हिमालय एयरलाइन्सद्धारा कोरोना कोषमा १ करोड सहयोग

0
Shares

हिमालय एयरलाइन्सले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड रुपैयाँ सहयोग प्रदान गरेको छ ।

एयरलाइन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोनाभाइरस रोकथामका लागि सरकारी कोषमा उक्त रकम जम्मा गरिएको एक विज्ञप्तीमार्फत जानकारी दिएको छ ।

नेपाल र चीनको संयुक्त लगानीमा संचालीत हिमालय एयरलाइन्सले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईलाई चेक रकम हस्तान्तरण गरेको हो ।

एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले मन्त्री भट्टराईलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरण समारोहमा पर्यटन सचिव केदारबहादुर अधिकारी, सहसचिव सुरेश आचार्य लगायतको सहभागिता थियो ।

यसअघि वायुसेवा कम्पनीहरुको छाता संगठन वायुसेवा संचालक संघ नेपाल (आयोन) ले पनि २५ लाख रुपैयाँ कोरोना कोषमा जम्मा गरेका थिए । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा हालसम्म २ अर्ब बढी रकम जम्मा भैसकेको छ।