दोस्रो त्रैमाससम्ममा कुन लघुवित्तले कति कमाए नाफा ? यस्तो छ तुलनात्मक अवस्था

0
Shares

नेप्सेमा सूचीकृत ५० वटा लघुवित्त कम्पनीहरुमध्ये फागुन १ गतेसम्ममा ४७ लघुवित्त कम्पनीले आफ्नो अर्ध-वार्षिक वित्तीय विवरण सार्वजनिक गरेका छन्। नाडेप लघुवित्त, नेपाल सेवा र नेपाल एग्रो लघुवित्तले हालसम्म वित्तीय विवरण प्रकाशन नगरेकाले तीन लघुवित्तको विवरण समावेश गरिएको छैन।

चालु आवको ६ महिनाको अवधिमा ४७ वटा लघुवित्त कम्पनीको कूल चुक्ता पूँजी १७ अर्ब १८ करोड २२ लाख ४२ हजार रुपैयाँ रहेको छ। यस अवधिमा माइक्रोफाइनान्सहरुले ३ अर्ब ३९ करोड ७७ लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

लघुवित्त कम्पनीहरुको औसत चुक्ता पूँजी ३६ करोड ९८ लाख ३४ हजार, खुद नाफा ७ करोड २२ लाख ९२ हजार रुपैयाँ र वार्षिक प्रतिशेयर आम्दानी ३२.१६ रुपैयाँ कायम भएको छ ।यसैगरि औसत खराब कर्जा अनुपात १.७७ प्रतिशत, प्रतिशेयर नेटवर्थ १६५.६१ रुपैयाँ, र लगानीमा प्रतिफल २०.४० प्रतिशत रहेको देखिन्छ।

  • दश लघुवित्तको प्रतिशेयर आम्दानीमा ५० रुपैयाँ बढी, फरवार्ड शिर्ष स्थानमा

यस अवधिमा ४७ मध्ये १० वटा लघुवित्त कम्पनीहरुले वार्षिक ५० रुपैयाँभन्दा बढी प्रतिशेयर आम्दानी कायम गरेका छन्। ३७ लघुवित्तको वार्षिक इपिएस ५० भन्दा कम रहेको छ।

फरवार्ड कम्युनिटी लघुवित्त, स्वावलम्बन लघुवित्त, जनउत्थान लघुवित्त, छिमेक लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, साना किसान लघुवित्त, निर्धन उत्थान लघुवित्त, लक्ष्मी लघुवित्त, विजय लघुवित्त र उन्नति लघुवित्तले वार्षिक ५० रुपैयाँभन्दा बढी इपिएस कायम गरेका हुन् ।

यस अवधिममा घोडीघोडा लघुवित्तको सबैभन्दा कम ३.२२ रुपैयाँ इपिएस रहेको छ भने किसान माइक्रोफाइनान्स र गुँरास लघुवित्त कम्पनीको पनि १० रुपैयाँभन्दा कम इपिएस रहेको छ ।

  • आठ लघुवित्तले कमाए १० करोड बढी नाफा, छिमेकको सबैभन्दा उच्च

चालु आवको ६ महिना अवधिमा ४७ मध्ये ८ वटा लघुवित्त कम्पनीहरुले १० करोड बढी नाफा आर्जन गरेका छन्। जसमा छिमेक, निर्धन उत्थान, साना किसान लघुवित्त, स्वावलम्बन, डिप्रोक्स, फरवार्ड, आरएमडिसी र ग्रामीण विकास लघुवित्त रहेका छ ।

छिमेक लघुवित्तले सबैभन्दा धेरै ४८ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाउँदा निर्धन उत्थानले ४० करोड ४१ लाख, साना किसान ३० करोड १७ लाख, स्वावलम्बल २६ करोड ४४ लाख, डिप्रोक्स लघुवित्त २४ करोड ६९ लाख, फरवार्ड २० करोड ९ लाख, आरएमडिसी १४ करोड ६१ लाख, र ग्रामीण विकासले ११ करोड १८ लाख खुद नाफा कमाएको हो।

३१ लघुवित्त कम्पनीहरुले पाँच करोडभन्दा कम नाफा कमाएका छन्। जसमा सबैभन्दा कम घोडीघोडा लघुवित्तले ४ लाख ४५ हजार कमाउँदा गुँरास, सर्पोट, किसान, आरम्भ र आधिँखोला लघुवित्तको नाफा १ करोडभन्दा कम रहेको छ।

दश करोडभन्दा कम -पाँच करोडभन्दा बढी नाफा कमाउने लघुवित्तको संख्या ८ रहेको छ ।

  • नेशनल माइक्रोफाइनान्समा गरिएको लगानीमा प्रतिफल उच्च, अन्य पाँचको ROE पनि ३० रुपैयाँ बढी

चालु आर्थिक वर्षको अर्धवार्षिक वित्तीय विवरण सार्वजनिक गरेका ४७ मध्ये नेशनल माइक्रोफाइनान्स कम्पनीमा शेयरधनीको लगानीमा प्रतिफल (आरओई) सबैभन्दा राम्रो देखिएको छ। कम्पनीमा गरिएको १०० रुपैयाँ लगानीले वार्षिक ३७.८२ रुपैयाँ आर्जन गर्ने गरेको देखिएको हो।

यसैगरि ग्लोबल आईएमई लघुवित्त, उन्नति माइक्रोफाइनान्स, विजय लघुवित्त, छिमेक लघुवित्त र मिर्मिरे लघुवित्तमा गरिएको लगानीबाट पनि ३० रुपैयाँ बढी प्रतिफल प्राप्त हुने देखिएको हो।

