सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू

0
Shares

सुदूरपश्चिममा प्रदेशका ९ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ। प्रदेशका ७ जिल्लामा यस अगाडि नै शुरु भएको स्वास्थ्य बीमा कार्यक्रम डोटी र डडेल्धुरामा विस्तार भएपछि ९ वटै जिल्लामा बीमा कार्यक्रम विस्तार भएको हो।

स्वास्थ्य बीमा बोर्डले बुधबार डोटी र बिहीबार डडेल्धुरामा शुभारम्भ गरेसँगै प्रदेशभर बीमा कार्यक्रम लागू भएको बोर्डले जनाएको छ। स्वास्थ्य उपचारमा अनियन्त्रितरुपमा भइरहेको व्यक्तिगत तथा पारिवारिक खर्च घटाउँदै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने र सेवाको उपयोगमा वृद्धि गर्ने उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याइएको हो।

एउटा परिवारले अधिकतम एक लाख रुपैयाँसम्म उपचार सुविधा लिनसक्ने स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिम प्रदेशका प्रदेश संयोजक जनक साउदले बताए। उनका अनुसार बीमा कार्यक्रम लागू भएको सुदूरपश्चिम पहिलो प्रदेश भएको छ।

७ जिल्लामा स्वास्थ्य बीमितको सङ्ख्या हालसम्म २ लाख ६० हजारभन्दा बढी पुगेको उनको भनाई थियो । विसं २०७२ चैत २५ गतेदेखि कैलालीमा पहिलोपटक स्वास्थ्य बीमा कार्यक्रमको शुरुवात भएको थियो।

देशका ५० जिल्लामा कार्यान्वयनमा आइसकेको सो कार्यक्रम चालू आव २०७६/७७ भित्र ७७ जिल्लामा कार्यान्वयन गर्ने सरकारको लक्ष्य छ। त्यसैगरी सन् २०२० सम्ममा बीमितको सङ्ख्या ५० र सन् २०३० सम्ममा शतप्रतिशत पु¥याउने लक्ष्य छ ।

बीमित परिवारका सदस्यको सदस्यता क्रियाशील भएपछि उपचारका लागि आफ्नो परिचयपत्र लिएर आकस्मिक उपचारका लागि सधैँ तोकिएको प्रथम सेवाबिन्दु स्वास्थ्य संस्थामा नै जानुपर्ने प्रावधान बीमा कार्यक्रमले अनिवार्य गरेको छ ।

स्वास्थ्य बीमा नियमावली, २०७५ अनुसार अति गरिबको परिचयपत्र प्राप्त परिवार, अति अशक्त अपाङ्गता रातो कार्ड, कुष्ठरोगी, एचआइभी सङ्क्रमित, जटिल खालका क्षयरोगी एमडिआरटिबी बिरामी भएका परिवारको योगदान रकमको शतप्रतिशत छुट र महिला स्वास्थ्य स्वयंसेविका संलग्न भएको परिवारको योगदान रकमको ५० प्रतिशत छुट दिइने व्यवस्था स्वास्थ्य बीमा कार्यक्रममा रहेको छ।

त्यस्तै कडा प्रकारका रोग (अर्बुदरोग, मुटुरोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया र अल्जाइमर) मा नदोहिरिने गरी थप एक लाखको सेवा सुविधा दिने व्यवस्था छ।