शेयर बजारमा कहाँबाट आयो यति धेरै पैसा ? हल्लाका पछि कुद्दा उच्च जोखिम

0
Shares

नेपाल स्टक एस्सचेञ्ज (नेप्से)मा फागुन ११ गते आइतबार ३ अर्ब ६० करोडको काराबार भएको छ । नेप्सेमा एकैदिन यति ठूलो परिमाणको शेयर किनबेच भएको पहिलो पटक हो ।

यसअघि गत बिहीबार फागुन ८ गते शेयर बजारमा एकैदिन २ अर्ब ७८ करोडको कारोबार भएर रेकर्ड कायम गरेको थियो । उक्त रकेर्ड यो साता बजार खुलेको पहिलो दिनमै तोडिएको छ । उच्च कारोबार भएको बजारमा नेप्से सूचक समेत ६९.५६ अंकले बढेर १५०४.१४ बिन्दुमा पुगेको छ ।

गएको साता मात्रै नेप्सेमा ५ कारोबारदिनमा ११ अर्ब बढीको शेयर किनबेच भएको थियो । दुई महिना अगाडि दैनिक ३०/३५ करोडको कारोबार हुने बजारमा अहिले दैनिक दुई अर्ब बढीको कारोबार हुन थालेको छ ।

आखिर शेयर बजारमा कहाँबाट आयो यति धेरै रकम ?

शेयर बजार सुधारीदै जाँदा बजारमा नयाँ नयाँ लगानीकर्ता प्रवेशको क्रम बढेको साथै पुराना लगानीकर्ताले समेत लगानीको क्रम बढाएकाले कारोबारमा बढोत्तरी आएको ब्रोकरहरुको भनाई छ । साथै तरलता अभावका कारण अन्य क्षेत्रहरुमा लगानी विस्तार हुन नसकेको अवस्था शेयर बजारको बढ्दो गतिले केहि अल्पकालिन लगानीकर्ता समेत बजारमा भित्रिएको उनीहरुको भनाई छ ।

अर्कातर्फ शेयर ब्रोकरहरुले मार्जिन कारोबारका लागि पाएको दश करोडको लिमिटको अधिकतम सदुपयोग भएकाले कारोबार रकम निरन्तर बढेको हो । अहिले ब्रोकर मार्फत परिचालन हुने ओभर ड्राफ्ट रकमको ‘रोटेशन’ले नै कारोबारमा बढोत्तरी आएको एक अग्रज लगानीकर्ताले बताए । ‘अहिले एउटा ब्रोकरले दश करोड बराबरको ओभर ड्राफ्ट चलाउन पाउँछन् । ५० ब्रोकरले चलाउँदानी ५ अर्ब हु्न्छ, यहि रकमको परिचालनले नै बजार बढेको हो ।’ उनले भने । साथै उनले अल्पकालिन कारोबारीहरुले दुई तीन दिनमै शेयर उठाउने र बेच्ने गरेकाले पनि कारोबार रकममा बढोत्तरी आएको हो।

शेयर बजारका लगानीकर्ताले नरुचाएका अर्थमन्त्री डा. युवराज खतिवडा बाहिरिने खबरहरु सार्वजनिक भईरहदा बजारमा चलखेल गर्नेहरु झनै सक्रिय बन्दा बजार उकालो लागेको हो। खतिवडाको राष्ट्रिय सभा सदस्यको अवधि सकिएपछि उनको ठाउँमा बामदेव गौतमलाई ल्याउने खबरहरु ब्रोकर कम्पनीहरुमा चर्चाको विषय बनेका छन्।

तर, एक जना अग्रज लगानीकर्ताले अर्थमन्त्रीकै कारणले विगतमा बजार घटेको र अहिले उनी बाहिरिने हल्लाले बजार बढेको भन्न नमिल्ने बताउँछन् । विगतमा भन्दा अहिले बजार सुधारका कामहरु अघि बढेकाले पनि लगानीकर्ताको मनोबल बढेको उनको भनाई छ । बजारका हल्ला भन्दा पनि लगानीकर्ताको मनोबल उच्च हुनुपर्छ । ती लगानीकर्ताले भने ।

तर, बजारमा उच्च अंकको निरन्तरको सुधार र न्यून करेक्सनले शेयर लगानीकर्ता होसियार हुनु पर्ने देखिन्छ । शेयर बजारमा वियर चक्र सकिएको विश्लेषण गरिएको भएपनि निरन्तर आएको उच्च सुधारले बजारमा जोखिम ल्याउने विषयमा पनि विष्लेषकहरु सहमत छन ।

अहिले बढेको बजारमा लगानी गरेका कारोबारीले शेयर बिक्री गर्न थालेको खण्डमा साना लगानीकर्ता फस्ने जोखिम हुन्छ,”एक विश्लेषकले भने,“अहिलेको सुधारले जोखिम वढाएको हुँदा दिर्घकालीन सुधार हो भन्न सक्ने अवस्था छैन ।” शेयर बजारको सुधार दिर्घकालीन हुन्थ्यो भने निरन्तर उच्च अंकको सुधार नहुने उनको विश्लेण छ ।