पुनर्बीमा कम्पनीको डेढ अर्बको आईपीओ बिक्री खुला, लगानी जोखिम न्यून

0
Shares

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आजदेखि १०० रुपैयाँ अंकित दरमा १ अर्ब ६० करोड रुपैयाँ बराबरको १ करोड ६० लाख कित्ता प्राथमिक शेयर (आईपीओ ) बिक्रीमा ल्याएको छ।

निष्काशित १ करोड ६० लाख कित्तामध्ये ७३ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरुलाई र ८ लाख कित्ता शेयर सामुहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ। बाँकी १ करोड ५१ लाख २६ हजार ५०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

इच्छुक लगानीकर्ताले मेरो शेयर सफ्टवेयर तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओ निष्काशन छिटोमा चैत ७ गते बन्द हुनेछ भने सो अवधिमा बिक्री नभएमा ढिलोमा चैत १८ गतसम्म खुला रहनेछ।
यसमा न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई इक्रा एनपी आईपीओ ग्रेड २ रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय आधारभूत अवस्था औषतभन्दा माथि रहेको जनाउँछ।

इक्राले १ देखि ५ सम्म ग्रेडिङ्ग प्रदान गर्दै आएको छ। ग्रेड १ ले सबैभन्दा बलियो आधार रहेको जनाउँछ भने ग्रेड ५ ले कमजोर आधार रहेको संकेत गर्दछ।