संक्रमणका बेला प्रविधिको फड्को, ‘आईएमई पे लिडिङ वालेटको बाटोमा’


विश्वव्यापी रुपमा कोरोना भाइरसको महामारी तिब्र बन्दै गइरहेका बेला प्रविधिको प्रयोग पनि सोही अनुपातमा बढ्दै गएको छ ।

विशेष गरी सूचना तथा प्रविधिको क्षेत्रमा विश्वभरीका मानिसको सक्रिय सहभागिता बढ्दै गएको छ । चाहे अन्य व्यक्तिसँग सम्पर्कमा रहन होस् वा वित्तीय कारोबार गर्न र गराउन, अहिले प्रविधिको सहयोगमा मानिस घरमा बन्दी भए पनि आफ्ना कामहरुलाई सहज रुपमा सम्पन्न गराउन सफल भैरहेका छन् ।

नेपालमा पनि कोरोना भाइरस संक्रमणसँगै फेरी एक पटक डिजिटल बैंकिङ्ग र मोवाइल वालेटको चर्चा एक पछि अर्को गर्दै चुलिँदै गएको छ । यसै अवस्थालाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले समेत डिजिटल बैंकिङ्गको प्रयोगलाई बढावा दिने रणनीति अख्तियारी गरेको छ । सर्वसाधारणलाई पनि विद्युतीय माध्यमबाट भुक्तानी गर्ने बानी बसाल्दै सम्भावित संक्रमणको जोखिमबाट टाढै रहने विषयमा सचेत बनाउन केन्द्रीय बैंकले रचनात्मक भुमिका निर्वाह गर्दै आएको छ ।

बैंकहरुले सञ्चालन गरेका इन्टरनेट, मोबाइल र कार्डका डिजिटल बैंकिङ्ग प्रणाली र निजि सेवा प्रदायकहरुले सञ्चालनमा ल्याएका मोवाईल वालेटहरु अहिले सेवासँगै सेवाग्राहीको दायरा बिस्तारमा लागिरहेका छन् ।

देशभित्र हाल ९ वटा भुक्तानी सेवा सञ्चालक र १३ वटा भुक्तानी सेवा प्रदायकले सेवा प्रदान गर्दै आएका छन् । यो भिडमा वालेट सञ्चालकहरुको मुख्य चुनौती भनेको प्रयोगकर्ता यो प्रविधिमा अभ्यस्त नहुनु अनि अभ्यस्त भैरहेकाहरुमा पनि विश्वसनीय वाताबरण तयार हुन नसक्नु हो ।

तर आचानक विश्वव्यापी रुपमा महामारीका रुपमा कोरोना संक्रमण फैलिए पछि नेपालका सेवाग्राही पनि एक पटक मोबइल वालेट को विकल्पतर्फ लम्किएका छन् । यसले केही हदसम्म भए पनि मोबाइल वालेटप्रतिको विश्वसनीयता बढाउने देखिएको छ ।

बजारमा करिब पाँच खर्ब रुपैयाँ भन्दा बढी कागजी नोट प्रचलनमा रहेको तथ्यांक केन्द्रीय बैंकसँग छ । कुल जनसंख्याको ४० प्रतिशत हिस्सा मात्र बैंकिङ्ग सेवामा आबद्ध भएको तथ्यांकले देखाउँछ । ६० प्रतिशत जनसंख्या बैंकिङ सेवाबाट नै बाहिर रहेको अवस्थामा मोवाईल वालेटको भविष्य आशावादी देखिए पनि मोबाइल वालेट उद्योग नेपालमा अझै आफ्नो पहिचानकै लडाई लडिरहेको कुरालाई नकार्न सकिन्न ।

यसै भिडमा आइएमई पे नेपाली बजारमा रहेका मोवाइल वालेटहरु मध्ये अग्रिणी वालेट सेवाप्रदायकको रुपमा परिचित बन्दै गइरहेको छ । १० लाख भन्दा बढी एप डाउनलोड भएको वालेट अहिले बजार बिस्तारमा आक्रामक बनिरहेको छ ।

