भारतले नेपालतर्फका ४ वटा बाहेक सबै नाका बन्द गर्ने, १८ नाका बन्द


भारतले नेपालसंग जोडिएको चारवटा बाहेक सबै नाका बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण भारतले नेपाल सहित अन्य मुलुकसँगका अधिकांस सीमा नाकालाई बन्द गर्ने निर्णय गरेको हो ।

भारतीय गृह मन्त्रालयका अनुसार नेपालसँग सीमा जोडिएका वनवसा, सुनौली, रक्सौल र रानीगञ्जबाहेक सबै सीमा नाका आइतबार राती १२ बजेबाट बन्द हुने छन् ।

भारत सरकारको यो निर्णय सँगै अब नेपालबाट भारत जाने तथा नेपाल आउनेहरुले उल्लेखित चार वटा नाकाबाट मात्र आवतजावत गर्न पाउने छन् ।

कोरोना संक्रमणबाट मुलुकलाई बचाउन सिगों भारतलाई विश्वबाट अलग राख्ने केन्द्र सरकारको नीति बमोजिम यस्तो निर्णय लिईएको हिन्दुस्तान टाईम्सले उल्लेख गरेको छ ।

भारतसँग व्यापार र मानव आवजावत हुने ३७ अन्तर्राष्ट्रिय चेकपोस्टलाई घटाएर १९ मा सिमित गर्ने योजना अनुसार यस्तो निर्णय लिइएको बताइएको छ ।

नेपालसँगै बंगलादेश, भुटान, म्यानमार लगायत मुलुकतर्फका १८ वटा नाकाहरु आइतबार राती १२ बजेदेखि बन्द हुने छन् ।