चार कारोबार दिनमा शेयर लगानीकर्ताले २ खर्ब ३५ अर्ब गुमाए


नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो साता कारोबार भएका ४ दिनमा १९१ अंकलेको घटेको छ। नेप्से परिसूचक १९१ अंकले घट्दा बजारको आकार समेत २ खर्ब ३५ अर्ब रुपैयाँले खुम्चिएको हो ।

गत बिहीबार १ हजार ६३२ अंकमा रहेको नेप्से सूचक बुधबार कारोबार बन्द हुँदा १ हजार ४४१.२० अंकमा झरेको छ । यो बीचमा सेयर बजारको पूँजीकरण घटेर १८ खर्ब ४७ अर्ब ७६ करोड रुपैयाँमा रहेको छ। गत बिहीबार नेप्सेको बजार पूँजीकरण २० खर्ब ८३ अर्ब ६८ करोड रुपैयाँ थियो ।

यसभन्दा अघि गत मंसिर १० गते नेप्से परिसूचक १ हजार १०९ अंकमा हुँदा सो दिनको कूल बजार पूँजीकरण १४ खर्ब ७ अर्ब ३५ करोड रुपैयाँ मात्र थियो । यो ३ महिनाको अवधिमा नेप्से परिसूचक ५३२ अंकले बढेर १ हजार ६३२ अंकसम्म पुगेको थियो । त्यसैगरी नेप्सेको बजार पूँजीकरण पनि १४ खर्ब रहेको नेप्सेको कुल बजार पूँजीकरण ६ खर्ब ७६ अर्बले बढेर करिब २१ खर्ब सम्म पुगेको थियो ।

तर, ३ महिनाको अवधिमा ५३२ अंकले बढेको नेप्से परिसूचक यो साताको ४ कारोबार दिनमै १९१ अंकले घटेको छ । त्यसो त नेप्सेको कूल बजार पूँजीकरण पनि २ खर्ब ३५ अर्बले घट्न पुगेको छ। नेप्सेको बजार पूँजीकरण पौने ७ खर्बले बढ्नका लागि ३ महिना लागेको भएपनि पछिल्ला ४ कारोबार दिनमा नै करिब साढे २ खर्बले घटेको हो ।

पछिल्ला दिनहरुमा उच्च दरमा आकासिएको नेप्से सूचक यो साता देखि सोही दरमा घट्न थालेको छ । नेप्से परिसूचकमा आउने उतार चढावले समग्र बजार पूँजीकरुणलाइ पनि प्रभावित पार्छ । शेयर मूल्यमा सुधार आएपछि समग्र बजारको आकार ठूलो हुँदै जान्छ भने घट्दा पनि सोही अनुसार घट्न पुग्छ । बजारमा आउने उच्च अंकको सुधारमा जोखिम पनि उच्च हुने भएकाले लगानीकर्ता भने सचेत र सजग भएर लगनी गर्नुपर्ने हुन्छ ।

नेप्से परिसूचक बढ्दा बजार पूँजीकरण पनि स्वभाविक रुपमा बढ्छ । त्यसैगरी सूचीकृत कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा बजार पूँजीकरण घट्छ । नेप्सेको बजार पूँजीकरण गणना गर्दा सूचीकृत कम्पनीको शेयर मूल्यको महत्वपूर्ण भूमिका हुन्छ। बजार पूँजीकरण भनेको शेयर बजारमा रहेको सम्पत्तिको आकार हो । नेप्सेमा सूचीकृत शेयरहरुको कूल बजार मूल्य अर्थात सम्पूर्ण सूचीकृत कम्पनीको शेयर मूल्य र शेयर संख्याको गुणनफल नै बजार पूँजीकरण मानिन्छ ।

बजार पूँजीकरण घट्नु भनेको ती दिनमा किन्ने लगानीकर्ताले गुमाएको भन्ने बुझिन्छ । बजार पूँजीकरण घट्नु भनेको शेयरधनीको सम्पत्तिमा ह«ास आउनु हो। बजार पूँजीकरणले समग्र बजारको अवस्थालाई समेत देखाउने भएकाले लगानीकर्ताको आम्दानी तथा नोक्सानीलाई प्रत्यक्ष मूल्याङ्कन गर्न सकिन्छ ।