बैंकिङ्ग प्रणालीबाट ५२ अर्ब खिचिँदा ९२ अर्ब तरलता प्रवाह

0
Shares

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकिङ्ग प्रणालीबाट ५८ अर्ब तरलता प्रशोचन गरेको छ। चालु आर्थिक वर्षको पुससम्ममा केन्द्रीय बैंकले प्रणालीमा ९२ अर्ब ७ करोड तरलता प्रवाह गरेको छ।

केन्द्रीय बैंकले प्रवाह गरेको तरलता मध्ये रिपो मार्फत ३९ अर्ब ५२ करोड र स्थायी तरलता सुविधा मार्फत ५२ अर्ब ५५ करोड रुपैयाँ रहेको छ। यसैगरी, विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर १ अर्ब ७० करोड खुद खरिद गरी १९३ अर्ब ४० करोड रुपैयाँ खुद तरलता प्रवाह गरेको केन्द्रीय बैंकले जनाएको छ।

सो अवधिमा कुल विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तको १० खर्ब ३८ अर्ब ९२ करोडबाट ५.५ प्रतिशतले वृद्धि भई २०७६ पुस मसान्तमा १० खर्ब ९५ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तको तुलनामा २०७६ पुस मसान्तमा ४४ अर्ब ९४ करोड रुपैयाँले वृद्धि भई ९ खर्ब ४७ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। आर्थिक वर्ष २०७६/७७ को पुस महिनासम्मको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९.६ महिनाको वस्तु आयात र ८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने केन्द्रीय बैंकले जनाएको छ।

राष्ट्र बैंकले कम्तिमा ७ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुने विदेशी विनिमय सञ्चिति कायम गर्ने लक्ष्य लिएकोमा त्यसको सीमा भन्दा माथि रहेको हो।

  • मुद्रास्फीति २.२७ बिन्दुले बढ्यो

चालु आर्थिक वर्षमा उपभोक्ता मुद्रास्फीतिलाई ६ प्रतिशतभित्र सीमित गर्नुपर्नेमा पुस मसान्त सम्ममा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.८२ प्रतिशत रहेको छ। २०७५ को पुसमा यस्तो मुद्रास्फीति ४.५८ प्रतिशत रहेको थियो। तरकारी, मसला, फलफूल, दाल तथा गेडागुडी, शिक्षा, लुगा तथा जुत्ता लगायतको मूल्य वृद्धि उच्च रहेका कारण समग्र उपभोक्ता मुद्रास्फीति बढ्न गएको हो।

चालु आवमा नेपाल सरकारले तय गरेको ८.५ प्रतिशतको आर्थिक वृद्धिदरलाई सहयोग पु¥याउने गरी आवश्यक मौद्रिक तरलताको व्यवस्था गर्ने क्रममा पुस मसान्त सम्ममा वार्षिक बिन्दुगत आधारमा कुल आन्तरिक कर्जा १४.१ प्रतिशतले बढेको छ। यसैगरी, २०७६ पुस मसान्तसम्ममा वार्षिक विन्दुगत आधारमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी १४.९ प्रतिशतले बढेको छ। त्यसैगरी १८ प्रतिशतको सीमाभित्र कायम राख्ने भनिएको विस्तृत मुद्राप्रदायको वृद्धिदर पुस मसान्तसम्म वार्षिक विन्दुगत आधारमा १४.५ प्रतिशतले बढेको छ।

त्यसैगरी निजी क्षेत्रतर्फको कर्जा विस्तारको सीमा २१ प्रतिशतमा राख्ने लक्ष्य रहेको भएपनि चालु आवको पुसम्ममा यस्तो कर्जा १५.१ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ।