शेयर बजारको अल्पकालीन प्रवृत्तिलाई हेरेर दीर्घकालीन सोच बनाउनु हुँदैन: अर्थमन्त्री

0
Shares

अर्थमन्त्री डा. युवराज खतिवाडाले शेयर बजारमा देखिएको अल्पकालीन प्रवृत्तिलाई हेरेर दीर्घकालीन सोच बनाउन उपयुक्त नहुने बताएका छन्।

संघीय संसदको पाँचौं अधिवेशन अन्तर्गत बिहीबार २४ औं बैठकमा प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएको छलफलको जवाफ दिँदै यस्तो बताएका हुन्।

धितोपत्र सम्बन्धि (पहिलो संसोधन) विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्तावको क्रममा आफ्नो धारणा राख्दै अर्थमन्त्रीले विश्वमा फैलिएको कोारोना भाइरसका कारणले अनिश्चितता आएकाले नेपाली शेयर शेयर बजारमा केही उथलपुथल देखिएको भएपनि अल्पकालीन प्रवृत्तिलाई हेरेर दीर्घकालीन सोच नबनाउन लगानीकर्तालाई सुझाव दिए।

शेयर बजारमा उतार चढाव स्वभाविक रहेको भन्दै उनले आफुले शेयर कारोबार गर्ने कम्पनीको सम्पूर्ण विगतका वित्तीय अवस्था, भावी अवस्था हेरेर मात्र शेयर बजारमा लगानी गर्नुपर्ने बताए। उनले भने, “सरकारले कस्तो नीति नियम बनाउँछ र कार्यान्वयन कस्तो हुन्छ भनेर शेयरको कारोबार गर्ने हो। त्यसमा व्यक्ति विशेष जो आएपनि गएपनि शेयर बजार प्रभावित हुनुपर्दैन। विधि, नीति र व्यवसायीक सम्भावनाका आधारबाट शेयर बजारमा मूल्य र कारोबार बढ्ने घट्ने स्थिति रहन्छ।”

  • शेयर बजार पूँजीपतिको मुठ्ठी बाहिर

मन्त्री खतिवडाले अहिलेको शेयर बाजार पहिले जस्तो पूँजीपतिहरुमा मात्रै नभई न्यून आयस्तर हुने सामान्य नागरिकसम्म पुगिसकेको बताए।
सरकारको नीतिले अहिले धितोपत्र (शेयर) कारोबार गर्नेहरुको संख्या सीमित दायराबाट शेयर बजार फराकिलो भई १५/१६ लाख पुगिसकेको र हजारौंबाट लाखौंको संख्यामा कारोबारीहरु पुगिसकेको उनको भनाई थियो।

उनले भने “न्यून आयस्तर भएकाले पनि कुनै न कुनै रुपमा शेयर किन्नसक्ने व्यवस्था गरिएको छ। लघुवित्त कम्पनीहरुबाट ऋण लिएर भएपनि शेयर किन्नसक्ने व्यवस्था गरिएको छ। त्यसैले सीमित वर्गको (पूँजीपतिहरुको) मात्र पूँजी कारोबार गर्ने अवस्था हो भन्नुपर्छ जस्तो मलाई लाग्दैन।”

पूँजी बजारले आम सर्वसाधारणलाई छनौट गर्ने आधार दिएको बताएका उनले आफूसँग भएको साना पूँजी पनि बैंकमा निक्षेप राख्ने कि शेयर बजारमा शेयर किन्ने कि, सानो व्यवसाय गर्ने कि निर्णय गर्नसक्ने बताए। आफैँले उद्योग खोलेर ठूलो जोखिम लिन नसक्ने तर जोखिममा कुनै न कुनै रुपमा सहभागि हुन चाहने साना मझौला बचतकर्ताहरुका लागि पनि पूँजीबजार एउटा उपयुक्त माध्यम हो। अर्थमन्त्रीले भने।

थोरै थोरै शेयर हाल्न चाहनेहरुको लागि पनि शेयर सुनिश्चित गरिदिने व्यवस्था पनि यहि धितोपत्र ऐन, र नियमावलीले व्यवस्थीत गरेको भन्दै उनले साना पूँजी भएका लगानीकर्तालाई म्युचुअल फण्ड जस्ता अवधारण ल्याइएको उनले बताए।  नेपालीहरु थोरै पूँजी भएपनि कुनै न कुनै रुपमा कुनैपनि सम्पत्तिको मालिक बन्न सकुन्, जमिन अथवा अरु किसिमको उद्योग कलकारखाना होला, तर शेयर बजारमा पनि सहभागिता भयो भने त्यसले आफ्नो पूँजी निमार्णलाई पनि सहयोग गर्छ भन्ने हिसावले पनि विधेयक ल्याउन खोजिएको उल्लेख गरे।

  • विधेयकले नियामक निकायको भुमिका बलियो

सम्बोधनमा मन्त्री खतिवडाले विधेयकबाट नियामक निकायको भुमिका थप प्रभावकारी हुने बताए। विधेयक ल्याउनुको उदेश्य सम्पूर्ण प्रणालीलाई नियन्त्रण गर्ने नभई नियमनलाई प्रभावकारी बनाउने रहेको उनले स्पष्ट पारे।

उनले भने “नियामक निकाय नियमनकारी नै हो। नियमनलाई बजारको सिद्धान्त अनुसार धितोपत्र बजारलाई प्रतिस्पर्धात्मक, पारदर्शी, र कानुनसम्मत तुल्याउँदै लैजान नियामक निकायको भुमिकालाई बलियो बनाउन, स्वायत्त संस्थाको रुपमा विकास गर्न, जवाफदेशी बनाउने र क्षमता विकास गर्नका लागि विधेयक प्रस्तुत गरिएको छ।”

सरकारले सामान्य भन्दा सामान्य व्यक्तिलाई पनि शेयर बजारमा पहुँच पुर्याउनका लागि सरकारले गर्नुपर्ने कुराहरु गरिरहेको र यसले केही समय अगाडिदेखि जलविद्युत आयोजनाहरुमा हजारौंको संख्यामा शेयर सहभागिता भएको उनको दाबी थियो।