३० रुपैयाँभन्दा कम २० रुपैयाँभन्दा बढी प्रतिफल कमाउने लघुवित्तको संख्या यस अवधिमा १८ रहेको छ । यसैगरि २० लघुवित्तमा २० रुपैयाँभन्दा कम १० रुपैयाँभन्दा बढी प्रतिफल पाइने गरेको छ भने ३ लघुवित्तको प्रतिफलदर १० रुपैयाँभन्दा कम रहेको छ। गुँरास लघुवित्त, घोडीघोडा लघुवित्त र कालिका माइक्रोक्रेडिट लघुवित्तमा गरिएको लगानीबाट १० रुपैयाँभन्दा कम प्रतिफल छ।

लगानीमा प्रतिफल अर्थात आरओईले कुनै पनि संस्थामा गरिएको १०० रुपैयाँ लगानी गर्दा त्यसले कमाउने आम्दानीलाई जनाउँछ।

नोट: चुक्ता पूँजी र खुुद नाफालाई हजारमा देखाइएको छ भने प्रतिशेयर आम्दानी, नेटवर्थ, र लगानीमा प्रतिफललाई रुपैयाँमा तथा खराब कर्जालाई प्रतिशतमा देखाइएको हो।

  • चार लघुवित्तले कटाए १ अर्ब चुक्ता पूँजी, छिमेक र निर्धन उत्थानको डेढ अर्ब

वित्तीय विवरण अनुसार यस अवधिमा ४ लघुवित्त कम्पनीहरु छिमेक, निर्धन उत्थान, डिप्रोक्स र साना किसान लघुवित्तले आफ्नो चुक्ता पूँजी १ अर्ब नघाएका छन्। जसमध्ये छिमेक र निर्धन उत्थानको १ अर्ब ५० करोड र डिप्रोक्स र साना किसानको १ अर्ब रहेको छ।

ग्रामीण विकास लघुवित्त, आरएमडिसी, मेरो माइक्रोफाइनान्स, फस्ट माइक्रोफाइनान्स, स्वावलम्बन, आरएसडिसी र फरवार्ड लघुवित्तको चुक्ता पूँजी ५० करोड माथि  छ ।

अझैपनि ७ लघुवित्त कम्पनीको चुक्ता पूँजी १० करोड रुपैयाँभन्दा कम रहेको छ । घोडीघोडा लघुवित्तको सबैभन्दा कम २ करोड ७६ लाख २५ हजार चुक्ता पूँजी रहेको छ। यस्तै जनउत्थान लघुवित्त, आरम्भ माइक्रोफाइनान्स, सपोर्ट, समीट र गुँरास लघुवित्तको चुक्ता पूँजी १० करोडभन्दा कम छ। १० करोडभन्दा बढी -५० करोडभन्दा कम चुक्ता पूँजी हुने लघुवित्तको संख्या २९ वटा रहेको छ।

  • दुई लघुवित्तको खराब कर्जा शुन्य, ६ वटाको अधिक

वित्तीय विवरण सार्वजनिक गरेका ४७ मध्ये २ लघुवित्तको खराब कर्जा अनुपात शुन्य प्रतिशत रहेको छ भने ६ वटा लघुवित्त कम्पनीको ३ प्रतिशत भन्दा धेरै रहेको छ। सूर्योदय लघुवित्तले भने वित्तीय विवरणमा खराब कर्जा अनुपात उल्लेख गरेको छैन।

लघुवित्त कम्पनीहरुलाई थोक कर्जा प्रवाह गर्ने फस्ट र आरएमडिसी लघुवित्तको खराब कर्जा अनुपात शुन्य देखिएको हो। लघुवित्त कम्पनीहरुलाई थोक कर्जा प्रवाह गर्ने आरएसडिसीको भने हाल खराब कर्जा अनुपात ०.१९ प्रतिशतमा बढेको छ । यसअघि यस लघुवित्तको पनि शुन्य रहँदै आएको थियो।

उता किसान लघुवित्त, ग्रामीण विकास लघुवित्त, आशा लघुवित्त, महिला सहयात्रा, कालिका माइक्रोक्रेडिट, र सिभल लघुवित्तको खराब कर्जा ३ प्रतिशत बढी देखिएको हो। जसमा किसानको सबैभन्दा धेरै ४.६० प्रतिशत रहेको छ।

१ प्रतिशतभन्दा धेरै ३ प्रतिशतभन्दा कम खराब कर्जा अनुपात हुने लघुवित्तको संख्या २९ वटा रहेको छ। जसमा ९ वटाको २ प्रतिशतभन्दा बढी रहेको छ।

  • दश लघुवित्तको प्रतिशेयर नेटवर्थ २०० रुपैयाँ माथि

वित्तीय विवरण अनुसार ४७ मध्ये १० लघुवित्तको प्रतिशेयर नेटवर्थ २०० रुपैयाँभन्दा बढी रहेको छ। ३६ लघुवित्तको प्रतिशेयर नेटवर्थ १०० रुपैयाँभन्दा बढी र २०० रुपैयाँभन्दा कम रहेको छ । घोडीघोडा लघुवित्तको प्रतिशेयर नेटवर्थ अंकति मूल्य भन्दा ७ रुपैयाँ कम अर्थात ९३.०३ रुपैयाँ रहेको छ।

यस अवधिमा फरवार्डको सबैभन्दा धेरै २७४.४१ रुपैयाँ प्रतिशेयर नेटवर्थ रहेको छ भने आरएमडिसी, साना किसान लघुवित्त, स्वावलम्बन, महुली सामुदायिक, जनउत्थान लघुवित्त, नेरुडे, मिर्मिरे, छिमेक र निर्धन उत्थानको प्रतिशेयर नेटवर्थ २०० रुपैयाँभन्दा बढी रहेको छ