एनसेलले बुझाउनुपर्ने लाभकर चुक्ता, आइतबार १४ अर्ब ३३ करोड बुझायो

0
Shares

मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले पूँजीगत लाभकर अन्तर्गत बुझाउनुपर्ने बाँकी १४ अर्ब ३३ करोड आइतवार ठूला कर दाता कार्यालयमा दाखिला गरेको छ ।यससँगै एनसेलले बुझाउनुपर्ने लाभकर चुक्ता भएको छ ।

उक्त कार्यालयका प्रमुख झलकराम अधिकारीका अनुसार उक्त कम्पनीले आइतवार विहान १० बजे रकम बुझाएको हो ।

यसअघि गत मंगलवार एनसेलले ४ अर्ब ६० करोड र गत पुस १५ गते ४ अर्ब ५० करोड पूँजीगत लाभकर बुझाएको थियो । २ पटकमा ९ अर्ब १० करोड रुपैयाँ पुँजीगत लाभकर तिरेको एनसेलले आइतबार थप १४ अर्ब ३३ करोड रुपैयाँ तिरेको हो।

एनसेलले लाभकर र जरिवानासमेत गरी गरी जम्मा २४ अर्ब ४३ करोड रुपैयाँ आइतबारसम्ममा चुक्ता गरेको हो।

सर्वोच्च अदालतले २१ अर्ब १० करोड लाभकर तिर्ने गरी फैसला गरेको भएपनि ठूला करदाता कार्यालयले तत्कालीन समयमा जरिवानासमेत गरी २२ अर्ब ४४ करोड रुपैयाँ बुझाउन एनसेललाई पत्र पठाएको थियो। आइतबारसम्मको जरिवानासमेत गरी एनसलले ठूला करदाताले निर्धारण गरेको भन्दा बढी कर तिरेको हो।

 नेपाल इन्भेष्टमेन्ट बैंक, नबिल बैंक र ग्लोबल आइएमई बैंकसँग ४/४ अर्बका दरले ऋण लिएको एनसेलले नेपाल बैंकसँग ३ अर्ब, हिमालयन बैंकसँग २ अर्ब ५० करोड, एभरेष्ट बैंकसँग २ अर्ब र सानिमा बैंकसँग ५० करोड ऋण लिएर लाभकर तिरेको हो ।