पाम आयलको निर्यात घटेपछि कूल निर्यातमा असर

0
Shares

नेपालबाट निर्यात हुने वस्तुमध्ये २० प्रतिशत बढी हिस्सा ओगट्ने पाम आयलको निर्यात घट्दा नेपालको कूल निर्यातमा समेत असर पुगेको छ।

भारतीय पक्षबाट पाम आयलको आयात रोक्दा हरेक महिना नेपालबाट भारततर्फ करिब १० अर्ब रुपैयाँ बराबरको कूल निर्यात हुँदै आइरहेकोमा माघ महिनामा आउँदा घटेर साढे ७ अर्ब रुपैयाँमा खुम्चिएको छ।

चालु आर्थिक वर्षको पाँचौ महिना अर्थात मंसिरसम्ममा कुल निर्यातमा पाल आयलको हिस्सा २४.२ प्रतिशत थियो । माघ महिनामा कुल निर्यातमा पाम आयलको हिस्सा घटेर २१.४ प्रतिशतमा सीमित भएको हो।

तथ्याङ्क अनुसार माघ महिनामा एक लाख रुपैयाँको मात्र पाम आयलको निर्यात भएको छ । गत पुस २३ गते देखि माघ २६ गतेसम्म भारत सरकारले नेपालबाट आयात हुने पाम आयलमा प्रतिबन्ध गरेको कारण ज्यादै न्यून रकमको मात्र निर्यात हुन पुगेको हो। त्यसको असर स्वरुप माघ महिनाको कूल निर्यात घटेको छ।

नेपाल सरकारको पहलमा भारत सरकारले पाम आयलको आयत माघ २६ गते देखि मात्र खुलाएको थियो । त्यसकारणले पनि माघ महिनामा पाम आयलको निर्यात एक लाख रुपैयाँ बरावरको मात्र भएको जनाइएको छ।

चालु आर्थिक वर्षको माघ महिनासम्ममा पाम आयलको निर्यात १३ अर्ब ८९ करोड ६८ लाख रुपैयाँ पुगेको छ। यो तथ्याङ्क पुस महिनामा १३ अर्ब ८९ लाख ६७ लाख रुपौयाँ रहेको थियो । मंसिर महिनामा पाम आयलको निर्यात मात्रै ११ अर्ब ५२ करोड ३ लाख रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ।

  • कूल वस्तु निर्यातमा २२.४ प्रतिशतको वृद्धि

चालु आर्थिक वर्ष २०७६/७७ को ७ महिनामा कुल वस्तु निर्यात २२.४ प्रतिशतले वृद्धि भई ६४ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२.५ प्रतिशतले वृद्धि भएको थियो।

यो अवधिमा भारततर्फ निर्यात ३८.० प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फ १२.७ प्रतिशत र अन्य मुलुकतर्फ २.४ प्रतिशतले घटेको छ । भारतमा पाम आयलको प्रतिबन्धका कारण भारत तर्फको निर्यात घटेको हो।

वस्तुगत आधारमा पाम तेल, अलैंची, जुटका सामान, आयुर्वेदिक औषधि, धागो (पोलिष्टर तथा अन्य), लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुस, तामाको तार लगायतका वस्तुको निर्यात घटेको केन्द्रीय बैंकले जनाएको छ । चालु आर्थिक ६ महिनामा भने ४७ अर्ब ६२ करोड रुपैयाँ बराबरको निर्यात गरेको थियो।

आर्थिक वर्ष २०७६/७७ को ७ महिनामा कुल वस्तु आयात ३.६ प्रतिशतले घटेर ८०३ अर्ब ६० करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २६.० प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ८.० प्रतिशतले घटेको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ९.८ प्रतिशत र ०.८ प्रतिशतले बढेको छ।

वस्तुगत आधारमा कच्चा पाम तेल, रासायनिक मल, हटरोल सिट, मेसिनरी तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल लगायतका वस्तुको आयात बढेको छ भने एम.एस. बिलेट, सुन, यातायातका साधन तथा पार्टपुर्जा, पेट्रोलियम पदार्थ, सिमेन्ट लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ वीरगञ्ज, विराटनगर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, मेची र तातोपानी भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा ह्रास आएको छ। आयाततर्फ सुख्खा बन्दरगाह, तातोपानी, कञ्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।

आर्थिक वर्ष २०७६/७७ को ७ महिनामा कुल वस्तु व्यापार घाटा ५.३ प्रतिशतले संकुचन भई ७ खर्ब ३८ अर्ब ६३ करोड रुपौयँमा सीमित हुन पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो घाटा २७.१ प्रतिशतले वृद्धि भएको थियो। यो अवधिमा निर्यात-आयात अनुपात ८.१ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ६.४ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ।