बैंक वित्तीय संस्थाले अब प्रशिक्षार्थीको तालिम अवधिलाई पनि सेवा अवधिमा गणना गर्नुपर्ने

0
Shares

बैंक वित्तीय संस्थाले प्रशिक्षार्थीलाई सेवामा नियुक्त गरे उसले तालिम गरेको अवधिलाइ पनि सेवामा जड्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थाका लागि कर्मचारी सेवा विनियमावलीको नमुना बनाई प्रशिक्षार्थीले तालिम गरेको अवधि पनि सेवा प्रवेश भएको खण्डमा सेवा अवधिमा जोडिने व्यवस्था गरेको हो।

राष्ट्र बैंकले बैंक वित्तीय संस्थाको कर्मचारी विनियमावलीमा एकरुपता ल्याउनका लागि बनाएको नमुना अनुसार प्रशिक्षार्थीलाई सेवा नियुक्त गरेको खण्डमा पुन परिक्षणकालमा समेत राख्न पाइने छैन।

विनियमावलीको नमुना अनुसार विश्वविद्यालयको सम्बन्धित तहको परीक्षा उत्तिर्ण गरेका व्यक्तिलाई बैंक÷वित्तीय संस्थाले तालिमे (व्यवस्थापन प्रशिक्षार्थी) को रुपमा भर्ना गर्न सक्नेछ । यसरी लिइएको प्रशिक्षार्थिलाई बैक÷वित्तीय संस्थाले आवश्यकता बमोजिम बढीमा एक वर्षसम्म काम सम्बन्धी तालिम दिन सक्नेछ।

प्रशिक्षार्थीकले सन्तोषजनक रुपमा काम सम्पन्न गर्ने व्यक्तिलाई बैंक वित्तीय संस्थाको कार्यकारी प्रमुखले निजको कामको मुल्याङ्कन, र शैक्षिक योग्यता समेतका आधारमा सहायक अधिकृत वा वरिष्ठ सहायक सम्मको पदमा नियुक्त गर्न सक्नेछ । तर, तालिमको अवधि सकिएपछि बैंक/वित्तीय संस्थाले निजसँग रोजगार सम्झौता गर्न बाध्य हुने छैन र तालिमेले यसलाई अधिकारको रुपमा दाबी गर्न समेत पाउने छैन।

नमुना अनुसार तालिम अवधि सकिए पछि बैक/वित्तीय संस्थाले तालिमे कर्मचारीलाई प्रमाणपत्र उपलव्ध गराउनुपर्नेछ । यस विनियम वमोजिम नियुक्त हुने प्रशिक्षार्थीले समेत यस विनियम बमोजिम न्यूनतम तलव भत्ता तथा सुविधा पाउनेछन्। तालिमे कर्मचारीको नियुक्ती प्रकृया, तालिम अवधि तथा अन्य शर्तहरु पदपूर्ति समितिले निर्धारण गरे बमोजिम हुनेछ ।

बैंक/वित्तीय संस्थाले नयाँ कर्मचारी नियुक्ती गर्दा प्रत्येक आर्थिक वर्षको लागि आवश्यक जनशक्ति प्रक्षेपण गरी, पदीय शैक्षिक योग्यता तोक्नसक्नेछ र सोही बमोजिम सूचीकृत भएका मध्येलाई नै तोकिए बमोजिम परीक्षा लिई नियुक्ति गर्न सक्नेछन ।

कुनै शिक्षण संस्था वा विश्वविद्यालयसँग सम्झौता गरी विद्यार्थिलाई पाठ्यक्रममा तोकिएको अवधि वा तोकिएको काम पूरा गर्नको लागी बैंक/वित्तीय संस्थामा काम गर्ने अनुमति प्रदान गर्न सकिनेछ। बैंक÷वित्तीय संस्थामा काम गर्न आउने विद्यार्थिलाई कर्मचारीको रुपमा गणना गरिने छैन र उनीहरुको सेवा अवधि सम्बन्धित शिक्षण संस्थाको पाठ्यक्रममा तोकिए वमोजिम मात्र हुनेछ ।

प्रशिक्षार्थीको रुपमा काम गर्ने समय तथा व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको विषयमा मात्र बैंक/वित्तीय संस्थाले अन्य कर्मचारी सरह प्रशिक्षार्थीको लागि समान व्यवस्था मिलाउनेछ।

सो बाहेक अन्य विषयको व्यवस्था गर्ने जिम्मेवारी सम्वन्धित शिक्षण संस्था वा विश्वविद्यालयको हुनेछ। यस विनियम बमोजिम इन्टर्नशिप गर्ने विद्यार्थिलाई कार्यकारी प्रमुखले तोके बमोजिम सो अवधिभरको लागि दैनिक खाजा वा यातायात खर्च/सुविधा प्रदान गर्न सकिने व्यवस्था नमुना विनियमावलीले गरेको छ।