महँगी नियन्त्रण गर्न सरकार असफल, बजेटको लक्ष्य भन्दा मुद्रास्फीति माथि

0
Shares

सरकारले महँगी नियन्त्रण गर्न नसकेको एउटा प्रतिवेदनले देखाएको छ । चालु आर्थिक वर्षको बजेटमा सरकारले मूल्यवृद्धि ६ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेपनि मुद्रास्फिीति सो लक्ष्यभन्दा माथि पुग्ने भएको छ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको माघ महिनामा नै मूल्य वृद्धि सरकारले राखेको लक्ष्य भन्दा माथि देखिएको छ। केन्द्रीय बैंकका अनुसार चालु आर्थिक वर्षको माघ महिनामा उपभोक्ता मुद्रास्फिीति ६.८७ प्रतिशत पुगेको हो।

राष्ट्र बैंकका अनुसार २०७६ माघमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्र्फिति ६.८७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.३५ प्रतिशत रहेको थियो।

माघ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.७९ प्रतिशत र गैह्र–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.६५ प्रतिशत रहेको छ। चालु आवको सो अवधिमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी, मसला, दाल तथा गेडागुडी र मासु तथा माछा उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ। गैह्र–खाद्य तथा सेवा समूह अन्तर्गत शिक्षा, स्वास्थ्य र लुगा तथा जुत्ता उपसमूहको मूल्य केही बढेको छ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ७.५८ प्रतिशत, तराईमा ७.२९ प्रतिशत, पहाडमा ५.४६ प्रतिशत र हिमालमा ५.२८ प्रतिशत मुद्रास्फीति रहेको छ। २०७५ माघमा यी क्षेत्रहरुमा क्रमशः ५.१९ प्रतिशत, ३.४४ प्रतिशत, ४.९१ प्रतिशत र ५.२७ प्रतिशत मुद्रास्फीति रहेको थियो।

नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.८७ प्रतिशत रहेकोमा भारतमा यस्तो (फेब्रुअरी महिनाको) मुद्रास्फीति ६.५८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा नेपाल र भारतको मुद्रास्फीति क्रमशः ४.३५ प्रतिशत र २.५७ प्रतिशत रहेको थियो।

२०७६ माघमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ७.१३ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.१८ प्रतिशत रहेको थियो। समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७.५१ प्रतिशत, ७.७० प्रतिशत र २.९४ प्रतिशत रहेको छ।

समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्य ३.८९ प्रतिशतले घटेको छ। तलब तथा ज्यालादर सूचकाङ्क ठ. २०७६ माघमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ७.५१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ११.३१ प्रतिशतले बढेको थियो। समीक्षा महिनामा तलब सूचकाङ्क १३.५५ प्रतिशत र ज्यालादर सूचकाङ्क ५.८९ प्रतिशतले बढेको छ।

  • मुद्रास्फीति के हो ?

मुद्रास्फीति सर्वसाधारणले प्रयोग गर्ने समग्र वस्तु र सेवाहरूको औसत मूल्यस्तरमा निरन्तर भएको मूल्यवृद्धि हो । थोरै वस्तुको मूल्य घटेर धेरैजसो वस्तु र सेवाको लगातार मूल्यवृद्धि भएको अवस्थालाई मुद्रास्फीति भनिन्छ।

मुद्रास्फीति भनेको मुद्राको क्रयशक्ति कम हुनु पनि हो। वा भनौं वस्तुको मूल्य बढ्नु र पैसाको मूल्य –क्रयशक्ति) घट्नु नै मुद्रास्फीति हो । बजारमा मुद्राको परिमाणमा वृद्धि भएपछि सँगसँगै वस्तु तथा सेवाको उत्पादन वा आकृति वृद्धि नभएको अवस्थालाई मुद्रास्फीतिको रुपमा चिनिन्छ।

यसमा थोरै सामानका लागि पनि धेरै पैसा खर्च गर्नुपर्ने हुन्छ । जुन अनुपातमा मूल्यस्तर वृद्धि हुन्छ सोही वा सोभन्दा धेरै अनुपातमा उत्पादनमा वृद्धि भएको खण्डमा भने मुद्रास्फीतिको अवस्था आउँदैन।

मुद्रास्फीतिको अवस्था त्यतिबेला मात्र सिर्जना हुन्छ, जतिबेला उत्पादनको तुलनामा मौद्रिक आम्दानी (प्रवाह) वृद्धिदर बढी हुन्छ । यसले मानिसहरू बचत गर्न प्रोेत्साहित नहुन सक्छन् ।किनभने मुद्राको मूल्य कम हुँदै जाने भएकाले बचत गरेको मुद्राको मूल्यमा ह्रास आउने हुन्छ । मुद्रास्फीति उच्च वा न्यून हुँदा ब्याजदर पनि उच्च हुन सक्छ।

मुद्रास्फीति उच्च भएमा उपभोक्ताको क्रयक्षमतामा कमी आउने हुन्छ। यस्तो अवस्थामा धेरै आम्दानी भएका लगानीकर्ता लगानी गर्न उत्साहित हुँदैनन् भने सीमित आय भएका लगानीकर्ताले ठूलो जोखिम लिन चाहँदैन। मुद्रास्फीतिको अवस्थामा लगानीकर्ता अपुग लगानीका स्रोत खोज्न वा नयाँ लगानी गर्न उत्साहित हुँदैनन् ।