सिडिएससी प्रमुख कार्यकारी छनौट गर्न गठित समितिले कार्यविधि बनाउँदै


झण्डै ३ महिनादेखि रिक्त रहेको केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) को प्रमुख कार्यकारी अधिकृत छनौट गर्नका लागि गठित समितिले कार्यविधि बनाउने कामलाई तिब्र बनाएको छ ।

झण्डै २ साता पहिले गठित समितिले खुल्ला प्रतिस्पर्धाबाट सिडिएससीको प्रमुख कार्यकारी अधिकृत छनौट गर्नका लागि कार्यविधि तयार गर्न थालेको हो ।

स्रोतका अनुसार समितिले केही दिनमा कार्यविधिलाई अन्तिम रुप दिइ केन्द्रिय निक्षेप प्रणाली सञ्चालक समितिमा बुझाउने छ । सोही कार्यविधिका आधारमा केन्द्रिय निक्षेप प्रणालीले प्रमुख कार्यकारी अधिकृतमा आवेदन खुलाउने छ ।

धितोपत्र बोर्डका अध्यक्ष नियुक्त गरिएका बेला तयार पारिएको कार्यविधि, केन्द्रीय निक्षेप सेवा नियमावली २०६७ का साथै अन्य अभ्यासहरुलाई हेरेर समितिले कार्यविधि बनाउँदैछ ।

केन्द्रीय निक्षेप सेवा नियमावली २०६७ को नियम १८ ले तोकेको योग्यता अनुसार अर्थशास्त्र, वाणिज्य शास्त्र, वित्त, लेखा, व्यवस्थापन वा वाणिज्य कानुन बिषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको उपाधी हासिल गरेको व्यक्ति सिडिएससीको प्रमुख कार्यकारी हुन सक्ने छन् । पूँजी बजार वा उद्योग वा वाणिज्य वा वित्त वा लेखा वा कानुन वा व्यवस्थापन क्षेत्रहरूमध्ये कुनै एक वा एकभन्दा बढी क्षेत्रमा कम्तीमा पाँच बर्षको अनुभव हासिल गरेको हुनुपर्ने नियमालीले व्यवस्था गरेको छ ।

कार्यविधिका आधारमा सिडिएससीले आवेदन माग गरे पछि आवेदकहरुमध्येबाट समितिले केही नामहरु सिडिएससी सञ्चालक समितिलाई सिफरिस गर्नेछ । उक्त सूचीबाट सिडिएससी सञ्चालक समितिले एक जनालाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्नेछ ।

सिडिएससीको प्रमुख कार्यकारी अधिकृत छनौट गर्न नेपाल स्टक एक्सचेञ्जले पाँच सदस्यीय छनौट समिति गठन गरेको थियो । नेपाल स्टक एक्सचेन्जका उपप्रबन्धक निरन्जन फुयाँलको संयोजकत्वमा गठित समितिमा अर्थ मन्त्रालयका तर्फबाट उपसचिव मुकुन्द पोख्रेल, नेपाल धितोपत्र बोर्डबाट निर्देशक नारायण प्रसाद शर्मा, नेप्सेका गिरिराज दाहाल सदस्य छन भने विज्ञ सदस्य मोहन ओझा छन् ।