शेयर बजारमा प्रयोग हुने ‘बुल ट्रयाप’ के हो ? कसरी बच्न सकिन्छ ?

0
Shares

शेयर बजारमा प्रयोग हुने विभिन्न शब्दावलीमध्ये एक हो धूर्त फन्दा अर्थात बुल ट्रयाप। बुल ट्रयाप शेयर बजारमा क्रियाशिल ठूला लगानीकर्ताहरुले गर्ने एक चलखेल हो। शेयर बजारमा क्रियाशिल अल्पकालीन लगानीकर्ता वा भनौं एउटा चलाख समूहहरुको झुण्ड जसले आफ्नो सीमित उदेश्य पूरा गर्नका लागि कृतिम खरीद चाप सिर्जना गरि नाफा कमाउने उद्देश्यका साथ सूचक वा धितोपत्रको मूल्य बढाउने काम यसमा गरिन्छ। 

जसमा कुनै निश्चित समूहले शेयर बजार अथवा कुनै पनि धितोपत्रको मूल्य अब बढेको बढ्यै गर्छ भन्ने किसिमले लगातार बढाइन्छ। ती कम्पनीको शेयरमूल्य यसरी बढाइन्छ कि आम लगानीकर्ताहरुमा अब शेयर बजार अथवा कम्पनीको शेयरमूल्य बढ्छ भन्ने विश्वस्त हुनेगरी बढाइन्छ। यस्तो अवस्थामा सो कम्पनीहरुको मूल्य घट्छ भन्ने सोच समेत कमजोर हुनेगरि लगातार मूल्य बढाइने गरिन्छ।

एउटा निश्चित बिन्दुसम्म बढोत्तरी भैसकेपछि नेप्से सूचक वा सम्बन्धित कम्पनीको शेयरमूल्य पुनः बढाउन सुरु गरिएको मूल्यसम्म नै झर्नेगरि तल्लो स्तरमा घटाउने काम हुन्छ। मुनाफाको अति लोभ वा बजारप्रतिको उत्साहले कहिलेकाहीँ उच्च मूल्यको पासो वा बुल ट्रयापमा जो कोही पनि पर्नसक्छ।

विशेष गरी बुल ट्रयापमा नवप्रवेशी तथा शेयर बजारमा हुने चलखेलको ज्ञान कम हुने लगानीकर्ताहरु यसमा बढी फस्ने गर्दछन्। निरन्तरको बजारमा वृद्धिले मूल्य अझ बढ्ने र नाफा हुने लोभ ती लगानीकर्तामा फैलाइने गरिन्छ। विभिन्न सामाजिक सञ्जाल, समूह बनाएर अफवाह फैलाउने काम हुन्छ। नयाँ तथा साना लगानीकर्ताहरुलाई जालमा फसाउन विछ्याउँने यस्तो जालमा ट्रेडरहरु पनि पर्ने सम्भावना पनि रहन्छ। तर ती लगानीकर्ताहरुभन्दा धेरै गुणा बढी बजारको सामान्य ज्ञान समेत नहुने लगानीकर्ता जो अरुको सल्लाहमा शेयर कारोबार गर्छन् ती लगानीकर्ताहरु नराम्रोसँग फस्ने सम्भावना हुन्छ।

नयाँ लगानीकर्तामा कम्पनीको वित्तीय अवस्था (नाफा वृद्धिदर, विगतदेखि वितरण गरेको लाभांश प्रतिशेयर आम्दानी, मूल्य आम्दानी अनुपात) र संस्थागत सुशासनसम्मका कुरामा विशेष ध्यान ध्यान हुँदैछ। जसका कारण सो ट्रयापमा फासेका लगानीकर्ताहरु आफु बुल ट्रयापमा परेको थाहा नपाउँदै धेरै नोक्सानी खाएर बाहिरिन बाध्य हुन्छन्।

धितोपत्रको दोस्रो बजार एकदमै संवेदनशिल क्षेत्र हो। प्रयाप्त ज्ञान र जोखिम लिने क्षमता नभएका लगानीकर्ताहरु बजार प्रवेश गर्दा यस्तै बुल ट्रयापमा परि नोक्सानी ब्यहोरेर आत्महत्या गरेका उदाहरण पनि भेटिन्छन्। त्यसैले त पूर्व प्रधानमन्त्रीहरुले आलोचना खेपेरै भएपनि शेयर बजारको दोस्रो बजारलाई जुवाघरको संज्ञा दिन पनि पछि परेनन्।

अन्य लगानीकर्ताहरुले नाफा आर्जन गरेको देखेर बढ्दो शेयर बजारबाट आफु पनि नाफा कमाउन सक्छु भन्ने भ्रममा परेर बजारमा प्रवेश गर्ने लगानीकर्ता बढी प्रताडीत हुने गरेको पाइन्छ।

बुल ट्रयाप कसरी बच्ने ?

