बेलायतमा कोरोनाका कारण पहिलो नेपालीको निधन


कोरोना भाइरस संक्रमणका कारण बेलायतको लन्डनस्थित नर्थविकपार्क अस्पतालमा एक नेपालीको निधन भएको छ । बेलायतमा पहिलो पटक नेपालीको निधन भएको हो ।

गत मंगलबार नै संखुवासभाको खाँदबारी नगरपालिका १० स्थायी घर भएका ६६ वर्षीय पूर्व गोर्खा सैनिक लीलाबहादुर राईको निधन भएको थियो । यद्यपी यो घटनालाई अस्पतालले औपचारिक रुपमा शनिबार मात्र सार्वजनिक गरेको हो ।

राईको मृत शरीरलाई अस्पतालले तीन दिन अस्पतालमा नै राखेर शनिबार परिवारलाई सुम्पिने क्रममा कोरोना भाइरसका कारण निधन भएको जानकारी दिएको बताइएको छ ।

लामो समयदेखि सुनसरीको इटहरी उपमहानगरपालिकामा बसोबास गर्दै आइरहेका राइले १७ वर्ष बेलायती सेनामा काम गरेका थिए । सन् २००८ मा राइ परिवार सहित बसोबासका लागि बेलायत पुगेका थिए ।
अहिले राई परिवारलाई पनि ‘आइसोलेसन’ मा राखिएको छ ।