पेट्रोलियम पदार्थको अभाव छैन: निगम, व्यवसायी भन्छन् ‘मुल्य समायोजनले समस्या’


नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले पेट्रोलियम पदार्थको आयातमा कुनै बाधा तथा अवरोध (रेस्ट्रिक्शन) नभएको बताएका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने, ‘पाईपलाईनबाट पनि पेट्रोलियम पदार्थ आईरहेको छ । अहिले हामीले सप्लाईमा बढि ध्यान दिएका छौं।’

‘डिमाण्ड’ र ‘सप्लाई’को आवश्यकत्ता पूरा गरिरहेको पौडेलले बताए । उनले पेट्रोलियम पदार्थको पछिल्लो डाटा र स्टेस्टिक्स हेर्दा व्यापारीहरुले पनि किन्न कुनै कञ्जुस्याँई गरेको नदेखिएको बताए ।

भैरहवाबाट पनि तेल ल्याउन निगमले निर्देशन दिएको उनको भनाई थियो । सबै पेट्रोल पम्पमा तेल पुग्ने क्रममा रहेको उनले जानकारी दिए । उनले भने,‘आम उपभोक्ताहरुले भेहिकलमा राख्नुहोस् । तर, धेरै स्टोरेज नगरौं ।’

उनले अहिले बजारमा देखिएको मागको ५ देखि १० प्रतिशत थपेर नै आफूहरुले भारतबाट आपूर्ति गरिरहेको जनाए । आयल निगमले ६७ हजार किलोलिटरको भण्डारण क्षमतामा ५३ हजार किलोलिटर भण्डारण गरिसकेको बताए ।

ग्याँसको सवालमा अहिले देखिएको समस्या आवश्यकभन्दा बढि सिलिण्डर स्टोरेज गर्नु नै प्रमुख कारण भएको उनको भनाई थियो । उनले भने,‘यो महिना चाहिएको ग्याँस ३८ हजार मेट्रिक टन हो, हामीले भारतसँग ४५ हजार टनको अर्डर पठाएका छौं । अहिले बजारमा २८ लाख सिलिण्डर छन् भने ३५ लाख सिलिण्डर मगाएका छौं ।’

नेपाल एल.पी. ग्याँस उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले ग्याँसको कुनै समस्या नभएको दाबी गरे । तर, अहिले देखिएको समस्या उपभोक्ताहरुले आवश्यकभन्दा बढि स्टकमा राख्नुलाई नै उनले प्रमुख कारण देखाएका छन् । उनले भने,‘यो समस्या समाधान गर्ने भनेको आपूर्ति नै हो । स्टक गर्ने ट्रेण्ड हटाउनुपर्छ ।’

पेट्रोलियम ढुवानी व्यवसायी संघका अध्यक्ष खगेश्वर बोहोराले भारतबाट अहिले ७ वटा नाकाबाट पेट्रोलियम पदार्थ आपूर्ति भैरहेको सुनाउँदै बजारमा कुनै अभाव नभएको बताए । उनले भने, ‘कुनै दिनपनि आपूर्ति रोकिएको छैन् ।’ उनले आफूहरुसँग भएका ट्यांकरलाई समेत भण्डारणको लागि प्रयोग गर्नुपर्ने सुनाए । निगमको भण्डारण क्षमताले ७ दिनको लागि मात्रै पुग्ने बताउँदै भण्डारण क्षमता अझै बढाउनुपर्नेमा उनले जोड दिए ।

निगमले समयमै मूल्य समायोजन नगर्दा समस्या देखिएकातर्फ उनले निगमको ध्यानाकर्षण गराए । उनले भने,‘निगमले मूल्य समायोजनमा ढिलाई गरेकै हो, कालोबजारी गर्ने ठाउँ छैन् । मूल्य घट्छ कि भनेर केही व्यापारी साथीहरुले तेल नउठाएको हुनसक्छ ।’

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले आफूहरुले अहिले विदाको दिनमा पनि बजार अनुगमन गरेको र लापरवाही गर्नेलाई कारबाही गरिएको बताए ।
ग्याँस तथा पेट्रोलियम पदार्थमा समेत ध्यान दिईएको र सोहीअनुरुप अनुगमन गरिएको उनको भनाई थियो ।