बुलिस बजारको चेपुवामा नयाँ लगानीकर्तालाई पारेर ठूला र पुराना लगानीकर्ताले फाइदा उठाउने काम बुल ट्रयापमा हुने हुनाले साना लगानीकर्ता यसमा सधैं सजग हुन आवश्यक हुन्छ।

शेयर बजारमा लगानीमा शेयर क्रेता र बिक्रेताको निहित स्वार्थगत जोखिम, मूल्य घटबढको जोखिम, कम्पनीको व्यवस्थापन र व्यवसायिक जोखिम सदैव रहन्छ। बुल ट्रयापबाट बच्न विभिन्न प्राविधिक विश्लेषणको समेत सहायता दिन सकिन्छ। कुनैपनि कम्पनीको शेयरमूल्य वृद्धिमा भोल्युम र मैनबत्तीको आकार डोजी स्टार देखिएको छ भने त्यो बुल ट्रयाप हुन सक्छ। त्यसैले कुनै सूचक अथवा कम्पनीको शेयरमूल्य बढ्नु जायज छ कि छैन भन्ने कुरामा सचेत भए यस्ता ट्रयापबाट बच्न सकिन्छ।

त्यसैले बुलिस ट्रेन्डमा ‘ट्र्याप’ मा पर्नबाट जोगिन निम्म कुरामा ध्यान दिन आवश्यक हुन्छ।

  1. अरुको सल्लाह र लहैलहैका भरमा कहिले पनि लगानी नगर्ने
  2. आफ्नो जोखिम वहन क्षमतालाई आंकलन गरी लगानीमा विविधिकरण गर्ने
  3. आफूले लगानी गर्ने कम्पनीको सूक्ष्म अध्ययन
  4. बजारका गति कता गइरहेको छ पत्ता लगाउनुस् र जोखिम लिएर लगानी गर्नुस्
  5. जोखिम कम गर्ने रणनीति (‘स्टप लस’ प्रयोग गर्दा घाटा कम गर्न सकिन्छ)
  6. बजार दु्रत गतिमा बढिरहेको र उच्च विन्दुमा पुगेको अवस्थामा विशेष सतर्कता र सचेतता अपनाएर कारोबार रणनीति तयार गर्नुपर्छ।
  7. गलत निर्णय अनुभवको रुपमा ग्रहण गरेरे फेरि त्यही गल्ती नदोहर्याउने प्रतिबद्धता
  8. बियरिस ट्रेन्डलाई अवसरको रुपमा सदुपयोग गरी राम्रो कम्पनीको शेयर खरिद गर्ने
  9. माग र आपूर्तिको अवस्था पहिचान गरी जोखिमवहन क्षमताको आधारमा अनुशासित लगानी वा कारोवार गर्नुपर्छ।
  10. लोभको उचित व्यवस्थापन गर्दै निर्धारित सीमा वा अनुशासनभित्र रहेर निश्चित प्रतिशत मुनाफा हुँदा प्रोफिट बुक गर्ने गर्नुस्।
  11. एउटै कम्पनीको एकै पटक ठूलो परिमाणमा शेयर नकिन्ने
  12. प्रायोजित समाचारप्रति सधैं सजग हुने

नयाँ तथा नव प्रवेशी लगानीकर्ताहरुका लागि बुल बजारको उत्कर्षमा पुगेर फर्किने अवस्था सबैभन्दा घातक हुन्छ । नेपाल जस्तो सीमित संस्थागत लगानीकर्ता, थोक बिक्रेता (मार्केट डिलर) भएको देशमा शेयर बजार अस्थिर भैरहने भएकाले पनि दोस्रो बजारमा थप जोखिम देखिन्छ। हाम्रो जस्तो सानो शेयरबजारमा बुल ट्रयापको सम्भावना अन्य देशको तुलनामा सधै बढी नै हुन्छ ।

पूँजी बजारका वित्तीय उपकरणहरुमा लगानीका लागि शेयरमात्र उपलब्ध हुनु, धेरै लगानीकर्तामा अझैपनि लगानी तथा जोखिम सम्बन्धी ज्ञानको कमी रहेको कारण लगानीकर्तामा बजार तथा सूचनाको पहुँचमा सदैव कठिनाई देखिन्छ। नियामक निकायले पनि बजारको संवेदनशील अवस्थालाई विचार गरेर अभिमुखीकरण र तालिम दिनुको सट्टा कारोबारमा रेकर्ड तोडेको उपलक्ष्यमा मिठाई बाँड्नुले पनि लगानीकर्तालाई जोखिमबाट बच्न कठीनाई उत्पन्न भएको हो।

अन्त्यमा यो बुझ्नुपर्छ कि बुद्धिमान र अनुभवी लगानीकर्ताले प्रायः छोटो समय भन्दा पनि सुरक्षित र दीर्घकालीन लगानीमा जोड दिन्छन्।