प्रभु बैंकको सवा ४१ लाख कित्ता कारोबार योग्य शेयर नेप्सेमा थपिँदै


प्रभु बैंक (PRVU) ले संस्थापक शेयरधनीको हिस्सा घटाउन अन्तिम स्वीकृति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

केही दिनमा नै उक्त आवेदन स्वीकृत भए पछि बैंकले संस्थापक शेयरलाई साधारण शेयरमा रुपान्तरण गर्नेछ । यो लगत्तै दोस्रो बजारमा प्रभु बैंकको साधारणमा परिवर्तित ४१ लाख २६ हजार २०२.८ कित्ता शेयर कारोबारका लागि थपिने छ ।

यस अघि साधारण सभाबाट पारित भैसकेको शेयर संरचना परिवर्तनको प्रस्ताव अनुसार हाल कायम ५५ अनुपात ४५ प्रतिशतको संस्थापक र साधारण शेयरधनीको हिस्सालाई ५१ अनुपात ४९ मा झार्दैछ ।

प्रभु बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड ५५ लाख ७ हजार रुपैंया छ । यो चुक्ता पूँजीका आधारमा हेर्दा प्रभुले संस्थापकको हिस्सा ४ प्रतिशतले घटाउन लागेको हो । संस्थापक शेयरधनीका आधारमा मात्र हेर्दा यो प्रतिशत ७.२७ प्रतिशत हुन आउँछ ।

यसरी शेयर स्वामित्व परिवर्तन गर्दा बैंकका संस्थापक शेयरधनीलाई राम्रो फाइदा हुने देखिएको छ । यस अघि पनि प्रभु बैंकले संस्थापक र साधारण शेयरधनीको हिस्सा ६१.३१ तथा ३८.६९ प्रतिशतबाट ५५ तथा ४५ कायम गर्दा ५६ लाख ११ हजार ८४५ कित्ता संस्थापक शेयरलाई साधारणमा रुपान्तरण गरिसकेको छ ।

नेपाल राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले ५१ प्रतिशत संस्थापक शेयरको हिस्सा बनाउनु पर्ने व्यवस्था छ । यो व्यवस्था अनुसार अब प्रभु बैंकले संस्थापक शेयरलाई साधारण शेयरमा रुपान्तरण गर्ने छैन ।