एक सातामा शेयर बजारको आकार २ खर्बले बढ्यो, आइतबार मात्रै ८८ अर्बको उछाल

0
Shares

धितोपत्र बजारको आकार दिन प्रतिदिन विस्तार हुँदै गएको छ। शेयर बजारको पहुँच विस्तारसँगै शेयर मूल्यमा सुधार आएपछि समग्र बजारको आकार ठूलो हुँदै जान्छ।

यो वर्षको फागुन १ गते देखि ११ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ७ दिन कारोबार भएको छ। यो अधिमा शेयर बजारको आकार करिब २ खर्ब ४ अर्ब १५ करोड रुपैयाँले बढेको छ।

सर्वसाधारण शेयरको मात्र बजार पूँजीकरण मापन गर्ने फ्लोट मार्केट पूँजीकरण पनि सात कारोबार दिनमा ७६ अर्ब ८५ करोड रुपैयाँले बढेको छ। फागुन १ गते ६ खर्ब २५ अर्ब २८ करोड रहेकोमा फागुन ११ गते आइतपुग्दा ७ खर्ब २ अर्ब १३ करोड रुपैयाँ पुगेको छ।

यो अवधिमा नेप्से परिसूचक फागुन १ गते एक हजार ३४४ दशमलव ५९ अंकमा थियो । फागुन महिनाको ११ गते आइतबार नेप्सेको कारोबार बन्द हुँदा एक हजार ५०४ दशमलव १४ अंकमा पुगेको छ। ७ दिनको अवधिमा नेप्से परिसूचक १५९.५५ अंकले बढ्दा बजारको आकार पनि १७ खर्ब १५ अर्ब ७२ करोड रुपैयाँबाट बढेर १९ खर्ब १९ अर्ब ८७ करोड पुगेको छ । ७५ अंकसम्म बढेर ७० अंकमा बन्द भएको बजारमा आइतबारमात्रै बजार पूँजीकरण ८८ अर्ब ७८ करोड रुपैयाँले वृद्धि भएको हो।

फागुन १ गते एक अर्ब ७७ करोडको शेयर खरीद बिक्री भएकोमा एक अर्ब ८३ करोड रुपैयाँले बढेर आइतबारको कारोबार रकम ३ अर्ब ६० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । नेप्सेको कारोबार रकममा आएको सुधारले शेयर लगानीकर्ताको मनोबल सकारात्मक देखिन्छ । लामो समयसम्म निरन्तर घटेको नेप्से पछिल्लो समयमा सुधारको गतिमा आएको छ । तर, नेप्सेमा आएको उच्च अंकको सुधारले बजारमा जोखिम पनि उत्तिकै बढाएको जानकारहरु बताउँछन्।

बजारमा आउने उच्च अंकको सुधारमा जोखिम पनि उच्च हुने भएकाले विशेष गरि नयाँ लगानीकर्ता बढी सचेत र सजग भएर लगनी गर्नुपर्ने हुन्छ । किनभने ठूला तथा खेलाडी लगानीकर्ताहरुले बढ्दो बजारमा शेयर बिक्री गरेर बाहिरिने हुँदा यस्तो जोखिममा साना तथा नयाँ लगानीकर्ता फस्ने गरेको विगतको अनुभवले पनि देखाउाछ। एक विश्लेषकले भने।

नेप्से परिसूचक बढ्दा बजार पूँजीकरण पनि स्वभाविक रुपमा बढ्छ । नेप्सेको बजार पूँजीकरण गणना गर्दा सूचीकृत कम्पनीको शेयर मूल्यको महत्वपूर्ण भूमिका हुन्छ । बजार पूँजीकरण भनेको शेयर बजारमा रहेको सम्पत्तिको आकार हो। नेप्सेमा सूचीकृत शेयरहरुको कूल बजार मूल्य अर्थात सम्पूर्ण सूचीकृत कम्पनीको शेयर मूल्य र शेयर संख्याको गुणनफल नै बजार पूँजीकरण मानिन्छ ।

बजार पूँजीकरण बढ्नु भनेको ती दिनमा किन्ने लगानीकर्ताको लागि नाफा भएको बुझिन्छ। बजार पूँजीकरण बढ्नु भनेको शेयरधनीको सम्पत्ति बढेको हो। बजार पूँजीकरणले समग्र बजारको अवस्थालाई समेत देखाउने भएकाले लगानीकर्ताको आम्दानी तथा नोक्सानीलाई प्रत्यक्ष मूल्याङ्कन गर्न सकिन्छ। नेप्से परिसूचक, बजार पूँजीकरण र कारोबार रकम सबैमा सुधार आउनु भनेको शेयर लगानीकर्ताका लागि सकारात्मक हो ।