नेपाली मुद्रा हालसम्मकै कमजोर अवस्थामा, के हुन्छ, फाइदा/बेफाइदा ?

0
Shares

विश्वव्यापी महामारी कोरोना भाइरसका कारण विश्व अर्थतन्त्र खस्किएको बेला डलर भाउ बढेपछि नेपाली रुपैयाँ झनै हालसम्मकै कमजोर अवस्थामा पुगेको छ।

अमेरिकी डलरको भाउ शुक्रबार हालसम्मकै उच्च विन्दुमा पुग्दा नेपाली मुद्रा कमजोर बनेको हो। राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजसनक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार प्रतिडलर खरिददर ११९.६८ र बिक्रीदर १२०.२८ कायम भएको छ। 

डलरको विनिमय दर बिहीबारको तुलनामा शुक्रबार एकैदिन १.१७ रुपैयाँले बढेको हो। यो विनिमय दर नेपालको इतिहासमा हालसम्मकै उच्च पनि हो। यसअघि सन् २०१८ अक्टोबर १० तारिखमा नेपालमा अमेरिकी डलरको खरिददर प्रतिडलर ११८.७३ र बिक्रीदर प्रतिडलर ११९.३३ रुपैयाँ कायम भएको थियो।

नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहने गरेका कारण पनि केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुने गरेको छ।

कोरोना भाइरसको असर यतिबेला विश्व अर्थतन्त्रमा नै असर परेको छ । कोरोनाका कारण कच्चा पेट्रोलियम पदार्थको माग कम हुँदा यसको असर अमेरिकी डलरमा परेको हो।

डलर बढ्दा के हुन्छ ? के फाइदा के बेफाइदा ?

डलरको मूल्य वढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा बढ्छ । डलरको भाउ बढेको बेलामा रेमिटेन्स पठाउनेले बढि मूल्य पाउँछन्।

तर, सबै देशमा काम गर्ने कामदारले डलरको मूल्यवृद्धिबाट फाइदा पाउन सक्दैनन् । नेपाली कामदारले स्थानीय मुद्रामा तलब प्राप्त गर्छ र त्यहाँको मुद्रा पनि नेपालको जस्तै डलरसँग अवमूल्यन भएको छ भने कामदारले कुनै लाभ पाउँदैन ।

डलरको वृद्धिले निर्यात व्यापारलाई राहत मिल्ने छ। बस्तु तथा सेवा विक्रीबाट हुने आम्दानीका साथै पर्यटन क्षेत्रको आयसमा समेत सुधार हुने छ। हस्तकला लगायत नेपाली समानका निकासीकर्ताको आम्दानी बढ्छ। तर यतिबोला कोराना भाइरसको त्रासको कारण पर्यटन क्षेत्र प्रभावित भएकाले डलर बढेको लाभ लिन नसक्ने अवस्था छ।

अर्कातर्फ आफ्नो देशको मुद्रा कमजोर हुँदा निर्यात बढाउन सजिलो हुन्छ पहिलेको भन्दा सस्तोमा पाएपछि सामान बढी निर्यात हुने सम्भावना रहन्छ । नेपालको निर्यात आधार अत्यन्तै सानो भएको र माग बढे पनि निर्यात गर्न सक्ने गरी यहाँ पर्याप्त सामान नभएको हुनाले निर्यात बढ्ने सम्भावना छैन ।

डलरको मूल्य बढ्दा विदेशी सामान महँगो हुने कारण स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर उत्पादन गर्ने उद्योगलाई फाइदा हुने देखिन्छ । त्यस्ता उद्योगको उत्पादनको मूल्य नबढ्ने हुँदा विदेशीको तुलनामा प्रतिस्पर्धी मूल्य कायम भई बिक्री बढ्न सक्छ । स्वदेशी कच्चा पदार्थ प्रयोग गरी निर्माण हुने सामान निर्यात गर्ने उद्यमीले पनि पहिलेकै लागतमा थप आम्दानी गर्न सक्छन् ।

उपभोग गरिने अधिकांश वस्तु डलरमा भुक्तानी गरेर आयात गरिने हुँदा यहाँ महँगो पर्न जान्छ । जसले गर्दा व्यापारघाटा झन बढेर जान्छ। नेपाली मुद्रासँग भारुको सटही दर १ सय ६० रुपैयाँ यथावत रहेको भए पनि भारुमा सामान आयात गर्दा समेत महँगो पर्ने गर्छ । भारतमा तयार हुने वस्तुको लागि त्यहाँका उद्योगले डलरमा कच्चा पदार्थ आयात गरेका हुन्छन् ।

सरकारले बजेटमा पुँजीगत खर्चको लागि मुख्य स्रोत विदेशी ऋणलाई मानेको हुन्छ । नेपाल राष्ट्र बैंकमा सरकारको नेपाली मुद्रामा खोलिएको खाता हुन्छ । ऋणको किस्ता र ब्याज सरकारले तत्काल डलर किनेर भुक्तानी गर्ने गर्दछ । सरकारले डलर सस्तो भएको समयमा लिएको ऋण तिर्दा बढि भुत्तानी गर्नुपर्ने हुन्छ ।
कुनै मुलुकको मुद्रा कमजोर हुँदा त्यहाँ विदेशी लगानी बढ्ने सम्भावना हुन्छ । यस्तै, यहाँ कमाएको मुनाफा अहिले आप्mनो देश फिर्ता लैजाँदा उसलाई घाटा पर्ने भएको हुनाले पुनर्लगानी गर्ने सम्भावना रहन्छ ।