साल्ट ट्रेडिङ्गले घुम्ति पसल मार्फत घर-घरमै पुरयाउन थाल्यो अत्यावश्यक खाद्यान्न

0
Shares

सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेशनले कोभिड–१९ बाट जोगिन पालना गर्नुपर्ने सुरक्षा उपाय अवलम्बन गर्दै उपभोक्तालाई घरघरमै नुन चिनी तथा गेडागडीहरु उपलब्ध गराउन थालेको छ। 

उपभोक्ताबाट कोभिड १९ का कारण अधिकांश पसल बन्द भई अति आवश्यक नुन र चिनी गेडागुडी खरिद गर्न नपाएको गुनासो आएपछि हरेक दिन फरक फरक ठाउँमा गाडीमा सामान लिएर दैलोसम्म पुर्याउने व्यवस्था गरेको हो।

उपभोक्ता गुनासोको आधारमा घुम्ति पसल सेवा प्रदान गर्नका लागि दैनिक ३ वटा टाटामोवाईल परिचालन गरिएको छ। जसलाई उभोक्ताले सामान नपाएको ठाउँमा खटाउने गरिएको छ। चामलको बोराले धेरै ठाउँ ओगट्ने भएकाले घुम्ति सेवामा चामल भने राखिएको छैन। 

नोटबजारसँग कुराकानी गर्दै साल्ट ट्रेडिङ कर्पोरेशनका प्रवक्ता राजभण्डारीले आज ललितपुरको नख्खुचोक, जाउलाखेल र काठमाण्डौंको गौरीघाट क्षेत्रमा घुम्ति पसल (मोबाईल) मार्फत सेवा प्रदान गरिहेको बताए।  आइतबार काठमाण्डौंको चाबहिल, हाँडीगाउँ क्षेत्रमा र शुक्रबार स्वयम्भु, ठूलो भर्याँङ्ग क्षेत्रमा सेवा प्रदान गरिएको जानकारी दिए।

घुम्ति सेवाका अलवा साल्ट ट्रेडिङले यसअघि जस्तै कालिमाटी, सतुंगल र कोटेश्वर, झक्तपुर, र बनेपा सहित पाँच स्थानमा रहेको आउटलेट खुला राखि खाद्यान्न बिक्री गर्दै आइरहेको छ। निजी क्षेत्रको चर्को मूल्यवृद्धिमाथि हस्तक्षेप गर्न साल्ट ट्रेडिङ्गले सधै झै यी स्थानबाट सेवा प्रवाह गर्दै आइरहेको छ।

प्रवक्ता राजभण्डारीले लकडाउन लम्बिएपनि ग्याँस, चिनी, नून लगायतका कुनैपनि खाद्यसामाग्री अभाव नहुने बताए। उनले भने “हामीसँग आइतबारसम्म ९ महिनासम्मका लागि पुग्ने १ लाख ६६ हजार मेट्रिक टन नुन मौज्दात छ भने ८ हजार ५०० टन चिनी छ।” 

राजभण्डारी अनुसार निम्न वर्गिय समुदाय बाहेक अन्य नेपाली समुदायमा पटक-पटक खरीद गर्नेभन्दा एकै पटक केही समयका लागि पुग्ने सामान किन्ने परिपाटी रहेकाले पनि दुई साताको लकडाउनमा खाद्यान्नको समस्या खासै छैन। यसअघिको अघोषित नाकाबन्दीका कारण उपभोक्ताहरुले अभाव होला भन्ने डरले भण्डारण राख्दा ग्याँसको माग भने अहिले करिब दोब्बर पुगेको छ।

यसअघि एसटिसी ग्याँसको माग ४०० टन रहेकोमा हाल करिब ८०० टनको माग रहेको उनले बताए। यद्यपी कम्पनीका आउटलेटमा ग्याँस किन्ने उपभोक्ताको पनि लाइन नभएको उनले बताए। कालिमाटी, सतुङ्गल र कोटेश्वर आउटलेट तथा अन्य डिलर मार्फत एसटीसी ग्याँस बिक्री वितरण हुँदै आइरहेको छ।

दैनिक अत्यावश्यक उपभोग्य बस्तु खाद्यान्नको अभाव नभएपनि लकडाउनका कारण खाद्यबस्तु ढुवानीमा भने प्रभाव परिरहेको छ।कोरोनाको डरले अहिले मालबाहक सवारीसाधन चलाउने ड्राइभरको समस्या साल्ट ट्रेडिङ कर्पोरेशनले पनि भागेको छ। कम्पनीले दाङमा नुन चिनी ढुवानी गर्न खोजेपनि गाडी चालक नपाएपछि सो ढुवानी प्रभावित भएको छ।

अन्य समयमा १८-२० वटामा मालवाहक ट्रकमा ढुवानी गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशनमा हाल २-३ वटाले मात्र सेवा दिइरहेका छन्। प्रवक्ता राजभण्डारीले चालकहरु कोही पनि ढुवानी गर्ने नमान्ने भएपछि आफुहरुले यो समस्या माथिल्लो निकायमा जानकारी गराएको बताउँदै लकडाउनको समय लम्बिएकाले प्रदेश तथा स्थानीय तहबाट ढुवानी समस्याको समाधानका लागि पहल भएको खण्डमा सहज रुपमा ढुवानी हुनसक्ने बताए।