बैंक अफ काठमाण्डूले रजत जयन्तीका अवसरमा एक करोड सहयोग गर्ने


बैंक अफ काठमाण्डू लिमिटेड (BOKL) ले आफ्नो २५ औं वार्षिकोत्सव मनाएको छ । सोही अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत काठमान्डू इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आइसीयु कक्ष निर्माण गर्न १ करोड रुपैंया आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले उक्त रकमको चेक संस्थाका संस्थापक एवं अध्यक्ष प्रोफेसर डा. भगवान कोइरालालाई हस्तान्तरण गरेका छन् । साथै, नेपाल आर्थिक पत्रकार समाजलाई पनि आर्थिक पत्रकारीताको क्षेत्रमा महिला पत्रकारहरुको समावेशिता बढाउन र उनीहरुको क्षमता अभिवृद्घि गर्न चाहिने तालीम प्रदान गर्न ५ लाख रुपैंया सहयोग दिने घोषणा गर्दै सेजनका अध्यक्ष भिम प्रसाद गौतमलाई चेक हस्तान्तरण गरेको छ ।

राष्ट्र बैंकका गर्भनर नेपालले बैंकको २५औं वार्षिकोत्सवको लोगो सार्वजनिक गरी बैंकलाई २५औं वर्ष सम्म नेपालको बैंकिङ्ग क्षेत्रमा पु¥याएको योगदानको लागि धन्यवाद सहित आगामी दिनमा बैंकको उत्तरोत्तर प्रगतिका लागि शुभकामना ब्यक्त गरेका थिए ।

बैंक अफ काठमाण्डू लिमिटेडको हाल १० एक्टेन्सन काउन्टर सहित देशभर ८७ शाखा र ७८ एटीएम रहेका छन् ।