट्र बैंकले ती भुक्तानीलाई गैरकानुनी भन्दै गत जेठमा रोक लगाएको थियो । त्यसपछि विच्याट र अलिपे कारोबार अनुमतिका लागि राष्ट्र बैंक गएका थिए ।