सिटिजन्स बैंकद्वारा धरानको पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयलाई आर्थिक सहयोग

0
Shares

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले धरान उपमहानगरपालिकाको वार्ड नं १५ ज्ञानचक्षु मार्ग स्थित पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयलाई ८० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सोमबार विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रमका बीच उक्त सहयोग रकम हस्तान्तरण गरेको हो।

सो विद्यालयले दृष्टिविहिन, न्यूनदृष्टि लगायत बहुअपाङ्ग बालबालिकाहरुको लागि गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको छ । शारिरिक रुपमा अशक्त विद्यार्थीहरूलाई विशेष माध्यमद्वारा अध्ययन अध्यापन गराईने यस विद्यालयले सम्पूर्ण विद्यार्थीहरु आवासीय रूपमा रही अध्ययन गर्ने व्यवस्था मिलाएको छ ।

यस विद्यालयको छात्रवासमा विद्यार्थीहरु भुईमा बसेर पढ्न जाडोको समयमा कस्टप्रद हुने भएकोले उक्त सहयोग रकमबाट छात्रवासमा न्यानो कार्पेट राख्नुका साथसाथै शारिरिक रुपमा अशक्त विद्यार्थीहरूको लागि पानी फिल्टर गर्ने यन्त्रको खरिद गर्ने कुरा विद्यालय प्रशासनले जनाएको छ ।

शुद्ध खानेपानीको अभावमा पठन पाठनमा भई रहेको अवरोधलाई अन्त्य गर्न यस किसिमको सहयोगले टेवा पुग्ने विश्वास बैंकले लिएको छ । यस किसिमको सहयोगबाट त्यहाँ अध्ययन गर्दे आएका विद्यार्थीहरुको जिवनस्तरमा सुधार आउने तथा चिसोबाट जोगिन मद्दत हुनेछ । नेपाल सरकारले अवलम्बन गरेको ’सुखी नेपाली र सम्बृद्ध नेपाल’ को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास बैंकले व्यक्त गरेको छ ।

यस सहयोगले सामाजिक अपहेलना र तिरस्कार भोगेर जीवनयापन गरिरहेका निमुखा, गरीब र दयनीय आर्थिक अवस्था भएका अपाङ्ग बालबालिकाहरुको मनोवल थप उच्च हुने कुरा विद्यालयले जनाएको छ ।

बैंकले यसअघि आइतबार डोल्पाको सरस्वति माध्यमिक विद्यालयलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको थियो।