स्वरोजगारले जनकपुर लघुवित्तलाई ७० रुपैयाँ स्वापमा किन्ने


लघुवित्तहरुमा एक पछि अर्को गर्दै मर्जरको लहर बढ्न थालेको छ । यसै बिच मंगलबार स्वरोजगार लघुवित्तले जनकपुर लघुवित्तलाई खरिद गर्ने सम्झौता गरेको छ ।

बनेपामा मुख्य कार्यालय रहेको स्वरोजगार लघुवित्तले जनकपुरमा मुख्य कार्यालय रहेको जनकपुर लघुवित्तलाई खरिद गर्ने विषयमा सम्झौता भएको हो । राजधानीको नक्सालमा एक कार्यक्रमका बिच दुई संस्थाका बिचमा विलय सम्झौता भएको हो ।

सम्झौता अनुसार स्वरोजगार लघुवित्तले जनकपुर लघुवित्तलाई प्रतिकित्ता ७० रुपैंयासम्मको स्वाप दिनेछ । यद्यपी डिडिए प्रतिवेदनका आधारमा शेयर स्वापको अन्तिम निर्णय हुने स्वरोजगार लघुवित्तका प्रमुख कार्यकारी अधिकृत मनोजकृष्ण उप्रेतीले नोटबजारलाई बताए ।

स्वरोजगार लघुवित्तले गत आर्थिक वर्षमा २६.७५ प्रतिशत बोनस शेयर बितरण गरेर चुक्ता पूँजी ३४ करोड १६ लाख १२ हजार रुपैंया पुर्याएको छ । उता जनकपुर लघुवित्तको चुक्ता पूँजी ३ करोड ४७ लाख ५० हजार रुपैंया छ ।

जनकपुर लघुवित्तले साधारण शेयर निष्काशन गरेको छैन । लघुवित्तको संस्थापक शेयर मात्र खरिद गर्ने भएकाले स्वरोजगार लघुवित्तको हाल कायम ५१ अनुपात ४९ को संस्थापक तथा साधारण शेयर संरचनामा पनि परिवर्तन हुने भएको छ । जनकपुरलाई विलय गरे पछि स्वरोजगारमा संस्थापक शेयरधनीको हिस्सा ५४ प्रतिशतसम्म उक्लिन सक्ने देखिन्छ ।

विलय पश्चात स्वरोजगार लघुवित्तको चुक्ता पूँजी ३६ करोड ५९ लाख रुपैंया नाघ्नेछ । 

जनकपुरलाई स्वरोजगारले खरिद गर्ने सम्बन्धमा भएको सम्झौताका विषयमा बुधबार नियामक निकायहरुलाई जानकारी गराउने छन् । जनकपुर लघुवित्त नेप्सेमा सूचीकृत भएको छैन भने विलय सम्झौताका कारण स्वरोजगार लघुवित्तको शेयर कारोबार स्थगन हुने छैन ।