निक्षेप संकलन र कर्जा परिचालनमा आरबिबि र एनआईसी एशियालाई पछि पार्दै ग्लोबल आइएमई अगाडि

0
Shares

जनता बैंकसँग मर्जर गरि मंसिर २३ गतेदेखि एकीकृत कारोबार थालेको ग्लोबल आईएमई बैंकले निक्षेप संकलनमा एकछत्र रुपमा अगाडि रहँदै आएको सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक र पछिल्लो समय कर्जा परिचालनमा प्रथम बन्दै आएको एनआईसी एशिया बैंकलाई पछाडि छाडेको छ।

बैंकले चालु आवको ६ महिना अवधिमा १ खर्ब ९७ अर्ब ४१ करोड निक्षेप संकलन गरि १ खर्ब ९० अर्ब ५२ करोड ६५ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। बैंक एक्लैको संकलन गरेको कूल निक्षेप संकलन र कर्जा लगानी रकम सबै बैंकको कूल योगफको क्रमश ६.७० र ७.२९ प्रतिशत हुन आउँछ

चालु आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमाससम्म आइपुग्दा सञ्चालनमा रहेको २७ वाणिज्य बैंकले २९ खर्ब ४६ अर्ब २५ करोड ३३ लाख रुपैयाँ निक्षेप संकलन गरि २६ खर्ब १४ अर्ब १ करोड ८ लाख रुपैयाँ कर्जा परिचालन गरेका छन् । यसबाट बैंकहरुले कूल ६५ अर्ब २५ करोड २२ लाख १६ हजार रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेका छन्। बैंकहरुको आर्जन गरेको खुद ब्याज आम्दानी कर्जा लगानी रकमको औसतमा २४.९६२ प्रतिशत देखिन्छ।

  • तेह्र बैंकको निक्षेप संकलन र ९ बैंकको कर्जा लगानी १ खर्ब बढी

चालु आवको ६ महिना १३ वाणिज्य बैंकहरुले १ खर्ब माथि निक्षेप संकलन गरेका छन् भने ९ बैंकले १ खर्ब माथिको कर्जा परिचालन गरेका छन्। 

निक्षेप संकलनका आधारमा अगाडि रहेको ग्लोबल आईएमई बाहेक राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया, नबिल, इन्भेष्टमेन्ट, एभरेष्ट बैंक, कृषि विकास बैंक, सनराइज बैंक, एनएमबि, नेपाल बैंक, प्रभु, हिमालयन र नेपाल एसबिआई बैंकको निक्षेप संकलन रकम १ खर्ब माथि रहेको छ। बाँकी १४ बैंकको निक्षेप संकलन १ खर्ब मुनि रहेकोमा सभिल बैंकको सबैभन्दा कम ४७ अर्ब ७४ करोड रहेको छ।

कर्जा लगानीका आधारमा हेर्दा पनि ग्लोबल बाहेक अन्य ८ बैंकहरु एनआईसी एशिया, राष्ट्रिय वाणिज्य बैंक, नबिल, इन्भेष्टमेन्ट, सनराइज बैंक, कृषि विकास बैंक,एभरेष्ट बैंक र एनएमबि बैंकको कर्जा लगानीको आकार १ खर्ब माथि रहेको छ। बाँकी १८ बैंकको कर्जा लगानी १ खर्ब मुनि रहेकोमा ९ बैंकको ८० अर्बभन्दा बढी छ भने सिभिल बैंकको सबैभन्दा कम ४७ अर्ब ४६ करोड १७ लाख रहेको छ।

  • ६ बैंकले गरे तीन अर्ब माथि खुद ब्याज आम्दानी

यस अवधिमा ६ वाणिज्य बैंकले तीन अर्ब माथि खुद ब्याज आम्दानी गरेका छन्। सबैभन्दा धेरै ब्याज आम्दानी गरेको राष्ट्रिय वाणिज्य बैंकले ५ अर्ब ६ करोड ६ लाख आर्जन गरेको छ ,

दोस्रो स्थानमा रहेको एनआईसी एशियाले पनि ३ अर्ब ६४ करोड ७४ लाख कमाएको छ । ग्लोबल आईएमई, नबिल, कृषि विकास बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले पनि ३ अर्ब माथि खुद ब्याज आम्दानी कमाएका छन्। निक्षेप संकलन र कर्जा लगानीबाट ब्यापार विस्तार गर्दै यी बैंकहरुले उच्च ब्याज आम्दानी गरेका हुन्।

एभरेष्ट, सिद्धार्थ, नेपाल बैंक, एनएमबि, हिमालयन, प्रभु, सानिमा, प्राइम, मेगा, नेपाल एसबिआई र सनराइज बैंकले दुई अर्ब माथि खुद ब्याज आम्दानी आर्जन गरेका हुन्। बाँकी दश बैंकमध्ये सिभिल बैंकले सबैभन्दा कम १ अर्ब १९ करोड २८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको हो।

 