आइएमई ग्रुप अन्तरगतको आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा सञ्चालित आइएमई पे मोवाइल वालेटका प्रमुख कार्यकारी निर्देशक विकास नाहटाको बुझाईमा अहिलेको अवस्था भारतको नोटबन्दी जस्तै हो । ‘जसरी भारतमा नोट बन्दीका कारण पे टिम जस्ता संघर्षरत वालेट सेवाप्रदायकलाई फ्रन्ट लाइनमा आए, सोही अनुपातमा नभए पनि अहिलेको संकटले नेपाली वालेट कम्पनिहरुलाई एउटा अवसर दिएको छ ।’ नाहटा भन्छन्, ‘वालेट प्रोभाइडर, नियामक निकाय र अन्य सरोकारवालाहरुले नेपालमा बजारसँगै सेवा बिस्तारमा अझै धेरै कामहरु गर्नुपर्ने छ । हामी अहिले मुनाफाभन्दा पनि बजार बिस्तार, सचेतना र यसको प्रवद्र्धनको चरणमा मात्र छौं । यस पटकको संकटले वालेट प्रयोगकर्ताहरुको प्रवृत्तिमा भने फरक अवस्था बनाएको छ’ उनले भने ।

‘हाल बैंक एकाउन्ट र आइएमई सेन्टरहरुबाट वालेटमा ब्यालेन्स ट्रान्सफर गर्नेको हिस्सा पचास पचास प्रतिशत पुगेको छ । यसलाई हामीले सफलता हासिल गरेको मान्नु पर्छ । किनभने नेपालका सबै बैंकहरुले पनि कुनै न कुनै रुपमा मोवाइल सेवा प्रदान गर्दै आएका छन्, यो निजि वालेट सेवाप्रदायकहरुका लागि चुनौतीको विषय हो ।’ उनी भन्छन्, ‘आइएमई पेको सबल पक्ष भनेको विस्तारित एजेन्ट नेटवर्क हो । हामीले हरेक एजेन्टको लिमिट बढाएका छौं । फोनको आधारमा भए पनि हाम्रा एजेन्टहरुले लकडाउनको अवस्थमा समेत आफ्नो सेवा दिँदै आएका छन ।’

वालेट सेवाप्रदायकको भिडमा किन आइएमई पे रोज्ने त भन्ने प्रश्नमा नाहटा भन्छन्, ‘वालेट बिजनेस धेरै इन्टेन्स इन्भेष्टमेन्ट र लामो ब्रेक इभन पिरियड भएको बिजनेस हो, साना प्लेयरहरु यो बिजनेसमा टिक्न सक्दैनन् । ठुलो इको सिस्टम बनाउँन समय, पैसा र रिटर्नको यो लामो ग्यापलाई आइएमई ग्रुप जस्ता कम्पनीहरुले सजिलै थेग्न सक्छन् । अब सेवाग्राहीले सानातिना प्लेयरमा अल्झिएर भविष्यमा अर्को विकल्प खोज्ने कि आइएमई पे जस्तो टेक्निकल्ली एडभान्स अनि फाइनान्सियल्ली साउन्ड कम्पनी बाट डिजिटल वालेट को सेवा निर्धक्क भएर लिने भन्ने विषय महत्वपूर्ण छ ।’

उनले थपे, ‘न्युनतम १ हजार रुपैयाँ जम्मा गर्ने वालेटका ग्राहकहरुलाई वालेट ब्यालेन्समा ४ प्रतिशत ब्याज दिने मोवाइल वालेट हामी मात्रै हो । मुलुकभर पेट्रोल डिजेल पेमेन्ट अधिक रुचाइएको छ । आज लकडाउनको कारण यो सेग्मेन्ट ठप्प भए पनि हामीलाई विश्वास छ, फेरी एक पटक यो सेग्मेन्टमा हामी अब्बल साबित हुनेछौं । पेट्रोल तथा डिजेल पेमेण्टमा पनि २ रुपैयाँ क्यास व्याकको अफर हामीले हाम्रो प्रमोशन खर्चबाट सेवाग्राहीलाई पास अन गरिरहेका छौं ।’

आइएमई पेको आजको चुनौतीका सम्बन्धमा नाहटा भन्छन्, ‘हाम्रो मात्र होइन सम्पूर्ण वालेट इन्डष्ट्रीको प्रमुख चुनौती नेशनल स्वीच र नेशनल क्यु आर कोड हो । भारतको जस्तै यो कुनै एक दुइ वालेट कम्पनीको रहर र लगानीमा तयार हुने अवस्था हामीकहाँ छैन । नियामक निकाय र अर्थ मन्त्रालयले यसको लागि पहल गर्नु पर्छ । अर्को चुनौती भनेको वालेट सेवाप्रदायकका बिचमा अस्वस्थ प्रतिस्पर्धाका रुपमा रहेको मर्चेण्डाइजर नेटवर्क हो । यसको अन्त्य हुनुपर्छ ।’