दुई ब्रोकरले गरे शेयर कारोबार बहिस्कार, कसले कति गरे खरिद बिक्री ?


आइतबार शेयर कारोबार खुल्ला राख्ने वा बन्द गर्ने भन्ने ठोस निर्णय नभएको अवस्थामा पनि ४८ शेयर ब्रोकरले शेयर कारोबारमा हाजिरी लगाएका छन् । २ ब्रोकरले भने शेयर कारोबारमा गयल भएको देखिएको छ ।

शेयर कारोबार सुचारु गराउने सम्भावना देखिए पछि १५ शेयर दलालले सुरुमै ट्रेड म्यानेजमेण्ट सिष्टम (टीएमएस) लगइन गरेका थिए । कारोबार झण्डै ३ घण्टासम्म चल्दा पनि धेरै ब्रोकरले कारोबार सुरु गरेका थिएनन् । केही ब्रोकरले कार्यालयमा ताला लगाएर चैत २१ गतेसम्म शेयर कारोबार बन्द गरिएको सूचना समेत टासेका थिए ।

धितोपत्र बोर्डले शेयर ब्रोकरहरुले शेयर कारोबार गरे नगरेको निगरानी गर्ने भन्ने सूचना बाहिर आए पछि कार्यालय बन्द गरेर हिँडेका ब्रोकर पनि ३ बजे पछिसम्ममा भए पनि कार्यालय पुगेर शेयर कारोबार गरेका छन् ।

तथ्यांकका आधारमा हेर्दा अधिकांस शेयर ब्रोकरले शेयर कारोबारमा असंलग्न रहे पनि कारवाहीबाट बच्नका लागि हाजिर लगाएको मात्र देखिएको छ ।

यो सूचीमा १९ नम्बरको नेपाल इन्भेष्टमेण्ट एण्ड सेक्युरिटिज र २१ नम्बरको मिदास सेक्युरिटिजले एउटा पनि कारोबार नगरी आइतबारदेखि नै शेयर कारोबार बन्द गरेका छन् । तर धितोपत्र बोर्डले भने सोमबारदेखि ५ कारोबार दिनका लागि शेयर कारोबार बन्द गर्ने निर्णय गरेको छ ।

आइतबार कारोबार संख्याका आधारमा ४९ नम्बरको अनलाइन सेक्युरिटिजले ३५० वटा कारोबार गरेको छ भने ५५ नम्बरको भृकुटी स्टक ब्रोकिङले एउटा मात्र कारोबार गरेर हाजिरी जनाएको छ ।

त्यसै गरी कारोबार रकमका आधारमा पनि अनलाइन सेक्युरिटिजले सबैभन्दा बढी ४ करोड ३१ लाख रुपैंयाको शेयर कारोबार गरेको छ । सबैभन्दा कम रकमको शेयर कारोबार गरेको भृकुटीले ४ हजार ७७० रुपैंयामा १० कित्ता शेयर किनेको छ।

आइतबार नेप्से १८.२० अंकले घटेर १ हजार २५१ दशमलव ४५ बिन्दुमा झरेको छ। यसदिन १२३ कम्पनीका ४ लाख ८० हजार ५२७ कित्ता शेयर कूल १९ करोड ४६ लाख ४२ हजार रुपैयाँ बराबरमा खरीद बिक्री भएका छन्।