  • बैंकहरुको खराब कर्जा बढ्न थाल्यो, एभरेष्टको सबैभन्दा कम

पछिल्लो समय बैंकहरुको ध्यान सञ्चालकहरुको निर्देशन अनुरुप नाफा कमाउन लाग्दा बैंकहरुको खराब कर्जा अनुपात बढ्न थालेको देखिएको छ । पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकहरुको औसत खराब कर्जा अनुपात १.६३ प्रतिशत पुगेको छ ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको सबैभन्दा धेरै ४.७७ प्रतिशत खराब कर्जा अनुपात रहेको छ । सरकारी बहुमत रहेको कृषि विकास बैंकको ३.९१ प्रतिशत, खराब संस्था सकारेको प्रभु बैंकको ३.१२ प्रतिशत, इटालियन ठेकेदार र तनहुँ हाइड्रोमा फसेको नेपाल इन्भेष्टमेन्ट बैंकको २.९० प्रतिशत, चार विकास बैंकहरु समाहित गरेको एनसीसी बैंकको २.८२ प्रतिशत, सिभिल बैंकको २.६९ प्रतिशत र नेपाल बैंकको २.६६ प्रतिशत अनुपात रहेको वित्तीय विवरणमा उल्लेख छ ।

९ वाणिज्य बैंकको खराब कर्जा अनुपात मात्र १ प्रतिशतभन्दा तल रहेको छ । जसमध्ये एभरेष्ट बैंकको सबैभन्दा कम ०.१६ प्रतिशत रहँदा स्ट्याण्डर्ड चार्टर्ड, नेपााल एसबिआई, सानिमा, माछापुच्छ्रे, नबिल, लक्ष्मी र सिटिजन्स बैंकले १ प्रतिशतभन्दा थोरै खराब कर्जा अनुपात कायम गरेका हुन्।

  • बैंकहरुको औसत आधारदर ९.४९ प्रतिशत

यस अवधिमा २७ वाणिज्य बैंकहरुको औसत आधार ब्याजदर ९.४९ प्रतिशत रहेको छ । १० बैंकको आधार ब्याजदर १० प्रतिशतभन्दा धेरै हुँदा अन्य १० बैंकको पनि ९ प्रतिशत बढी छ ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको आधार ब्याजदर सबैभन्दा कम ६.६० प्रतिशत रहेको छ । यस्तै स्ट्याण्डर्ड चार्टर्डको ७.३३ प्रतिशत, नेपाल बैंकको पनि ७.८२ प्रतिशत रहेको छ।

  • औसत कोषको लागत ६.९० प्रतिशत

यस अवधिमा २७ बैंकको कोषको लागत औसतमा ६.९० प्रतिशतमा झरेको छ । कुनै बेला अधिकांश बैंकहरुको लागत ९ प्रतिशत बढी रहेकोमा हाल सिभिल बैंकको ८ प्रतिशत माथि भएपपनि अन्य धेरै बैंकको सात प्रतिशतको बिन्दुमा रहेको छ।

वित्तीय विवरण अनुसार सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको निक्षेप संकलन लागत सबैभन्दा कम ४.०५ प्रतिशत रहेको छ । सरकारी कर्मचारी र सरकारी बचत र तलब वितरणको रकम समेत सो बैंकमा धेरै जम्मा गरिने भएकाले पनि बैंकको निक्षेप संकलन लागत अन्य बैंकहरुको भन्दा कम देखिएको हो।

यसैगरि विदेशी स्वामित्वको स्ट्याण्डर्ड चार्टड बैंक नेपालको ४.७७ प्रतिशत र अर्को आधार बढी सरकारी बैंक स्वामित्व रहेको नेपाल बैंकको लागत पनि ५.१९ प्रतिशत भन्दा कम रहेको छ। अन्य बैंकहरुाके भने ६ प्रतिशतभन्दा बढी लागत रहेको छ।

  • दुई बैंकको कर्जा विस्तारमा सीमा लाग्दा अन्य आठ बैंक पनि कसिलो अवस्थामा

यस अवधिमा मेगा बैंक र सेञ्चुरी कमर्सियल बैंकको कर्जा निक्षेप अनुपात ७९ प्रतिशतभन्दा धेरै पुगेर कर्जा विस्तारको सीमा नजिक रहँदा अन्य आठ वाणिज्य बैंकहरुको ग्लोबल आईएमई, माछापुच्छ्रे, कुमारी, स्ट्याण्डर्ड चार्टड, सिद्धार्थ, लक्ष्मी, एनआईसी एशिया र सानिमा बैंकको पनि ७८ प्रतिशत भन्दा धेरै कर्जा निक्षेप अनुपात पुगेको छ।

नेपाल राष्ट्र बैंकले सिडि अनुपात ८० प्रतिशत कायम गरेको तथा बफर रिसाईक्लिकल बफर अन्तगर्त १३ प्रतिशत पूँजीकोष कायम गर्नुपर्ने व्यवस्थाले हाल बैंकहरुको कर्जा विस्तार कसिलो बन्ने अवस्था देखिन्छ।

यद्यपी विगतका वर्षहरुमा भन्दा हाल बैंकिङ्ग प्रणालीमा लगानीयोग्य तरलता रकम सहज रहेको तथा बैंकहरुको लागत समेत घटेको अवस्थामा विगतका वर्षहरुमा भन्दा हाल सरल ब्याजदरमा ऋणीले ऋण प्राप्त गर्नसक्ने अवस्था देखिन्छ।