पुनर्बीमाको आईपीओमा आवेदन गर्नेले कति कित्ता पाउलान्?

0
Shares

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले चैत ४ देखि ७ गतेसम्म सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) ३० कित्तासम्म माग गर्नेले माग अनुसारको नै पाउने पक्का भएको छ।

कम्पनीले १०० रुपैयाँ अंकित दरमा १ करोड ५१ लाख २६ हजार ५०० कित्ता सर्वसाधारणका लागि निष्काशनमा ल्याएको हो। नेपाल धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार प्रत्येक आवेदकलाई १० कित्ताका दरले बाँडफाँड गर्नुपर्ने हुन्छ ।

यसअनुसार बाँडफाँड गर्दा ५ लाख ४ हजार २१७ जनासम्म आवेदकलाई ३० कित्ताको दरले बाँडफाँड गर्न पुग्छ। कम्पनीको आईपीओ सो संख्यामा आवेदन नपरेकाले ३० कित्तासम्म माग गर्ने आवेदकलाई माग अनुसार नै शेयर बाँडफाँड गर्न पुग्छ।

शुक्रबार बेलुकासम्ममा कम्पनीको आईपीओमा ४ लाख १२ हजार बढी संख्याबाट साढे ५ अर्ब बढी रकमको आवेदन परेको बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ्गले जनाएको थियो। यसपश्चात बैंक मार्फत आवेदन दिएको विवरण आउन बाँकी रहेकाले आवेदक संख्या र रकम बढ्नेछ। तर साढे ४ लाख भन्दा कम संख्यामा आवेदन परेको अनुमान छ।

यसअनुसार हेर्दा अन्तिम तथ्याङ्क प्राप्त नभएपनि कम्पनीको आईपीओमा ३० कित्तासम्म माग गर्नेले माग अनुसार नै बाँडफाँड हुनेछ। ४० कित्ताभन्दा बढी माग गर्नेमध्ये ८० प्रतिशतभन्दा बढीले ४० कित्ता नै पाउने अनुमान छ। आईपीओमा करिब ४ गुणा बढी आवेदन परेको अनुमान छ।

कम्पनीको आईपीओ एक साताभित्र बाँडफाँड गर्नुपर्ने हुन्छ। यद्यपी मर्चेन्ट बैंकिङ्ग कम्पनीहरुले आफ्नो सेवा बन्द गर्ने बताएका कारण आईपीओ बाँडफाँड कहिले हुन्छ भन्ने यकिन भएको छैन।

कूल १ करोड ६० लाख कित्ता शेयर बिक्रीमा ल्याएकोमा ७३ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरुलाई र ८ लाख कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी १ करोड ५१ लाख २६ हजार ५०० कित्ता शेयर सर्वसाधारणबाट आवेदन खुला गरिएको हो।

आइपीओमा न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था थियो। कम्पनीको आईपीओलाई इक्रा नेपालले आधारभुत पक्ष बलियो जनाउने इक्रा एनपी आईपीओ ग्रेड २ प्रदान गरेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १४९.५६ रुपैयाँ रहेको छ।