एक वर्षको व्याज मिनाहा गर्न वायुसेवा कम्पनीको माग, अधिकांश उडान स्थगित

0
Shares

वायुसेवा सञ्चालक कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट नेपाली तथा विदेशी मुद्रामा लिएका सम्पूर्ण ऋणको कम्तीमा एक वर्षको व्याज मिनाहा गर्न माग गरेका छन् ।

वायु सेवा सञ्चालक कम्पनीको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घको बिहीबार भएको बैठकले ती संस्थाबाट लिएको सम्पूर्ण दीर्घकालीन ऋणको कम्तीमा एक वर्षको किस्ता रकमलाई स्थगन गरी पुनःतालिकीकरण गर्ने व्यवस्था गर्न र विदेशी मुद्रामा लिइएका ऋण नेपाली रुपैयाँमा समेत भुक्तानी गर्न सकिने व्यवस्था मिलाइदिन आग्रह गरेको हो ।

कोभिड–१९ को विश्वव्यापी सङ्क्रमण फैलिएसँगै नेपालको हवाई उड्डयन क्षेत्रमा नकारात्मक असर परेको भन्दै वायुसेवा सञ्चालक कम्पनीले राहत प्याकेज घोषणा गर्न सरकार समक्ष माग गरिएको सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले बताए ।

सङ्कटको अवस्थामा आवश्यक सञ्चालन खर्च धान्नकै लागि वायुसेवा कम्पनीलाई बैंकले आपसी सहमतिमा सहुलियत ऋण जारी गरिनुपर्ने, माथि उल्लेखित ऋण पुनःतालिकीकरण सम्बन्धमा वायुसेवा कम्पनी सञ्चालकको उद्देश्यअन्तर्गत प्रदान गरिएको सबै किसिमको ऋणमा लागू हुनुपर्ने माग गरिएको छ ।

कोरोना भाइरसका कारण क्षति पुगेका वायुसेवा उद्योग पुनःजीवित हुन धेरै समय लाग्ने भएकाले सरकारबाट प्रोत्साहनस्वरुप करछुट, व्याजमा सहुलियत, ल्याण्डिङ, पार्किङ, राति विसान दस्तुर तथा नेभिगेसन शुल्क तथा अन्य दस्तुर आदिमा छुट प्रदान गर्न सङ्घले विज्ञप्तिमार्फत आग्रह गरेको छ ।
साथै सङ्घले सबै हेलिकप्टर कम्पनीले पूर्वप्रतिबद्धता गरेका उडानबाहेक हेलिकप्टर आउँदो अप्रिल, १, २०२० देखि उडान नभएका कारण भूमिस्थ ९ग्राउण्डेड० गर्ने पनि निर्णय गरेको छ ।

हिमालयका सबै अन्तरराष्ट्रिय उडान स्थगित

कोभिड–१९ को विश्वव्यापी सङ्क्रमण फैलिएसँगै सम्भावित जोखिमलाई नियन्त्रण गर्न नेपालबाट अन्तरराष्ट्रिय उडान भर्ने वायु सेवा प्रदायक कम्पनीले लगभग आफ्ना सबै अन्तरराष्ट्रिय उडान स्थगन गरेका छन् ।

निजी लगानीको हिमालय एयरलाइन्सले आफ्ना सबै अन्तरराष्ट्रिय गन्तव्यको उडान स्थगन गरेको हो । कम्पनीले आजराति अबुदाबीको अन्तिम उडान गरेपछि अबको केही समय कुनै पनि उडान नगर्ने भएको हो । कोरोनाको सङ्क्रमणलाई मध्यनजर गर्दै अन्तरराष्ट्रिय गन्तव्य मुलुकले पनि विशेष सावधानी अपनाएकाले कम्पनीले सबै गन्तव्यको उडान स्थगन गरेको कम्पनीका सेवा सुधार शाखाका प्रमुख उज्ज्वला दलीले जानकारी दिए ।

हिमालयले कोभिडको शुरुआत भएको चीनका पाँचवटै गन्तव्यको उडान यसअघि नै स्थगन गरिसकेको थियो भने पछिल्ला दिनमा दैनिकजसो हरेक गन्तव्यको उडान स्थगन गर्दै आएको छ । कम्पनीले पछिल्लो पटक बङ्गलादेशको ढाका, मलेसियाको क्वालालम्पुर, कतारको दोहा, युएइको दुवई, अबुदाबी र साउदी अरेबियाको दमाम गन्तव्यको उडान स्थगन गरेको हो ।

निगमको अधिकांश उडान स्थगित

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० को अधिकांश अन्तरराष्ट्रिय गन्तव्यको उडान स्थगन भएको छ । कोभिड–१९ विश्वव्यापी सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै निगमले क्रमशः नियमित गन्तव्यका उडान स्थगन गरेको हो ।

निगमले छिमेकी मुलुक भारतका तीनसहित छ देशका नौ गन्तव्यमा नियमित उडान भर्दै आएको छ । भारतको नयाँदिल्ली, मुम्बई र बैंलोर तथा मलेसियाको क्वालालम्पुर, थाइल्याण्डको बैंकक, हङ्कङ, जापानको नारिता, युएईको दुबई र कतारको दोहा गन्तव्यमा निगमले नियमित उडान भर्दै आएको छ ।

कोभिडको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित देशले अन्य मुलुकका नागरिकलाई आफ्नो मुलुक प्रवेशमा केही समयका लागि रोक लगाएकाले निगमले ती देशका गन्तव्यको उडान धमाधम स्थगन गर्न लागेको हो । निगमले आगामी आइतबारदेखि भारतका सबै तीन गन्तव्यको उडान स्थगन गर्ने तयारी गरेको छ । भारतले ट्राभल एड्भाइजरी जारी गरिसकेकाले २२ मार्च २०२० देखि भारतका गन्तब्यको उडान स्थगन गरिने निगमले जनाएको छ ।

निगमले यसअघि बिहीबार जापानको नारिता र युएईको दुबई गन्तव्यको उडान स्थगन गरेको थियो । आज रातिदेखि लागू हुनेगरी निगमले दुवै गन्तव्यको उडान स्थगन गर्ने निर्णय गरेको हो । त्यस्तै निगमले गत चैत ४ गते क्वालालम्पुरको उडान स्थगन गरेको थियो । बैंकक र हङ्कङ गन्तव्यको उडान भने अहिले स्थगन गर्ने योजना नरहेको निगमले उल्लेख गरेको छ ।

यसका अतिरिक्त नियमित उडान चालू रहेका गन्तव्यका लागि टिकट लिएका यात्रुले उडानको एक दिनअघि उडान रद्द गर्न चाहेमा पनि भुक्तानी गरेको पूरै रकम उपलब्ध गराइनेछ । निगमले यात्रुको उडान मिति परिवर्तन गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको जनाएको छ । नेपालबाट तीन नेपालीसहित ३० वटा वायु सेवा प्रदायक कम्पनीले अन्तरराष्ट्रिय उडान भर्दै आएका छन् ।