चालु आर्थिक वर्ष (आव) को ६ महिना अवधिमा नेप्सेमा सूचीकृत ३३ मध्ये २९ कम्पनी चालु आवको ६ महिना अवधिको वित्तीय विवरण सार्वजनिक गरेका छन्। जसमा धेरै सूचाङ्कमा बुटवल पावर अग्रस्थानमा देखिएको छ ।
पञ्चकन्या माई हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हालसम्म पनि वित्तीय विवरण सार्वजानिक गरेका छैनन्।
वित्तीय विवरण अनुसार बुटवल पावर खुद नाफा, प्रतिशेयर आम्दानीमा अगाडि रहेको छ। २ अर्ब ६८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस हाइड्रोले यस अवधिमा ८५ करोड ८८ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेर वार्षिक ६४ रुपैयाँ प्रतिशेयर आम्दानी कायम गरेको छ।
- आठ हाइड्रो नोक्सानीमा, खानीखोला हाइड्रोको सबैभन्दा बढी
यस अवधिमा २९ मध्ये ८ वटा कम्पनी नोक्सानीमा गएका छन् भने १९ हाइड्रोको नाफा १ करोड रुपैयाँभन्दा धेरै रहेको छ । बरुण र हिमालय उर्जा विकासले लाखमा मात्र नाफा कमाएका छन्।
यस अवधिमा खानीखोला हाइड्रोको सबैभन्दा बढी ६ करोड ६८ लाख ऋणात्मक रहेको छ । अपर तामाकोशी, रसुवागढी, दिब्यश्वरी, माउन्टेन हाइड्रो, सान्जेन विद्युत र आँखुखोला जलविद्युत कम्पनीले नोक्सानी ब्यहोरेका हुन्।
बुटवल पावरले ८५ करोड ८८ लाख खुद नाफा आर्जन गर्दा चिलिमेको ३९ करोड ६६ लाख, सानिमा माई २८ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
- अपर तामाकोशी सबैभन्दा धेरै चुक्ता पूँजी
चुक्ता पूँजीका आधारमा भने अपर तामाकोशी सबैभन्दा धेरै १० अर्ब ५९ करोड रहेको छ । रसुवागढी दोस्रो, चिलिमे तेस्रो, साञ्जेन चौंथो र बुटवल पावर पाँचौ स्थानमा रहेका छन् ।
यसैगरि सानिमा माई, युनिभर्सल पावर, अरुण काबेली, नेशनल हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल, अपि पावर, युनाइटेड मोदी हाइड्रोपावर र हिमालयन पावर पार्टनरको चुक्ता पूँजी १ अर्ब माथि रहेको छ । बाँकी १६ कम्पनीको चुक्ता पूँजी १ अर्बभन्दा कम रहेको छ।
- ११ कम्पनीको शेयरमूल्य अंकित मूल्यभन्दा कम, चिलिमेको उच्च
सूचीकृत कम्पनीमध्ये ११ जलविद्युत कम्पनीको शेयरमूल्य अंकित मूल्य १०० रुपैयाँभन्दा कम छ । कुनै बेला ५० रुपैयाँभन्दा तल झरेको खानिखोला हाइड्रोपावरको सबैभन्दा कम ५२ रुपैयाँ रहेको छ। यसैगरि आखुँखोला, दिब्यरेश्वरी, युनियन, नेशनल, युनिभर्सल, नेशनल, रिडी, छ्याङ्दी, माउन्टेन हाइड्रो, अरुण भ्याली र बरुण हाइड्रोको शेयरमूल्य १०० भन्दा कम रहेको छ ।
चिलिमे जलविद्युतको शेयरमूल्यमा सबैभन्दा अगाडि रहेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता ४३० रुपैयाँ रहेको छ । दोस्रो ठूलो शेयरमूल्य बुटवल पावरको, तेस्रो अपर तामाकोशी, चौंथो सानिमा माइ हाइड्रोपावर, पाँचौं राधी विद्युतको शेयरमूल्य रहेको छ ।
- सात कम्पनीको मूल्य आम्दानी अनुपात ऋणात्मक
पुस मसान्तको प्रतिवेदन अनुसार अपर तामाकोशी, साञ्जेन, रसुवागढी, माउन्टेन हाइड्रो नेपाल, आँखुखोला, दिब्यश्वरी, र खानिखोला हाइड्रोपावरको मूल्य आम्दानी अनुपात (पिई) मा ऋणात्मक रहेको छ । सातवटै कम्पनीको नाफा ऋणात्मक रहेकाले पिई ऋणात्मक रहेको हो।
हिमालय उर्जा विकास कम्पनीको आम्दानीको हिसावले शेयरमूल्य सबैभन्दा बढी छ। ४२ पैसा वार्षिक इपिएस रहेको कम्पनीको शेयरमूल्य फागुन ८ गतेको बजार भाउ अनुसार १०९ रहेको छ जुन कमाइको तुलनामा २५९ गुणा बढी हो। यसैगरि हिमालयन पावर पार्टनरको शेयरमूल्य आम्दानीको तुलनामा १५९ गुणा महङ्गो छ । कम्पनीको विद्युत उत्पादन नभएकाले नाफा शुन्य रहेको छ ।
२० हाइड्रोको पिई अनुपात ३० भन्दा कम रहेको छ भने सबैभन्दा कम सिनर्जी पावरको ५.५० प्रतिशत रहेको छ ।
- बाह्र कम्पनीको जगेडा नोक्सानी, चिलिमेको मजबुत
यस अवधिमा १२ कम्पनीको जगेडा कोषको आकार ऋणात्मक देखिएको छ । बुटवल पावरको जगेडा कोषमा सबैभन्दा धेरै ४ अर्ब २९ करोड रुपैयाँ सञ्चित हुँदा दोस्रो ठूलो जगेडा कोष चिलिमेको छ।
यस कम्पनीको जगेडा कोषमा ३ अर्ब ९४ करोड ३७ लाख, सानिमा माइको ८२ करोड ० लाख, राधी विद्युत १५ करोड ३२ लाख, अपि पावर ११ करोड ५६ लाख, अरुण भ्याली ११ करोड ६ लाख र ङादी ग्रुप पावरको १० करोड ८९ लाख रहेको छ । बाँकी ९ कम्पनीको जगेडा कोष १० करोडभन्दा कम रहेको छ ।
प्रतिक्रिया