पछिल्लो तीन महिनामा मात्रै भारतीय शेयर बजारबाट ४२ लाख करोड गुम्यो

0
Shares

विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरसको कारण मानवीय स्वस्थ्यसंगै अर्थतन्त्रमा पनि ठूलो असर पुगेको छ । कोरोनाको असर सूरु भएसँगै विश्वभरका अधिकाशं शेयर बजारमा ऐतिहासिक रुपमा घट्दो क्रममा छन्। पछिल्ला दिनहरुमा आ आफ्ना सरकारले राहत प्याकेज तथा सहुलियत दिने कार्यक्रम ल्याएसँगै धितोपत्र बजारमा पनि केही सकारात्मक अवस्था देखिएको भएपनि दीर्घकालीन हुन नसकेको अवस्था छ ।

कोरोना भाइरसको संक्रमण बढ्दो गतिमा देखिएपछि त्यसलाई नियन्त्रण गर्न अधिकाशं देशहरुले लकडाउन गरेको अवस्था छ । लकडानका कारण ती देशहरुको अर्थतन्त्रमा समेत असर गर्ने भएपनि शेयर बजारका लगानीकर्ता थत विचलीत भएका हुन्।

गत फेब्रुअरि २० देखि घट्न सुरु गरेको भारतीय शेयर बजारमा मार्चसम्मको अर्थात् सन् २०२० को पहिलो त्रैमास नै अस्तव्यवस्त बनाइदिएको छ । जनवरी २० मा बम्बई स्टक एक्सचेन्ज सूचक सेन्सेक्स र नेशनल स्टक एक्सचेन्ज सूचक निफ्टी आ आफ्नो उचाइको रेकर्ड बनाएका थिए। तर, मार्च महिनामा मात्र भारतीय पूँजी बजारमा २९ देखि ३० प्रतिशतको गिरावट आएको छ ।

शेयर बजारमा देखिएको यो उतार-चढावले मार्च महिनामा मात्र भारतीय शेयर बजारमा लगानी गरेका लगानीकर्ताले ४२ लाख करोड भारतीय रुपैयाँ गुमाएका छन। सन् २०१९ को डिसेम्बर ३१ तारिखमा बम्बई स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीको कूल बजार पूँजीकरण १५५५३८२९.०४ अर्ब भारतीय रुपैयाँ रहेकोमा सन् २०२० को मार्च ३१ मा ४२ लाख करोड भारतीय रुपैयाँले घटेर ११३४८७५६.५९ अर्ब भारतीय रुपैयाँमा झरेको छ ।

यो वर्षको १७ जनवरीमा बम्बई स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीको कुल बजार पूँजीकरण १६०५७१५७.६२ अर्ब भारु थियो, ३१ जनवरीमा १५६५०९८१.७३ अर्ब भारु थियो । त्यसैगरी २८ फेब्रअरीमा १४६८७०१०.४२ अर्ब भारु रहेकोमा ३१ मार्चमा आएर ११३४४८७५६.५९ अर्ब भारतीय रुपैयाँमा सीमित भएको छ ।

मार्चसम्ममा सेन्सेक्स र नेशनल स्टक एक्सचेन्ज परिसूचक निफ्टी २९ देखि ३० प्रतिशतले घटेका छन्। १ जनवरी देखि मार्च ३१ सम्म सेन्सेक्स करिब ११ हजार ७८५ अंकले घटेको छ भने निफ्टी ३ हजार ५७१ अंकले घटेको छ । यो वर्षको पहिलो तीन महिनाममा सेन्सेक्समा सूचीकृत ३० शेयरमध्ये २८ शेयरको मूल्य घटेको छ । इण्डेश्वेज बैंक यो अवधिमा सबैभन्दा धेरै गुमाउने कम्पनीमा रहेको छ । त्यसैगरी निफ्टीको बैक उपपसूचक समेत करिब ४० प्रतिशतले घटेको छ ।

यो वर्षको पहिलो तीन महिनाको अवधिमा भारतीय शेयर बजार सूचकले हालसम्मकै उच्च तथा तल्लो बिन्दु पनि बनाएको अवस्था छ । यो वर्षको जनवरी २० मा सेन्सेक्स ४२ हजार २७३.८७ अंकको बिन्दुमा पुगेको थियो भने मार्च २४ मा २६ हजार ६३८.० अंकसम्म झरेको थियो । सेनसेक्सको तल्लो बिन्दु पछिल्लो ५२ साताकै न्युन बिन्दु हो ।

त्यसैगरी निफ्टी पनि २० जनवरीको १२ हजार ४३०.५० अंकमा पुगेको थियो भने मार्च महिनामा ७ हजार ५११.१ अंकसम्म झरेको थियो । निफ्टीको पनि तल्लो बिन्दु पछिल्लो ५२ साताकै न्यून बिन्दु हो ।

यो अवधिमा शेयर बजार घट्नुको मूख्य कारणको रुपमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई लिइएको छ । कोरोना भाइरसका कारण आर्थिक वृद्धि घट्ने चिन्ता लगानीकर्तामा देखिएको पाइन्छ । यस कारणले गर्दा विश्वभरिका शेयर बजारमा बिक्री चाप नै धेरै रहेको देखिन्छ ।

भारतीय शेयर बजारमा लगानी गर्ने विदेशी लगानीकर्ताले समेत ठूलो मात्रामा शेयर बिक्री गरेर पैसा फिर्ता लगेको अवस्था छ । यसले गर्दा ओरोलो लागेको भारतीय अर्थव्यवस्थामा कोरोनाको त्रास झनै मजबुत रुपमा देखा पर्यो । त्यसका साथै दोस्रो कारणको रुपमा रहेको तेलको मूल्यमा आएको ऐतिहासिक गिरावट पनि रहेको छ । त्यसका साथै रेटिङ्ग एजेन्सीले पनि भारतीय अर्थतन्त्रको वृद्धि निरन्तर रुपमा घटाउँदै लगेपछि पूँजी बजारमा नकारात्मक प्रभाव हाबी भएको हो ।

प्रकाशित मिति: २० चैत २०७६, बिहीबार  १८ : ०० बजे