भारत सरकारले तोक्यो सेनिटाइजर र मास्कको खुद्रा बिक्री मूल्य


भारतको केन्द्रीय सरकारले सेनिटाइजर तथा मास्कको खुद्रा बिक्री मूल्य निर्धारण गरेको छ ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएको अवस्थामा कालोबजारी बढे पछि सरकारले हस्तक्षेपकारी भुमिका सहित यस्तो निर्णय गरेको हो ।

केन्द्रीय सरकारका उपभोक्ता मामिला मन्त्री रामविलास पासवानले जुन ३० तारिखका दिनसम्म लागू हुने गरी सरकारले सेनिटाइजर तथा मास्कको खुद्रा मूल्य निर्धारण गरेको ट्व्टरमार्फत जानकारी दिएका छन् ।

उनले ट्वीट गर्दै भनेका छन् ‘कोरोना भाइरसको संक्रमण देखिएसँगै बजारमा अनुहारमा लगाउने मास्क तथा यसका उत्पादन सामग्री र हात सफा गर्न प्रयोग हुने सेनिटाइजरको मूल्यमा भारी वृद्धि देखिएको छ । यो गम्भिर अवस्थालाई मध्यनजर गर्दै सरकारले उल्लेखित सामग्रीको मूल्य निर्धारण गरेको छ ।’

कोरोना भाइरसको संक्रमण देखिन थाले यता भारतमा मास्क तथा सेनिटाइजरको अधिक माग भैरहेको छ । जसका कारण बजारमा कालोबजारी मौलाउँदा ५० रुपैंया हाराहारी पर्ने मास्कको मूल्य आकाशिएर ३०० रुपैंयासम्म पुगेको छ ।

त्यसैगरी विगतमा ७० देखि ८० रुपैंयामा खरिद गर्न सकिने सेनिटाइजरको मूल्य अहिले २५० रुपैंयासम्म मंहगिएको छ ।

यो अवस्थालाई हेरेर सरकारले बजारमा सामान्य अवस्थाकोभन्दा सस्तो मूलयमा मास्क बिक्री गर्ने निर्णय गरेको हो । जस अनुसार १०० मिलिलिटर सेनिटाइजरको खुद्रा मूल्य एक सय रुपैंया तथा मास्कको कम्तीमा ८ रुपैंयादेखि १० रुपैंयासम्म मात्र पर्ने बताइएको छ ।