कोरोनाको त्रासलाई आधार बनाएर व्यवसाय प्रवद्र्धन गर्दै विद्युतीय भुक्तानी सेवाप्रदायक


कोरोना भाइरसको संक्रमणको सम्भावित जोखिम बढि रहेका बेला विद्युतीय भुक्तानी सेवाप्रदायकहरुले आम नागरिकलाई भ्रमित पार्ने किसिमका प्रवद्र्धनको क्रमलाई तिब्रता दिएका छन् ।

नगद नोटको प्रयोगबाट कोरोना भाइरस संक्रमण हुने भएकाले आजैदेखि विद्युतीय भुक्तानी गरी बँचौं भन्ने किसिमका सन्देश सहित विद्युतीय भुक्तानी सेवाप्रदायकहरुले व्यवसाय प्रवद्र्धनलाई तिब्रता दिएका हुन् ।

नेपाल राष्ट्र बैंकले आवश्यक परेको खण्डमा विद्युतीय भुक्तानी प्रणालीको सीमा पुनरावलोकन गर्न सकिने जनाउँदै गर्दा आम नागरिकलाई त्रसित बनाउने शैलीमा एसएमएस, सामाजिक सञ्जाल लगायतका माध्यमबाट विभिन्न विद्युतीय भुक्तानी सेवाप्रदायकले यस्तो विज्ञापनको क्रमलाई तिब्र पारेका हुन् ।

नगदमा कारोबार गर्दा कोरोना भाइरसको संक्रमण फैलन सक्ने खतरा रहे पनि हालसम्म संक्रमण देखिएको छैन । यस्तो अवस्थामा विद्युतीय भुक्तानी सेवाप्रदायकहरुले मानौं कि अहिले नै कोरोना संक्रमितको संख्या छिन छिनमा बढिरहेको छ भन्ने शैलीमा प्रचार गरेर आम मानिसलाई त्रसित बनाइरहेका छन् ।

यस सम्बन्धमा राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले भ्रामक किसिमका सूचना प्रवाह गर्नेहरु माथि निगरानी गरिने भन्दै गलत सन्देश नफैलाउन भुक्तानी सेवाप्रदायकहरुलाई चेतावनी दिए ।

“नोट मार्फत संक्रमण फैलिन्छ भनेर सर्वसाधारणलाइ त्रसीत गर्ने काम गर्नु भएन,” उनले भने, “सकभर नोटको कम प्रयोग गर्नु पर्छ भन्नु र संक्रमणबाट बच्नका लागि विद्युतीय भुक्तानीको प्रयोग गर्नुहोस भन्नु फरक कुरा हो । संक्रमणको स्रोत नै नोट हो भनेर प्रचार गरेर व्यवसाय विस्तार गर्न खोज्नु राम्रो होइन । यो क्रम अझै चलेको खण्डमा हामी निगरानीमा राख्छौं ।” राष्ट्र बैंक प्रवक्ता भट्टले भने ।

विद्युतीय भुक्तानी सेवाप्रदायकहरुले गरिरहेको दैनिक कारोबारको ठोस आँकडा नभए पनि बजारमा करिब पाँच खर्ब रुपैयाँ भन्दा बढी कागजी नोट प्रचलनमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तो अवस्थामा सबै नोटको रकम बराबरको विद्युतीय भुक्तानी हुने अवस्था अहिले छैन । विद्युतीय भुक्तानी सेवाप्रदायकको प्रवद्र्धनात्मक सामग्रलाई नै आधार बनाएर आम नागरिकले नोटको प्रयोगलाई बन्द गर्न सक्दैनन् । बरु उनीहरु त्रसित मानसिकताबाट गुज्रिनेमा दुईमत छैन ।

२०७६ माघ मसान्तमा इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाको संख्या १६४ रहेकामा तीनिहरुको शाखा संख्या ९ हजार ५५० छ । अब प्रश्न उब्जिन्छ कि यी शाखाबाट नोटमा आधारित सेवा लिइरहेका सेवाग्राहीलाई विद्युतीय भुक्तानी सेवाप्रदायकले एकै पटकमा आफ्नो सेवामा आबद्ध गर्न सक्छन् ?

आफ्नो प्रणालीले धान्न सक्ने नसक्ने अवस्थाको आँकलन नगरी गरिएको प्रवद्र्धन अनुसार विपदका बेला अधिक प्रयोगकर्ता विद्युतीय भुक्तानी प्रणालीतर्फ मोडिए भने अवस्था के होला ? अहिले सिमित मात्रामा प्रयोगमा आएको प्रणाली पनि चल्न नसक्ने अवस्थामा पुग्न सक्छ ।

भ्रामक सूचनाका कारण आम नागरिक त्रसित बन्दै बाध्यात्मक अवस्थामा विद्युतीय भुक्तानी प्रणालीतर्फ लाग्नु पर्ने अवस्था निम्त्याइनु गलत भएको भन्दै यस्तो नगर्न एक सेवाग्राहीले आग्रह गरे ।

कुनै एउटा वाणिज्य बैंकको इन्टरनेट बैंकिंङ प्रणालीबाट महसुल भुक्तानी गर्ने क्रममा इरर देखाएको र केही बेर पश्चात उक्त रकम बैंकले तानेको बताउँदै उनले भने ‘अनाहकमा मैले तीन पटक पैसा तिर्न पर्यो । त्यो पैसा फिर्ता लिनलाई बैंकले रकम प्राप्त गर्ने व्यक्तिको सहमतिको कागज मागेको छ, यो अवस्थामा विद्युतीय भुक्तानी प्रणालीप्रति कसरी विश्वस्त बन्ने ? उनले भने । ‘त्रसित बनाउने शैलीमा प्रयोग गरिएका प्रचार सामग्रीले हामीलाई झनै असहज परिस्थित उत्पन्न गराउनेछ, यस्तो नगरियोस् ।’